रोयटर्सका अनुसार विश्वव्यापी तेलको झन्डै ४.५% हिस्सा इरानबाट निर्यात हुन्छ । यसको ९० प्रतिशत हिस्सा खार्गमै प्रशोधन भएर जान्छ
काठमाडौँ — केवल २० वर्ग किलोमिटरमा फैलिएको छ , खार्ग टापु । १९६० को दशकमा इरानी लेखक जलाल अल इ अहमदले यसलाई 'पर्सियन खाडीको अनाथ मोती' भनेका थिए ।
त्यही दशकमा अमेरिकी कम्पनी अमोको र इरानको तत्कालीन सरकार (राजा रेजा पहल्वी नेतृत्व) मिलेर यहाँ तेलको ठूलो टर्मिनल तयार गरे । यसपछि प्रशोधन गृहहरू खोलिए । जसले यसलाई इरानकै महत्वपूर्ण आर्थिक क्षेत्र बनायो ।
सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति सफल भएसँगै अमेरिकासँगको उसको सम्बन्ध बिग्रियो । त्यसपछि अमेरिकी तेल कम्पनीहरु बाहिर निस्किए ।
विगत १५ दिनदेखि चलिरहेको अमेरिका-इजरायल र इरानबीचको युद्धका दौरान शुक्रबार यहाँ बम आक्रमण भएको छ ।
तत्कालका लागि यहाँका तेल पूर्वाधारहरुमा क्षति पुगेको छैन । तर, सैन्य पूर्वाधार ध्वस्त गरिएको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् ।
'मेरो निर्देशनमा अमेरिकाको सेन्ट्रल कमाण्डले मध्यपूर्वको इतिहासकै सबैभन्दा शक्तिशाली बम आक्रमण गरेको छ । इरानको गहना मानिने खार्ग टापुमा रहेका हरेक सैन्य पूर्वाधारलाई ध्वस्त गरिएको छ,' आफ्नो स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोशलमा उनले लेखेका छन्,'मैले यहाँका तेल पूर्वाधारमा आक्रमण गरेको छैन । तर, हर्मुजको जलक्षेत्रमा जहाजको स्वतन्त्र र सुरक्षित आवागमनमा इरान वा कसैले अवरोध गरेमा म यस निर्णयमा पुनर्विचार गर्नसक्छु ।'
इरानको सरकारी समाचार एजेन्सी फार्सले अधिकारीहरुलाई उद्रृत गर्दै शुक्रबार यहाँ १५ पटक बिस्फोट भएको जनाएको छ ।
रोयटर्सका अनुसार विश्वव्यापी तेलको झन्डै ४.५% हिस्सा इरानबाट निर्यात हुन्छ । यसको ९० प्रतिशत हिस्सा खार्गमै प्रशोधन भएर जान्छ ।
त्यहीकारण यसलाई इरानको जीवनरेखा पनि भनिन्छ । अमेरिकी प्रतिबन्धका कारण पछिल्ला वर्षहरुमा धेरै देशले इरानसँग तेल किन्न बन्द गरे । चीनले भने इरानी तेलमाथिको निर्भरता बढाउँदै लगेको थियो ।
खार्ग टापु इरानको मुख्यभूमीबाट २५ किलोमिटर पर पर्सियन खाडी क्षेत्रमा छ । यहाँ इरानका अहवाज, मारुम, गचसारनलगायत तेल खानी भएका इलाकाबाट दैनिक लाखौं ब्यारेल कच्चा तेल पाइपलाइनहरुमार्फत जान्छ ।
त्यसलाई भण्डारण र आवश्यकताअनुसार प्रशोधन गरिन्छ । त्यसपछि जहाजमा लोड गरेर बाँकी विश्वमा वितरण गरिन्छ ।
खार्ग टापु रणनीतिक रुपमा पनि महत्वपूर्ण छ । विश्वको २० प्रतिशत तेल बाहिरिने सामुद्रिक रुट हर्मुजको घाँटीमा नियन्त्रण यस टापुमा इरानी सेनाको सुदृढ उपस्थिती जरुरी छ । त्यहीकारण इरानले यहाँ सैन्य पूर्वाधारहरुमा ठूलो लगानी गरेको थियो ।
इरानमा इरानमा अमेरिका–इजरायली आक्रमण हुनुभन्दा थोरै दिनअघिसम्म खार्गबाट ठूलो परिमाणमा तेल निर्यात भइरहेको अमेरिकी लगानी बैंक जेपी मोर्गनलाई उद्रृत गर्दै रोयटर्सले जनाएको छ । युद्ध सुरु भएपछि परिमाण केही घटेपनि तेलका ट्यांकर अनलोड हुने क्रम रोकिएको थिएन ।
खार्गमा झन्डै ३ करोड ब्यारेल भण्डारण क्षमताको पूर्वाधार रहेको रोयटर्सले जनाएको छ । विश्वव्यापी व्यापार विश्लेषक कम्पनी केप्लरका अनुसार यहाँ झन्डै १ करोड ८० लाख ब्यारेल कच्चा तेल भण्डारण गरेर राखिएको छ ।
हर्मुजको जलघाँटीमा अवरोध कायमै रहे खार्गका तेल पूर्वाधारमा पनि आक्रमण गरिने अमेरिकाको चेतावनी छ । अहिल्यै कमजोर भइसकेको इरानको अर्थतन्त्रका लागि खार्गमा हुने आक्रमणले ठूलो क्षति पुर्याउनेछ ।
बाँकी विश्वलाई पनि यसको ठूलो असर पर्ने अमेरिकी सेनाका पूर्व ब्रिगेडियर–जनरल मार्क किमिटले बताए । ‘अब सेनालाई हटाउने वा शासकलाई हटाउने कुरा मात्रै रहेन । हामीले अब इरानको आर्थिक जीवनलाई नै हटाउन खोजिरहेका छौं,’ उनले भने,‘ हर्मुज बन्द हुँदा नै तेलको मूल्य बढिसकेको छ । अब खार्गले युद्धको जोखिम थप बढाएको छ । इरानले पश्चिम एशियाका देशमा रहेका तेल पूर्वाधारमा आक्रमण गर्यो भने तेलको मूल्य नियन्त्रण बाहिर जानेछ ।'
आफ्ना तेल र उर्जा पूर्वाधारमा आक्रमण भए पश्चिम एशियाका देशहरुमा अमेरिकी स्वामित्वमा रहेका तेलखानीहरुलाई प्रत्याक्रमण गरिने इरानको जवाफ छ । यस्तो अवस्थाले युद्धलाई थप लम्ब्याउनसक्ने किमिटको दाबीछ ।
खार्ग आक्रमणअघि नै अमेरिकाले पश्चिम एशियामा झन्डै २५ सय जलसेना र चालकहरुको टोली पठाउने घोषणा गरेको थियो । तर, सुरक्षा विज्ञहरुले खार्ग टापु कब्जा गर्नका लागि ठूलो संख्यामा स्थल सेना आवश्यक पर्ने बताएका छन् ।
ट्रम्पले स्थल सेना पठाउने विकल्प पनि अस्विकार गरेका छैनन् । तर यसको आवश्यकता नपर्ने उनको दाबी छ।
