१९४१ मा जापानले पर्ल हार्बमा आश्चर्यजनक रूपमा आक्रमण गरेको थियो ।
काठमाडौँ — जापानले अमेरिकाको पर्ल हार्बर बन्दरगाहमा सन् १९४१ डिसेम्बर ७ मा आश्चर्यजनक आक्रमण गरेको थियो। उक्त आक्रमणले अमेरिकालाई दोस्रो विश्वयुद्ध मा होमिन बाध्य बनायो। त्यसको बदलामा अमेरिकाले सन् १९४५ मा जापानका दुई सहरमा एटम बम खसालेको थियो।
युद्धपछि अमेरिकाले सन् १९४५ देखि १९५२ सम्म जापानमा सैनिक राखी प्रशासनिक हस्तक्षेप गरेको थियो। त्यसपछि शान्तिवादी संविधान तयार गर्न लगाएर जापानलाई स्वतन्त्र छाडिएको थियो।
आजका दिनमा जापान र अमेरिका अभिन्न मित्र राष्ट्र हुन्। दुई देशका शीर्ष नेताबीच भेटघाट हुँदा सन् १९४१ को पर्ल हार्बर आक्रमणको प्रसङ्ग सामान्यतः उठाइँदैन। पुरानो घाउ कोट्याउनु उपयुक्त मानिँदैन।
तर ट्रम्प फरक शैलीका नेता मानिन्छन्। बिहीबार जापानी प्रधानमन्त्री ताकाइची साने सँगको कुराकानीका क्रममा उनले पर्ल हार्बरको प्रसङ्ग उठाउँदै ठट्टा गरेका थिए।
ताकाइचीसँगै बसेका ट्रम्पलाई पत्रकारहरूले सोधे, ‘किन जापान र अन्य सहयोगीलाई इरानमाथि आक्रमणबारे सूचना दिइएन ?’
ट्रम्पले जवाफ दिए, ‘किनकि हामी आश्चर्यमा राख्न चाहन्थ्यौं। जापानले जति आश्चर्य अरू कसले जानेको छ ?’ उनले ताकाइचीतर्फ हेर्दै थपे, ‘तपाईंहरूले मलाई पर्ल हार्बर आक्रमणको सूचना दिनुभएको थिएन, होइन ?’
बैठक कक्षमा उपस्थित अधिकारी र पत्रकार केहीबेर हाँसेका थिए। ‘तपाईंहरू आश्चर्यमा विश्वास गर्नुहुन्छ—मेरो बुझाइमा हामीभन्दा बढी,’ ट्रम्पले थपे।
ट्रम्पले निर्धक्क बोलिरहँदा ताकाइचीले आँखा ठूलो पारेको देखिन्थ्यो। त्यसपछि उनले गहिरो सास लिँदै हात बाँधेर चुपचाप बसिन्।
पर्ल हार्बर आक्रमणपछि जापानलाई शान्तिवादी संविधान अपनाउन लगाएको अमेरिकाले शीतयुद्ध का क्रममा भने यसको असर महसुस गर्नुपरेको थियो। अमेरिकाको नजिकको सहयोगी बनिसकेको जापानले उक्त संविधानका कारण एशियामा कम्युनिस्ट प्रभावको सामना गर्न सक्रिय भूमिका खेल्न सकेन।
पर्ल हार्बर आक्रमणको ७५ वर्षपछि सन् २०१६ मा अमेरिकी राष्ट्रपति बराक ओबामा र जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो अबे आक्रमणस्थल पुगेका थिए।
त्यहाँ अबेले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यस अवसरमा ओबामाले भनेका थिए, ‘आबेको भ्रमणले राष्ट्र र जनताबीच कति गहिरो मेलमिलाप सम्भव हुन्छ भन्ने स्मरण गराउँछ।’
वासिङ्टनस्थित ब्रुकिङ्ग्स इन्स्टिच्युट अन्तर्गतको सेन्टर फर एसिया पोलिसी स्टडिजकी निर्देशक मिरेया सोलिस का अनुसार, जापान–अमेरिका सम्बन्धमा असर पर्ने सम्भावनालाई ध्यानमा राख्दै ट्रम्पका पूर्ववर्ती राष्ट्रपतिहरूले पर्ल हार्बरको प्रसङ्ग जापानी नेताहरूसँग सहजै उठाउने गरेका थिएनन्।
उनले भनिन्, ‘ट्रम्पको अभिव्यक्ति अनौठो र स्तब्ध पार्ने खालको छ। जापानी प्रधानमन्त्री साझा सोच र योजनालाई निरन्तरता दिन आएकी हुन्। यस्तो अवस्थामा जापान र अमेरिकाबीचको बलियो सम्बन्ध र एकता उजागर गर्नुपर्ने हो, विगतको तिक्तता वा द्वन्द्वको प्रसङ्ग उठाउने होइन।’
पर्ल हार्बरमा के भएको थियो ?
पर्ल हार्बर अमेरिकाको हवाइ राज्यस्थित ओआहु टापूमा रहेको अमेरिकी जलसेनाको अखडा हो । ७ डिसेम्बर १९४१ ,स्थानीय समयअनुसार बिहान ७ बजेर ५५ मिनेटमा यहाँ झन्डै ३ सय ५० जापानी युद्ध विमानहरुले आक्रमण गरेका थिए ।
जापानले झन्डै दुुई घण्टासम्म लगातार बमबारी गर्यो । आकाश र समुद्रबाट एकैपटक आक्रमण गरिएको थियो । ६ वटा विमानवहाक युद्धपोत, ५ वटा पनडुब्बी, हेभी क्रुजर्स, युद्ध जहाज, इलाइट क्रुजर्ससहित जापानले आक्रण गरेको थियो ।
पर्ल हार्बरमाथिको आक्रमण अमेरिकाले चिताएको थिएन । किनकी, त्यस दौरान वासिङटनमा जापानी प्रतिनिधिहरुले अमेरिकी विदेशमन्त्री कार्डेल हुललाई भेटेर जापानमाथि लागेको आर्थिक प्रतिबन्ध समाप्त गर्नुुपर्ने विषयमा छलफल गरिरहेका थिए ।
वार्ता जारी र सकारात्मक चलेकाले जापानको आक्रमणबारे अमेरिकाले सोचेको थिएन । अर्को कुरा, जापानबाट अमेरिकाको पर्ल हार्बर निकै टाढा थियो । त्यसमाथि अमेरिकाले यतिबेलासम्म विश्वयुद्धमा कसैको पक्षधरता पनि लिएको थिएन । तर, जापान भने अमेरिका र पश्चिमा मुलुकले चीनलाई गरेको सहयोग देखेर भित्राभित्रै आक्रोशित थियो ।
आइतबार सार्वजनिक छुट्टी हुने र अमेरिकीहरु ढिलोसम्म सुत्ने भएकाले जापानले यही दिन जुराएर बिहानैदेखि पर्ल हार्बरमा निशाना साँधेको थियो ।
चारैतिरबाट बम खसेकाले अमेरिकी सुरक्षाकर्मीहरुले आफ्नो सुरक्षाका लागि कता गोली चलाउने भनेर सोच्न पनि भ्याएनन् । एकपछि अर्को गर्दै जापानीहरुले हवाई मार्ग, भवन, भण्डारकण कक्ष र जहाज ध्वस्त बनाए । यस हमलामा
२४ सयभन्दा धेरै अमेरिकी जवान मारिए भने अमेरिकाका ८ आठवटा युद्धपोत क्षतिग्रस्त भए । त्यस्तै, १ सय ८८ वटा विमान ध्वस्त भए । लडाइँमा कम्तिमा ६४ जापानी सैनिक पनि मारिए । जापानका २९ विमान ध्वस्त भए, ५ वटा पनडब्बु नस्ट भए ।
पर्ल हार्बर, दोस्रो विश्वयुद्धका दौरान अमेरिकी भूमिमा भएको सबैभन्दा ठूलो आक्रमण थियो । आक्रमणलगत्तैै अमेरिकी राष्ट्रपति फ्रयाङलिन डि रुजभेल्टले जापानविरुद्ध युद्ध घोषणा गरे र यसलाई ८ डिसेम्बरमा (आक्रमणको भोलिपल्ट) संसद्ले पारित गर्यो ।
यसपछि बेलायत, सोभियत युनियन र फ्रान्सको मोर्चा (मित्र राष्ट्र) मा संलग्न भएर अमेरिका प्रत्यक्ष रुपमा विश्वयुद्धमा जोडियो ।
