इन्धन बचत गर्न श्रीलंकामा हप्तामा तीन दिन बिदा

विद्यालय, विश्वविद्यालय, सरकारी कार्यालयलगायत क्षेत्र अब बुधबार बन्द हुनेछन् ।

चैत्र ४, २०८२

कान्तिपुर संवाददाता

Sri Lanka to have three days off a week to save fuel

काठमाडौँ — श्रीलंकाले इन्धन बचत गर्नका लागि बुधबार सार्वजनिक बिदा दिने भएको छ । शनिबार र आइतबार श्रीलंकामा नियमित रुपमा सार्वजनिक छुट्टी हुन्छ । 

लगातार तीन दिन सरकारी काम नरोकियोस् भने बुधबार बिदा दिइएको सरकारले जनाएको छ । विशेष परिस्थिति आइपरेका कारण बुधबार बिदा दिनुपरेको राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बताएका छन् ।

विद्यालय, विश्वविद्यालय, सरकारी कार्यालयलगायत क्षेत्र अब बुधबार बन्द हुनेछन् । ‘हामीले सबैभन्दा खराब अवस्थाको लागि तयारी गर्नुपर्छ, तर उत्तम परिस्थितिकोे आशा गर्नुपर्छ,’ राष्ट्रपति दिसानायकेले सोमबार वरिष्ठ अधिकारीहरूसँगको आपतकालीन बैठकमा भने ।

यहाँ निजी कारहरुका लगि मासिक १५ लिटर र मोटरसाइकलका लागि ५ लिटरमात्रै तेल किन्न पाइने व्यवस्था गरिएको छ । 

हर्मुजको जलघाँटीमा इरानले अवरोध गरेपछि एशियाली देशहरुमा इन्धनको अभाव देखिएको छ । श्रीलंकामा आयात हुने तेलको कच्चा पदार्थमध्ये ८० प्रतिशत हाराहारी मध्य एशियाली देशहरुबाट हर्मुजको जलघाँटी हुँदै आउँछ । पश्चिम एसियामा देखिएको संकटले श्रीलंकामा खाने पकाउने ग्याँस (एलपीजी) पनि अभाव भएको छ । 

इन्धनको विश्वव्यापी मूल्यवृद्धि र अभावपछि श्रीलंकाको अर्थतन्त्रमा नराम्रो असर देखिएको छ । 

विश्वको  झन्डै २० प्रतिशत कच्चा तेल आपुर्ति हुने महत्वपूर्ण रुट हर्मुज जलघाँटीमा देखिएको अवरोधले एशियाका मुलुकहरु समस्यामा छन् । 

थाइल्याण्डमा सरकारले एयर कन्डिसनिङमा निर्भरता कम गर्न मानिसहरूलाई छोटो बाहुला भएको टिसर्ट लगाउन आग्रह गरेको छ ।

म्यानमारमा निजी सवारी जोर–बिजोर प्रणालीमा सञ्चालन हुने नियम लागु गरिएको छ । बंगलादेश पाकिस्तानमा पनि विश्वविद्यालय र विद्यालय बन्द छन् । सरकारी कर्मचारीलाई घरबाटै काम गर्ने अनदुमति दिइएको छ ।

फिलिपिन्समा केही सरकारी कार्यालयहरूले कर्मचारीहरूलाई हप्तामा कम्तिमा एक दिन घरबाट काम गर्न अनिवार्य गरेका छन् ।

भियतनामले नागरिकहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । साइकल चलाउन, लिफ्ट दिन र सार्वजनिक यातायतको अत्यधिक प्रयोग गर्न आग्रह गरिएको छ । 

कान्तिपुर

Link copied successfully