रुसी तेल कारोबारमाथिको अमेरिकी प्रतिबन्ध तत्कालका लागि हटाइयो

लामो समयदेखि रुसी तेलको कारोबारमाथि लगाउँदै आएको प्रतिबन्ध हटाएपछि युक्रेन र फ्रान्स भने बेखुस देखिएका छन्।

फाल्गुन ३०, २०८२

रासस

US sanctions on Russian oil trade lifted for the time being

What you should know

काठमाडौँ — संयुक्त राज्य अमेरिकाले रुसी तेल कारोबारमाथिको अमेरिकी प्रतिबन्ध तत्कालका लागि हटाइएको शुक्रबार जनाएको छ। 

अमेरिकाले इरानविरुद्ध आफू र इजरायलले गरेको युद्धको आर्थिक प्रभाव कम पार्ने उद्देश्यले अन्य देशलाई रुसी इन्धन किन्ने अनुमति दिने निर्णय गरेको हो ।

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टका अनुसार युद्धका बेला ‘विश्वको ऊर्जा बजारमा स्थिरता’ कायम राख्न अस्थायी उपायस्वरूप उक्त निर्णय लिइएको हो।

अमेरिकाले समुद्रमा रहेका रूसी पानीजहाजमा भरिएको तेल मात्र किन्न पाउने गरी रुसी तेल किन्न नपाउने प्रतिबन्ध एप्रिल ११ सम्मका लागि फुकुवा गरेको हो ।

'यो तत्कालीन उपाय ’ट्रान्जिट’मा भएको तेलका लागि मात्र हो र यसबाट रुस सरकारलाई खासै आर्थिक लाभ पुग्दैन', बेसन्टले भने।

रुसले अहिले झन्डै १० करोड ब्यारल तेल ट्रान्जिटमा भएको बताएको छ।

खाडीमा कम्तीमा थप तीनवटा तेलवाहक पानीजहाज आक्रमणमा परेपछि बिहीवार विश्व बजारमा तेलको मूल्य फेरि प्रतिब्यारल १०० डलर नाघेको थियो।

तेल ढुवानी गर्न प्रयोग हुने जलमार्गमा इरानले अवरोध सिर्जना गर्दै र मालवाहक पानीजहाजहरूमा आक्रमण गर्दै आएको छ। खाडीमा तेल उत्पादन गर्ने स्थलहरू पनि आक्रमणको निसानामा परेका छन्।

इरानका नवनियुक्त सर्वोच्च नेता मुज्तबा खामेनीले तेल ढुवानी गर्न प्रयोग गरिने एउटा मुख्य मार्ग ‘स्ट्रेट अप हर्मुज’मा अवरोध गरिराख्ने उद्घघोष गरेको एक दिनपछि अमेरिकाले रूसी इन्धनमा लगाएको प्रतिबनध अस्थायीरूपमा फुकुवा गरेको हो। 

उक्त साँघुरो जलमार्ग हुँदै विश्वभरि प्रयोग गरिने झन्डै २० प्रतिशत तेल निर्यात हुन्छ ।

युद्धका कारण तेलवाहक पानीजहाजहरू खाडीमा अलपत्र परेका छन्। तिनले इरान र ओमानका बीच रहेको साँघुरो जलमार्ग छिचोल्न नसकेपछि तेल आपूर्ति प्रभावित भएको छ।

बेसन्टले हाल तेलको मूल्यवृद्धि भए पनि त्यसबाट अमेरिका र अमेरिकी अर्थतन्त्रलाई दीर्घकालीन लाभ हुने तर्क गरेका थिए।

बुधबार अमेरिकाले १७.२ करोड लिटर तेल आफ्नो रणनीतिक भण्डारबाट प्रयोग गर्ने घोषणा गरेको थियो।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आर्थिक दूत किरिल दिमित्रिएभले रुसी तेलबिना ‘विश्वको ऊर्जाबजार स्थिर हुन नसक्ने’ बताएका छन्। 

'अमेरिका वास्तविक कुरा बुझ्दै छ । रुसी तेलबिना विश्वको ऊर्जाबजार स्थिर हुन सक्दैन,' उनले टेलिग्राममा लेखेका छन्। 

यद्यपि भ्रष्टाचारको आरोप लागेका वरिष्ठ रुसी अधिकारीहरूमाथि प्रतिबन्ध लगाउनुपर्ने पक्षमा अभियान चलाएका लगानीकर्ता बिल ब्राउडरले रुसी तेल किन्ने अनुमति दिने निर्णयलाई ‘भयानक’ गलत निर्णयको संज्ञा दिएकेा बीबीसीले जनाएको छ । 

युक्रेनले अमेरिकाको निर्णयबारे कुनै प्रतिक्रिया व्यक्त गरिसकेको छैन। तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिबन्ध खुकुलो बनाइए त्यो युक्रेनका लागि ‘गम्भीर प्रहार’ र रुसका लागि थप हतियार किन्न पाउने गरी दिइने ‘सुविधा’ हुने बताएका थिए । 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ‘स्ट्रेट अफ हर्मुज’ बन्द हुँदैमा रुसी प्रतिबन्ध हटाउनु कुनै तरिकाले पनि न्यायोचित नभएको टिप्पणी गरेका छन्।

रासस

Link copied successfully