लारिजानीको हत्याले इरानी राजनीतिक प्रणालीलाई अस्थिर बनाउँदैन : इरानी विदेशमन्त्री

सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको हत्या गरिएको उल्लेख गर्दै विदेशमन्त्री अराघचीले विशाल राष्ट्रिय क्षतिका बाबजुद पनि ‘प्रणाली निरन्तर’ रहेको बताए।

चैत्र ४, २०८२

कान्तिपुर संवाददाता

Larijani's assassination will not destabilize Iranian political system: Iranian Foreign Minister

What you should know

काठमाडौँ — इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानको सुप्रिम नेसनल सेक्युरिटी काउन्सिलका सचिव अली लारिजानीको हत्याले त्यहाँको राजनीतिक प्रणालीलाई अस्थिर बनाउन नसक्ने बताएका छन्।

लारिजानीको हत्या पुष्टि भएपछि अल जजिरासँगको अन्तर्वार्तामा उनले इरानको सरकार कुनै एक व्यक्तिमा निर्भर नरहेको कुरा अमेरिका र इजरायलले अझै पनि नबुझेको बताए।

‘मुस्लिम गणतन्त्र इरानसँग स्थापित राजनीतिक, आर्थिक र सामाजिक संस्थासहितको बलियो राजनीतिक संरचना छ भन्ने कुरा अमेरिका र इजरायलले अझै किन नबुझेका हुन् भन्ने कुरा मैले थाहा पाउन सकेको छैन,’ अराघचीले भने, ‘कुनै एक व्यक्तिको उपस्थिति वा अनुपस्थितिले यो संरचनामा कुनै असर पार्दैन।’

‘पक्कै पनि व्यक्तिहरू प्रभावशाली हुन्छन् र प्रत्येकले आफ्नो भूमिका खेल्छन्-केही राम्रो, केही नराम्रो, केही कम नराम्रो। तर इरानको राजनीतिक प्रणाली नै महत्वपूर्ण हो, जसको निकै मजबुत संरचना छ,’ उनले भने।

अमेरिका–इजरायलको संयुक्त आक्रमणको पहिलो दिनमै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको हत्या गरिएको उल्लेख गर्दै विदेशमन्त्री अराघचीले विशाल राष्ट्रिय क्षतिका बाबजुद पनि ‘प्रणाली निरन्तर’ रहेको बताए।

‘सर्वोच्च नेता भन्दा हाम्रो लागि महत्वपूर्ण अरु केही छैन,’ उनले भने, ‘सर्वोच्च नेता सहिद भएपछि पनि प्रणालीले आफ्नो काम निरन्तर रूपमा गर्‍यो र तत्काल विकल्प प्रस्तुत गर्‍यो।’

‘यदि अन्य कोही सहिद भए पनि अवस्था यस्तै रहनेछ। यदि विदेशमन्त्री सहिद भएको भए पनि जिम्मेवारी लिने कोही न कोही हुन्थ्यो,’ अराघचीले थपे।

सोमबार राति भएको आक्रमणमा मारिएका ६७ वर्षीय लारिजानी सर्वोच्च नेता अली खामेनेई र उनका उत्तराधिकारी छोरा मोज्तबा खामेनेईका नजिकका व्यक्ति थिए।

लारिजानीको हत्यासँगै इरानको उच्च नेतृत्वको एउटा पूरा तह नै सकिएकाे ठानिएको छ।

कान्तिपुर

Link copied successfully