लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

राष्ट्रसंघको सहायता कार्यक्रमबाट लेबनानमा झण्डै १० लाख मानिस लाभान्वित हुने अपेक्षा

फाल्गुन ३०, २०८२

कान्तिपुर संवाददाता

UN concerned about growing humanitarian crisis in Lebanon

काठमाडौँ — संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका लागि तत्काल सहायता उपलब्ध गराउन तथा मानवीय राहत सामग्री सुरक्षित रूपमा पार गर्न अनुमति दिन अपिल गरेका छन् ।

अचानक गरिएको लेबनान भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दक्षिणी लेबनानमा भएका इजरायली आक्रमणका पीडितका लागि ३० करोड ८३ लाख अमेरिकी डलर बराबरको तीन महिनाको आपतकालीन सहायता अपिल घोषणा  गरेका छन् । यो जानकारी महासचिवका मुख्य प्रवक्ता स्टेफान दुजारिकले दिए । 

उनले सहायता कार्यक्रमबाट झण्डै १० लाख मानिस लाभान्वित हुने अपेक्षा गरिएको बताए । यसमा युद्धको प्रत्यक्ष मारमा परेका लेबनानी नागरिक, विस्थापित सिरियाली, लेबनानका प्यालेस्टिनी शरणार्थी, सिरियाबाट आएका प्यालेस्टिनी शरणार्थी तथा आप्रवासीहरू समावेश छन् ।

महासचिव गुटेरेसले क्षेत्रीय द्वन्द्वका कारण सर्वसाधारणले भोगिरहेको पीडा अन्त्य गर्न दुवै पक्षलाई तुरुन्त युद्धविराम गर्न पनि आग्रह गरे । लेबनान भ्रमणका क्रममा उनले राष्ट्रपति जोसेफ औन, संसद् सभामुख नबिह बेरी र प्रधानमन्त्री नवाफ सलामसँग भेटवार्ता गरेका छन् । 

यसैबीच संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले मानवीय राहत सामग्री बोक्ने जहाजहरूलाई अवरोधबिना सुरक्षित मार्ग उपलब्ध गराउन तत्काल अपिल गरे ।

संयुक्त राष्ट्रसङ्घका निकायहरूले उक्त समुद्री मार्गलाई विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मार्ग भएको बताएका छन् । 

कान्तिपुर

Link copied successfully