सरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय, अदालतलगायत अधिकांश सार्वजनिक संस्थान चार दिनमात्रै चल्छन् ।
काठमाडौँ — २८ फेब्रुअरीमा अमेरिका–इजरायलले इरानमाथि आक्रमण गरेसँगै विश्वव्यापी रुपमा इन्धन बजारमा अवरोध देखिएको छ । विशेषगरी, इरानले पर्सिन खाडी क्षेत्रको हर्मुजको जलघाँटी बन्द गरेसँगै पश्चिम एसियाली देशबाट इन्धन बोकेका ट्यांकर बाहिरिन समस्या छ । विश्वको झन्डै २० प्रतिशतभन्दा धेरै कच्चा पेट्रोलियम पदार्थ र एक तिहाईभन्दा धेरै प्राकृतिक ग्यास यही क्षेत्र हुँदै आउँछ ।
तर अहिले इरानको रिभालुशनरी गार्डस् कोप्र्सले थोरैमात्र जहाजलाई अनुमति लिएर बाहिरिन दिएको छ । यसले एसियाली देशमा ठूलो संकट देखिएको छ । यस रिपोर्टमा हामी दक्षिण एसियाली देशको ऊर्जा संकटबारे चर्चा गर्दैछौं ।
भारत : भारतीय अधिकारीहरूले युद्ध सुरु भएयता उत्तरी हिन्द महासागर क्षेत्रमा जलसेनाको उपस्थिति बढाएका छन् । उनीहरुले रणनीतिक पेट्रोलियम भण्डार प्रयोग गर्दै एलएनजी तथा नवीकरणीय ऊर्जाको प्रयोग तीव्र बनाउन थालेका छन् । भारतसँग झन्डै ७५ दिनका लागि पुग्ने तेल भण्डारण छ ।
यसबाहेक तत्कालका लागि रुसबाट तेल खरिद गर्न अमेरिकाले छुट दिएकाले भारतीय बजारलाई रुसी तेलले केही भरथेग गर्नेछ । युद्ध सुरु हुनअघि अमेरिकाको दबाबमा आफ्नो मुख्य आपुर्तिकर्ता रुससँग तेल खरिद बन्द गर्न भारत सहमत भएको थियो । तर, युद्ध सुरु भएपछिको संकटलाई मध्यनजर गरेर अमेरिकाले फेरि भारतलाई रुसी तेल खरिद गर्ने छुट दिएको हो ।
पश्चिम एसियामा संकट देखिदाँ भारतमा एलएनजी तथा एलपीजी (खाना पकाउने) ग्यास अभाव चरम छ । होटल–रेस्टुरेन्टले सेवा दिन बन्द गरेका छन् । विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास निर्यात केन्द्र रास लाफान औद्योगिक शहर इरानको मिसाइल प्रहारपछि बन्द हुँदा भारतमा एलएनजी र एलपीजी ग्यासको अभाव थप बढ्ने देखिएको छ । युरिया मल बनाउने कच्चा पदार्थको अभाव हुँदा कृषि क्षेत्र समस्यामा छ ।
पाकिस्तान : पाकिस्तानसँग २६ दिनका लागि मात्रै पुग्ने पेट्रोल-डिजेल भण्डार छ । त्यहीकारण ऊर्जा खपत कम गर्नका लागि इस्लामावादका सरकारी र निजी क्षेत्र दुबैमा ठूलो संख्यामा कर्मचारीहरुले घरबाटै काम गरिरहेका छन् । विद्यालय बन्द छन् । विश्वविद्यालयमा पढाइ अनलाइनमार्फत चलिरहेको छ ।
पाकिस्तानले आफ्नो कुल निर्यातको ७० प्रतिशतभन्दा धेरै इन्धन पश्चिम एशियाली देशबाटै ल्याउँछ । यहाँ एलएनजी ग्यास र एलपीजी ग्यासको संकट चरम छ ।
श्रीलंका : सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । यसअघि शनिबार र आइतबार नियमित बिदा दिने गरिएको थियो । यसरी सातामा तीन दिन बिदा छ । सरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय, अदालतलगायत अधिकांश सार्वजनिक संस्थान चार दिनमात्रै चल्छन् ।
स्वास्थ्य सेवा, बन्दरगाह, सुरक्षा र आपतकालीन सेवा भने सामान्य रूपमा चलाइएका छन् । इन्धन किन्नका लागि मासिक कोटा तोकिएको छ । मोटरसाइकलले ५ लिटर र गाडीले १५ लिटरमात्रै तेल भर्न पाउनेछन् । श्रीलंकामा इन्धन भण्डारण निकै थोरै भएकाले इन्धन खपत गकम गर्नका लागि सरकारले यी रणनीतिहरु अघि सारेको हो ।
श्रीलंकामा प्रयोग हुने पेट्रोल तथा डिजेल सबै विदेशबाट आउँछ । झन्डै ९० प्रतिशतभन्दा धेरै प्रशोधित तेल दक्षिणपूर्वी एशियाली देश हुँदै वा पश्चिम एशियाबाट सीधै आउँछ । रुससँग पनि थोरै तेल श्रीलंकाले खरिद गर्छ ।
बंगलादेश : बंगलादेशमा भण्डार क्षमता निकै कम छ । त्यस्तै, विद्युतका लागि पनि एलएनजी ग्यासमा धेरै हदसम्म निर्भर हुनुपर्ने बाध्यता छ ।
झन्डै ९० प्रतिशतभन्दा धेरै कच्चा तेल पश्चिम एसिया हुँदै आउँछ । झन्डै ७० प्रतिशत ग्यास कतार र युएइबाट आउने भएकाले अहिले यहाँ इन्धनको हाहाकार छ । उद्योगहरु बन्द हुने अवस्थामा छन् । यसले दिर्घकालीन समस्या उत्पन्न गराउने जोखिम बढेको छ ।
नेपाल : नेपालसँग आफ्नै प्रशोधनगृह छैन । भारतबाट प्रशोधित पेट्रोल-डिजेल र ग्यास आउँछ । विश्वव्यापी रुपमा कच्चा तेलको मूल्य बढेकाले यहाँ पनि पेट्रोल-डिजेलको भाऊ बढेको छैन । तर, भारतमा अहिलेसम्म संकट नभएको नेपालमा पनि पेट्रोल-डिजेलको संकट छैन ।
एलपीजी ग्यासको भने अभाव छ । युरिया मल बनाउने कच्चा पदार्थ पश्चिम एसियाबाटै आउने भएकाले भारतमा मल अभाव देखिएको छ । नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव देखिनसक्छ ।
माल्दिभ्स : टापुहरु मिलेर बनेको देश माल्दिभ्समा समुद्र र वायु सेवामार्फत खाद्यान्न तथा सामाग्री आउँछ । आफ्नो प्रशोधनगृह नभएकाले युएइ, ओमान, सिंगापुर, मलेसिया र श्रीलंकाबाट आउने प्रशोधित इन्धनमा माल्दिभ्स निर्भर छ । तर यी सबै देशमा पश्चिम एसियाको लडाँइले इन्धन संकट छ । त्यहीकारण माल्दिभ्समा अवस्था निकै खराब छ । यहाँ हवाई सेवा प्रभावित हुँदा पर्यटन क्षेत्र धरासायी भएको छ । पर्यटन क्षेत्र माल्दिभ्सको अर्थतन्त्रको मुख्य आधार हो ।
अफगानिस्तान : लामो युद्धका कारण अफगानिस्तानको अर्थतन्त्र कमजोर छ । दाताहरुले गर्ने सहयोगले यस देशको अर्थतन्त्र तंग्रदैं थियो । यहाँ अनुदानमा सेन्ट्रल एसियाली देश, रुस तथा पश्चिम एसियाबाट इनधन आउने गरेको थियो । तर क्षेत्रीय आपुर्ति रुटहरुमा देखिएको कडाई तथा हर्मुजको अवरोधले यहाँ संकट बढाएको छ । यातायत तथा ऊर्जा क्षेत्र प्रभावित हुँदा समग्र अर्थतन्त्र तथा दैनिक जीवन थप मारमा परेको छ ।
भूटान : भूटानले लगभग सबै पेट्रोलियम इन्धन भारतबाट आयात गर्छ । यहाँ एलपीजी ग्यासको अभाव देखिएको छ । डिजेल र पेट्रोलको मुल्य बढेको छ ।
