जर्मनीले अमेरिका र इरानबीचको युद्धमा सहभागी हुने आफ्नो कुनै मनसाय नरहेको जनाएको छ ।
काठमाडौँ — इजरायली सेनाले इरानको राजधानी तेहरानमा नयाँ आक्रमण सुरु गरेको बताएको छ । त्यस्तै, बेरुतका तीन इलाकामा पनि आक्रमण भएको छ ।
इरानले पनि खाडी क्षेत्रमा लक्षित गरी मिसाइल र ड्रोन आक्रमणहरू गरिरहेको छ । कतार, साउदी अरेबिया, युएई र कुवेतल इरानी मिसाइल प्रतिरोध गरिएको जनाएका छन् ।
एम्नेस्टी इन्टरनेशनलको अनुसन्धानले इरानी छात्रा प्राथमिक विद्यालयमा भएको आक्रमणमा अमेरिका संलग्न गरेको देखाएको छ । उक्त आक्रमणमा कम्तिमा १७० जनाको मृत्यु भएको थियो, जसमा अधिकांश स्कुले छात्राहरू थिए ।
जर्मनीले अमेरिका र इजरायलबीचको युद्धमा सहभागी हुने आफ्नो कुनै योजना नरहेको जनाएको छ । यसअघि ट्रम्पले नाटो सदस्य राष्ट्रलाई हर्मुजको जलघाँटी खुलाउनका लागि सैन्य जहाज पठाउन आग्रह गरेका थिए ।
आफ्ना सहयोगीबाट सैन्य सहयोग प्राप्त नभएमा नाटोको अवस्था निकै खराब हुने उनको चेतावनी थियो । तर, कुनै पनि देशले सैन्य जहाज पठाउने निर्णय गरिरहेको छैनन् ।
अमेरिका–इजरायल इरान युद्ध १७ औं दिनमा प्रवेश गरेको छ । हर्मुजको जलघाँटीमा अवरोध कायम हुँदा विश्वव्यापी रुपमा इन्धनको मुल्य बढेको छ ।
