इजरायली आक्रमणमा मारिएका इरानी सुरक्षा सचिव लारिजानी को हुन् ?

इरानमा विविध विचारधारा राख्नेहरुसँग शक्ति सन्तुलन मिलाउनसक्ने खुबी लारीजानीसँग थियो

चैत्र ४, २०८२

कान्तिपुर संवाददाता

Who is Iranian Security Secretary Larijani, who was killed in an Israeli attack?

काठमाडौँ — इजरायलको हवाई आक्रमणमा मंगलबार  इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र अर्धसैन्य दस्ता बासिजका कमाण्डर घोलामरेजा सुलेमानीसहित एक दर्जन सैनिक मारिएका छन् ।  

इरानको कट्टपन्थी विचारधारा राख्ने संस्थापन पक्षका थोरै उदार नेतामध्ये लारिजानी एक थिए । उनले पश्चिमा देशसँग आणविक वार्तामा महत्वपूर्ण भूमिका खेलेका थिए । 

तर, २८ फेब्रुअरीमा अमेरिका–इजरायलको आक्रमणमा आफ्ना सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइ र रिभोलुसनरी गार्ड्स कोप्र्स (आईआरजीसी) का कमाण्डर मारिएपछि लारिजानी निकै आक्रमण रुपमा पेश भए । 

‘अमेरिका र यहूदी शासकले इरानी राष्ट्रको हृदयमा आगो लगाइदिएका छन्,’ उनले सामाजिक सञ्जालमा लेखे,‘हामी उनीहरूको हृदय जलाउनेछौं । यहूदी अपराधीहरू र निर्लज्ज अमेरिकीहरूलाई पछुताउने बनाउनेछौं ।’

खामेनेइको निधनपछि सिर्जना भएको शक्ति रिक्तताबीच इरानलाई प्रतिरोधको लडाइँमा खरो उतार्न लारिजानीले निकै ठूलो भूमिका खेलेका थिए । तीन सदस्यीय सरकार सञ्चालन परिषद् गठनदेखि रिभोलुशनरी गार्ड्स कोप्र्स र परिषद्बीच समन्वय निर्माणसम्म उनको भूमिका महत्वपूर्ण थियो ।

किनकी, रिभोलुशनरी गार्ड्सका सदस्यमाझ उनी निकै प्रिय थिए । पश्चिमा मिडियाका अनुसार पछिल्लोपटक उनी मोज्ताबा खामेनेइलाई सर्वोच्च नेता बनाउने प्रस्तावको विपक्षमा थिए । किनकी, इस्लामिक क्रान्तिको एउटा कारण वंशवादको विरोध थियो । अर्कोतर्फ, उनी विश्‍वले पत्याउने उदार अनुहारलाई नेतृत्वमा हेर्न चाहन्थें ।

तर, विज्ञ परिषद्ले खामेनेइलाई चयन गरिसकेपछि उनले आफ्ना फरक मत त्याग्दै यस निर्णयको पक्षमा रहेको बताए । 

६७ वर्षीय लारिजानी सत्तामा शक्तिशाली बनिरहनुको एक कारण १९७९ पछिको क्रान्तिकारी धनाढ्य वर्गसँगको उनको व्यक्तिगत सम्बन्ध हो । उनी आफैं अमोलको धनाढ्य परिवारका सदस्य थिए । उनका पाँचवटै दाजुभाई सत्तामा प्रभावशाली भूमिकामा छन् ।

लारिजानीले  इस्लामिक गणतन्त्र इरानका संस्थापक रुहोल्लाह खोमेनीका विश्वासपात्र मोर्तेजा मोतहारीकी छोरी फरीदेहसँग २० वर्ष छँदै विवाह गरेका थिए । 

धार्मिक मदरसाबाट आएका अन्य धेरै साथीहरूभन्दा लारिजानीको व्यक्तित्व फरक छ ।  उनले १९७९ मा शरीफ युनिभर्सिटी अफ टेक्नोलोजीबाट गणित र कम्प्युटर विज्ञानमा स्नातक डिग्री हासिल गरेका थिए ।

त्यस्तै, तेहरान विश्वविद्यालयबाट पश्चिमी दर्शनमा स्नातकोत्तर र विद्यावारिधि पूरा गरे, १८ औं शताब्दीका प्रसिद्ध जर्मन दार्शनिक इम्मानुएल कान्टबारे थेसिस लेखे । उनले अहिलेसम्म कम्तिमा दर्शनशास्त्रका ६ वटा पुस्तक लेखेका छन्, जसमध्ये तीनवटा पुस्तक कान्टबारे छन् । 

१९७९ को क्रान्ति पछि उनी रिभोलुशनरी गार्ड्स कोप्र्समा सदस्य भए । इराक–इरान युद्धमा खेलेको भूमिकाले उनी आम इरानीमाझ एक बहादूर कमाण्डरका रुपमा चिनिए । 

१९९४ देखि १९९७ सम्म राष्ट्रपति अकबर हाशेमी रफसनजानीको नेतृत्वमा संस्कृति मन्त्रीको रूपमा र त्यसपछि १९९४ देखि २००४ सम्म इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) प्रमुखको रुपमा उनी सक्रिय भए ।

२००८ देखि २०२० सम्म, उनले लगातार तीन कार्यकाल संसदको सभामुखको रूपमा काम गरे । यसक्रममा इरानका घरेलु र विदेश नीतिलाई आकार दिन उनको महत्वपूर्ण भूमिका थियो । 

लारिजानी २००५ मा राष्ट्रपतिको उम्मेदवार पनि थिए । तर राम्रो मत ल्याउन सकेनन् । त्यही वर्ष, उनलाई सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिव र देशको प्रमुख आणविक वार्ताकार नियुक्त गरियो । उनले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुससँग आणविक वार्ताको प्रक्रिया अघि बढाउन खोजेका थिए । तर, कट्टरपन्थी इरानी सत्ता यसका लागि तयार भएन । त्यसपछि उनले २००७ मा पदबाट राजीनामा थिए ।  तर, इरान यसका लागि

इरानले सन् २०१५ मा अमेरिका, इरान, चीन, फ्रान्स, जर्मनी, रुस, बेलायत र युरोपेली युनियनसँग आणविक सम्झौता गर्दा लारिजानी देशको सभामुख थिए । विदेशमन्त्री जाभेद जरिफको नेतृत्वमा विदेशीहरुसँग वार्ता चलिरहदाँ देशभित्रका कट्टरपन्थीहरुलाई मनाउन उनले ठूलो भूमिका खेलेका थिए । 

सन् २०२० मा राष्ट्रिय सुरक्षा परिषदको सचिव र सभामुखको कार्यकाल समाप्त भएपछि उनले राष्ट्रपति बन्ने तयारी थाले ।

तर, सन् २०२१ र २०२४ मा राष्ट्रपति पदका लागि उम्मेदवारी दिने प्रयास सफल भएन । उम्मेदवारहरुको योग्यता जाँच गर्ने गार्डियन काउन्सिलले उनलाई दुबैपटक अयोग्य घोषणा गरेको थियो । संस्थापन पक्षका अन्य नेताहरुका लागि बाटो सहज बनाउन गरिएको यस्तो निर्णयलाई लारिजानीले ‘अपारदर्शी’ भनेका थिए ।

तर, जुन २०२५ मा इजरायलसँगको १२ दिने युद्ध र त्यसपछि निम्तिएको संकटले इरानी संस्थापनलाई लारिजानीको महत्व बुझायो । अगस्ट २०२५ मा राष्ट्रपति मसुद पेजेश्कियनले उनलाई सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवको रूपमा पुनः नियुक्त गरे ।

त्यसयता, उनी निकै प्रभावशाली रहदैं आएका छन् । आफ्नो नियुक्तीको केही दिनमै लारीजानीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहयोग सम्झौता रद्द भएको बताएका थिए । एजेन्सीको प्रतिवेदन प्रभावकारी नरहेको उनको घोषणा थियो ।

इरानमा  डिसेम्बरको अन्त्यमा सुरु भएको सरकारविरोधी प्रदर्शन दबाउन उनले कठोरभन्दा कठोर नीति लिए । जसकारण, ठूलो संख्यामा आन्दोलनकारी मारिए । पश्चिमा विश्लेषकहरुका अनुसार खामेनेइले आन्दोलन दबाउने जिम्मा उनैलाई सुम्पेका थिए । 

यसका बाबजुद लारिजानीलाई पश्चिमा विश्वले व्यवहारिक र सम्झौतामा पुग्नसक्ने राजनीतिज्ञका रुपमा लिने गरेको थियो । उनले सधैं सन् २०१५ को आणविक म्झौताअनुसार अघि बढ्नुपर्ने धारणा राखे । 

२८ फेब्रुअरीमा युद्ध सुरु हुनभन्दा केही समयअघि मात्रै उनी अमेरिकासँग अप्रत्यक्ष वार्तामा संलग्न रहेको अलजजिराले जनाएको छ । 

लारिजानीको मृत्युले इरानलाई ठूलो क्षति भएको छ । इरानमा विविध विचारधारा राख्नेहरुसँग शक्ति सन्तुलन मिलाउनसक्ने खुबी लारीजानीसँग थियो । रिभोलुशनरी गार्ड्स कप्र्सलाई मनाएर युद्ध रोक्न सक्ने व्यक्तित्व उनीसँग थियो । 

बेलायती पत्रिका गार्डियनको टिप्पणी छ,‘सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइभन्दा पनि ठूलो क्षति लारिजानीको मृत्युले इरानलाई हुनसक्छ । सन् २०२० मा रिभोलुशनरी गार्डस् कोप्सका सर्वोच्च कमाण्डर (जो सैनिक र जनता दुबैमाझ लोकप्रिय थिए) मारिदाँ जत्तिकै क्षति लारीजानीको मृत्युले हुनसक्छ ।’

अमेरिकासँगको वार्ताको संभावना पनि उनको मृत्युले घटाउन सक्छ । इजरायलले लारिजनीको हत्या गर्नुको सम्भावति कारणबारे युरोपेली विदेश सम्बन्ध परिषद्की इरान विज्ञ एली गेरानमायेह भन्छिन्, ‘ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू युद्धविराम र इरानसँगको वार्ताको लागि ट्रम्पको बाटो रोक्नमा केन्द्रित छन् । लारिजानी त्यो काम सम्पन्न गर्नसक्ने व्यक्ति थिए ।’

कान्तिपुर

Link copied successfully