इरानले हर्मुजको जलघाँटीमा अवरोध गरिरहेको छ । जसकारण विश्वमा उर्जा संकट यथावत् छ । कच्चा तेलको मूल्यमा उतार चढाव देखिएको छ ।
काठमाडौँ — इरानका विदेशमन्त्री अब्बास अराग्चीले आफ्ना ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न इजरायललाई चेतावनी दिएका छन् । यसअघि इजरायलले दक्षिण पार्स ग्यास फिल्डमा आक्रमण गरेको थियो । जवाफमा इरानले पनि कतारको रास लाफान औद्योगिक क्षेत्रमा आक्रमण गरेको थियो ।
आफ्ना पूर्वाधारमा फेरि आक्रमण भए ‘शुन्य सहनशीलता’ को अवस्थामा पुग्ने चेतावनी अराग्चीले दिए । उनले अहिलेसम्म इरानले युद्धमा पुरै बल प्रयोग नगरेको दाबी पनि गरे ।
परोपकारी संस्था रेड क्रेस्सेन्टले अहिलेसम्म अमेरिका र इजरायलको आक्रमणमा परेर इरानमा कम्तिमा २ सय ४ बालबालिकाको मृत्यु भएको जनाएका छ । २१ औं दिनमा युद्ध चलिरहदाँ मृतकको संख्या १ हजार ४ सय ४४ नाघेको छ ।
त्यसैगरी, १ हजारभन्दा धेरै मानिस लेबनानमा इजरायलले गरेको आक्रमणमा मारिएका छन् । जसमा १ सय १८ जना बालबालिका रहेको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इरानले हर्मुजको जलघाँटीमा अवरोध गरिरहेको छ । जसकारण विश्वमा उर्जा संकट यथावत् छ । कच्चा तेलको मूल्यमा उतार चढाव देखिएको छ ।
दक्षिण पार्स र रास लाफानमा भएको आक्रमणपछि बुधबार कच्चा तेल ब्रेन्ट क्रुडको भाऊ बढेर उच्चतम बिन्दूमा १ सय ११ अमेरिकी डलर प्रति ब्यारेलसम्म पुगेको थियो । बिहीबार उक्त मूल्य केही घटेर १ सय २ डलर प्रति ब्यारेलमा छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाको आग्रहपछि इरानका ऊर्जा पूर्वाधामा आक्रमण नगरिने बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने आफ्नो योजना नरहेको बताएका थिए । तर इरानले कतारमाथि फेरि आक्रमण गरेमा दक्षिण पार्सको ग्यास फिल्ड पुरै ध्वस्त गरिदिने चेतावनी पनि दिएका थिए ।
कतारको रास लाफानमा भएको इरानी आक्रमणको विरोधमा ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेखेका थिए,‘ यदी कतारमा इरानले आक्रमण जारी राख्यो भने हामी दक्षिण पार्सलाई पूर्णतः ध्वस्त गरिदिनेछौं । मैले यो पूर्वाधार इरानको ऊर्जाका लागि दिर्घकालसम्म महत्वपूर्ण भएकाले आक्रमण नगर्ने नीति लिएको छु । तर कतारमाथि आक्रमण भएमा ठूलो बिस्फोट गराउन बाध्य हुनेछु ।’
उनले दक्षिण पार्समा अमेरिकासँग कुनै समन्वय नगरी इजरायलले एक्लै आक्रमण गरेको दाबी गरेका छन् । त्यसको छोटो समयमै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यस आक्रमण आफ्नो देशले मात्रै गरेको दाबी गरेका हुन् । उनले ट्रम्पको आग्रहपछि इरानका थप ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने बताए ।
