अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलघाँटी खोल्नका लागि सैन्य सहयोग गर्न चीन, जापान, बेलायत, फ्रान्सलगायत देशहरुसँग आव्हान गरेका थिए ।
काठमाडौँ — बेलायतका प्रधानमन्त्री केर स्टार्मरले हर्मुजको जलघाँटीमा आवागमन सुचारु गर्ने काम सहज नरहेको बताएका छन् । उनले यसका लागि बेलायतले साझेदार देशहरूसँग मिलेर योजना बनाइरहेको बताए ।
त्यस्तै, बढ्दो तेलको मूल्यबाट प्रभावित भएकाहरुका लागि ५ करोड ३० लाख पाउन्डको सहुलियत प्याकेज घोषणा गरे ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलघाँटी खोल्नका लागि सैन्य सहयोग गर्न चीन, जापान, बेलायत, फ्रान्सलगायत देशहरुसँग आव्हान गरेका थिए ।
तर, कुनै पनि देशले सहयोग पठाएनन् । ट्रम्पले हर्मुजमा आवागमन सुचारु गर्न सहयोग नगरे नाटोको भविष्य निकै खराब हुने चेतावनी समेत दिएका छन् ।
त्यस्तै, उनले चीन भ्रमणमा पनि ढिलाई हुनसक्ने बताए । यसै महिनाको अन्त्यमा ट्रम्प बेइजिङ जाने तय छ । तर, चीनमाथि हर्मुजको घाँटी खुलाउनका लागि दबाब दिन उनले भ्रमणमा ढिलाइ हुनसक्ने बताएका हुन् ।
नाटो सदस्य राष्ट्र बेलायतका प्रधानमन्त्री स्टार्मरसँग आइतबार राति ट्रम्पको टेलिफोन वार्ता भएको थियो । त्यसक्रममा हर्मुजको जलघाँटी खोल्ने विषयमा कुराकानी भएको स्मार्टरले बताए । उनले ट्रम्पसँग आफ्नो राम्रो सम्बन्ध रहेको पनि बताए । ‘हामी दशकौंदेखि बलियो साझेदार हौं,’ उनले भने, ‘तर यसका बाबजुद मैले बेलायतको हितका लागि काम गर्नुपर्नेछ ।’
उनले थपे, ‘यदी तपाई प्रधानमन्त्री हुनहुन्छ भने एक सातापछि मैले युद्धका विषयमा गलत गरेँ भन्न पाउनुहुन्न । ’
उनले द्वन्द्व अन्त्य गर्नु नै अहिलेका लागि सबैभन्दा प्रभावकारी उपाय रहेको बताए । त्यस्तै, इरानमा जारी द्वन्द्वले महँगी बढेकोप्रति चिन्तित रहेको बताए ।
विगत १७ दिनदेखि अमेरिका–इजरायल र इरानबीच युद्ध जारी छ । विश्वको झन्डै २० प्रतिशत तेलको हिस्सा हर्मुज हुँदै बाहिरिन्छ । तर, युद्ध सुरु भएयता हर्मुजको जलघाँटीबाट इरानले तेलका ट्यांकरहरु बाहिरिन दिएको छैन ।
यसअघि इरानका विदेशमन्त्री अब्बास अराग्चीले अमेरिका र उसका सहयोगी देशबाहेक अन्य देशका तेलका ट्यांकरलाई हर्मुजबाट बाहिरिन कुनै समस्या नहुने बताएका थिए ।
