साउथ पार्स आक्रमणले इन्धन बजारमा कसरी आयो उछाल ?

बुधबार दक्षिण पार्समाथिको आक्रमणलगत्तै कच्चा तेल ब्रेन्ट क्रुडको भाऊ बढेर उच्चतम बिन्दूमा १ सय ११ अमेरिकी डलर प्रति ब्यारेलसम्म पुग्यो ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

How did the South Pars attack cause a surge in the fuel market?

काठमाडौँ — बुधबार इरानको दक्षिण पार्समाथिको आक्रमणलगत्तै कच्चा तेल ब्रेन्ट क्रुडको भाऊ बढेर उच्चतम बिन्दूमा १ सय ११ अमेरिकी डलर प्रति ब्यारेलसम्म पुग्यो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमण इजरायलले गरेको र अमेरिका संलग्‍न नरहेको बताएका छन् । उनले आक्रमणबारे आफुलाई थाहा समेत नभएको बताएका छन् । 

पर्सियन खाडी (समुद्री)  क्षेत्रमा रहेको यस ग्यास फिल्ड इरान र कतारको जलक्षेत्र हो । यो इरानबाट दक्षिणतर्फ र कतारबाट उत्तरतर्फ पर्छ । त्यहीकारण इरानी हिस्सालाई साउथ पार्स र कतारी हिस्सालाई नर्थ फिल्ड भन्ने गरिन्छ । 

यस ग्यास फिल्डमा भएको आक्रमणले इरानलाई ठूलो धक्का लागेको छ । र, पश्चिम एसियाका देशहरूमा रहेका अन्य ऊर्जा केन्द्रमा पनि आक्रमणको जोखिम निम्त्याएको छ । 

आक्रमणले विश्वव्यापी ऊर्जा आपूर्ति र  क्षेत्रीय सुरक्षालाई दाउमा राखेको युएइले जनाएको छ । कतारले आक्रमणलाई ‘खतरनाक र गैरजिम्मेवार कदम’ भनेको छ ।

इरानले दक्षिण पार्समाथिको आक्रमणको बदलामा कतारको रास लाफान औद्योगिक शहरसहित पश्चिम एसियाका विभिन्न उर्जा केन्द्रमा प्रत्याक्रमण गरेको छ । एकपछि अर्का ऊर्जा केन्द्र निशानामा परेसँगै विश्वमा तेलको संकट थप गहिरिने जोखिम बढेको छ । 

इरानले दक्षिण पार्समा उत्पादित ग्यासलाई घरेलु बजारमा प्रयोग गर्छ । इरानको कुल खपतको ७० प्रतिशत ग्यास यहीबाट आउँछ । उक्त ग्यास विद्युत, ऊर्जा र उत्पादन केन्द्र, सवारी साधनलगायतमा प्रयोग हुन्छ । यसबाहेक छिमेकी देश टर्की, अर्मेनिया र इराकमा पाइपलाइनमार्फत यहाँको कच्चा ग्यास निर्यात हुन्छ । 

इरानले दक्षिण पार्सबाट ग्यास प्रशोधन गरेर निर्यात गर्ने योजना पनि बनाएको छ । पाइपलाइनमार्फत दक्षिण पार्सबाट इराक, सिरिया, भूमध्यसागर हुँदै युरोपमा तेल पठाउने प्रस्ताव पनि उसले गरेको थियो । तर पश्चिमी प्रतिबन्ध र आर्थिक संकटले निम्त्याएको प्रविधिको अभावका कारण अहिले  यी योजना सार्थक हुन सकेको छैन । 

विश्वमा एलएनजी ग्यासको दोस्रो ठूलो निर्यातकर्ता (अमेरिकापछि) कतारले  आफ्नो क्षेत्र (नर्थ फिल्ड) पूर्वाधार विकासमा ठूलो लगानी गरेको छ । यहाँको कच्चा ग्यासलाई कतारले पाइपलाइनमार्फत रास लाफान औद्योगिक शहरमा खसाल्छ ।  त्यहाँ ट्रिटमेन्ट (प्रशोधन) र शुद्धिकरण गरेर ट्यांकरहरुमार्फत बाँकी विश्वमा पठाउँछ ।

विश्वमा एलएनजी ग्यासको कुल खपतमध्ये २० प्रतिशत कतारबाट निर्यात हुन्छ । एसियाली देश, युरोप, अमेरिका र अफ्रिकासम्म कतारबाट ग्यास जान्छ । युद्ध सुरु भएपछि अस्थायी रूपमा कतारले ग्यास प्रशोधन र उत्पादन बन्द गरेको थियो । रास लाफानमा भएको आक्रमणले यो अवस्था थप बिग्रिएको छ । यस्तो अवस्थाले विश्‍वभर इन्धनको संकट गहिरिन र मूल्य बढ्नसक्छ । 

इरानले हर्मुजको जलघाँटीमा अवरोध गरिरहेको छ । जसकारण विश्वमा उर्जा संकट यथावत् छ ।दक्षिण पार्स र रास लाफानमा भएको आक्रमणपछि उर्जा बजारमा फेरि हलचल मच्चिएको छ । बुधबार यस आक्रमणलगत्तै कच्चा तेल ब्रेन्ट क्रुडको भाऊ बढेर उच्चतम बिन्दूमा १ सय ११ अमेरिकी डलर प्रति ब्यारेलसम्म पुग्यो । 

कतारको रास लाफानमा भएको इरानी आक्रमणको विरोधमा ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन्,‘ यदी कतारमा इरानले आक्रमण जारी राख्यो भने हामी दक्षिण पार्सलाई पूर्णतः ध्वस्त गरिदिनेछौं । मैले यो पूर्वाधार इरानको ऊर्जाका दिर्घकालसम्म महत्वपूर्ण भएकाले आक्रमण नगर्ने नीति लिएको छु । तर कतारमाथि आक्रमण भएमा ठूलो बिस्फोट गराउन बाध्य हुनेछु ।’

उनले दक्षिण पार्समा भएको आक्रमणमा अमेरिका संलग्न नरहेको र अमेरिकासँग इजरायलले कुनै समन्वय नगरेको दाबी गरेका छन् । 

कान्तिपुर

Link copied successfully