विश्वकै सबैभन्दा महँगो तथा ठूलो युद्धपोत जेराल्ड फोर्ड पछिल्ला ९ महिना विभिन्न महासागरमा तैनाथ थियो ।
काठमाडौँ — विश्वकै ठूलो युद्धपोत जेराल्ड आर फोर्ड आगलागीपछि रेड सीबाट फर्कने भएको छ । अब यो युद्धपोत ग्रिसको टापु क्रेटेस्थित सोडा बन्दरगाहमा रहनेछ ।
यस युद्धपोतमा गत बिहीबार आगलागी भएको थियो । आगो नियन्त्रणमा आउन झन्डै ३० घण्टा लागेको अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले जनाएको छ ।
जहाजमा आगो लागेर क्षति पुगेको समाचार सबैभन्दा पहिले न्युयोर्क टाइम्सले नै ब्रेकिङ गरेको थियो । सुरुवातमा अमेरिकी सेनाले जहाजमा कुनै क्षति नपुगेको दाबी गरेको थियो । तर, अन्ततः यसलाई ग्रिसस्थित बन्दरगाहमा लैजाने निर्णय गरेको हो ।
विश्वकै सबैभन्दा महँगो तथा ठूलो युद्धपोत जेराल्ड फोर्ड पछिल्ला ९ महिना विभिन्न महासागरमा तैनाथ थियो । यसलाई पहिले क्यारेबियन सागरमा भेनेजुएलामाथि दबाब सिर्जना गर्न प्रयोग गरियो । त्यसपछि इरानविरुद्धको लडाइलाई मध्यनजर गरेर पश्चिम एसिया पठाइएको थियो ।
फोर्डमा ५ हजारभन्दा धेरै सैनिक चालक छन् । यसमा ७५ भन्दा धेरै सैन्य विमान अट्छन् ।
इरान अमेरिका युद्ध १८ औं दिनमा प्रवेश गर्दासम्म दुबै पक्षबाट एक–अर्कामाथि भीषण आक्रमण भएको छ । मंगलबार इजरायलले इरानका सुरक्षा परिषद्का सचिव अलि लारिजानी र अर्धसैन्य दलका कमाण्डर घोलमरेजा सुलेमानीको हत्या गरेको थियो ।
तेल अभिभमा इरानको आक्रमण
इजरायलको राजधानी तेल अभिभमा इरानको आक्रमणमा परेर दुई व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी, सार्पनेल लागेर दुईजना घाइते भएका छन् । आक्रमणपछि तेल अभिभका सडकमा भागदौड मच्चिएको थियो ।
इरानको रिभोलुसनरी गार्ड्स कोर्प्सले लारिजानी र सुलेमानीको हत्याको बदला लिएरै छाड्ने जनाएको छ । उसले पश्चिम एशियाका देशहरुमा पनि मिसाइल प्रहार गरेको छ ।
