पश्चिम एशियाका देशहरूको रक्षाका लागि अस्ट्रेलियाले मिसाइल पठाउँदै 

‘मेरो सरकार स्पष्ट छः हामी इरानविरुद्ध आक्रमणकारी कारबाही गरिरहेका छैनौँ र हामी इरानी भूभागमा जमिनबाट अस्ट्रेलियन सैनिक पठाइरहेका छैनौँ,’ अल्बानेजले भने ।

फाल्गुन २६, २०८२

कान्तिपुर संवाददाता

Australia sending missiles to defend West Asian countries

काठमाडौँ — अस्ट्रेलियाले युएईलाई अत्याधुनिक फाइटर जेट र एयर–टु–एयर मिसाइल पठाउने भएको छ । इरानको सम्भावित आक्रमणबाट पश्चिम एशियाका देशहरुलाई जोगाउनका लागि युएईलाई अस्ट्रेलियाले सहयोग गर्न लागेको हो । 

अस्ट्रेलियाको सैन्य सहयोग आत्मरक्षाका लागि गरेको पनि उनले स्पष्ट पारे । 

‘मेरो सरकार स्पष्ट छः हामी इरानविरुद्ध आक्रमणकारी कारबाही गरिरहेका छैनौँ र हामी इरानी भूभागमा जमिनबाट अस्ट्रेलियन सैनिक पठाइरहेका छैनौँ,’ उनले भने ।

अमेरिका–इजरायल आक्रमणको जवाफमा इरानले पश्चिम एशिया क्षेत्रका आफ्ना छिमेकीमाथि निशाना साँध्दैं आएको छ । यसअघि युएइका विदेशमन्त्री शेख अब्दुल्लाह बिद जायेदले थप आक्रमण नगर्न इरानलाई चेतावनी दिएका थिए । उनले थप आक्रमण भएमा प्रत्याक्रमण गरिने बताएका छन् । 

अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानेजले पश्चिम एशियामा चलिरहेको द्वन्द्वको मारमा साइप्रसदेखि खाडीसम्मका १२ देश परेको बताए । उनले ती देशहरुको आत्मरक्षाका लागि सैन्य सामाग्री पठाउन लागिएको बताए । 

अल्बानेजले पश्चिम एशियामा बसोबास गर्ने १ लाख १५,००० अस्ट्रेलियन नागरिक (जसमध्ये २४,००० युएईमा) को सुरक्षालाई प्राथमिकतामा राखिएको बताए । ‘अस्ट्रेलियाली जनतालाई जोगाउनु भनेकै युएई र अन्य खाडी राष्ट्रलाई आत्मरक्षाका लागि सहयोग गर्नु हो ।’ 

उनले एक साताको अवधिमा २६ सय अस्ट्रेलियन नागरिक पश्चिम एशियाबाट फर्किएको बताए । अस्ट्रेलियाको विपक्षी ग्रिन्स पार्टीले प्रधानमन्त्री अल्बानेजको घोषणाको विरोध गरेको छ । अल्बानेजको निर्णयले अमेरिकी नेतृत्वको अर्को अन्त्यहिन युद्धमा अस्ट्रेलियालाई धकेल्ने जोखिम रहेको यस पार्टीको आरोप छ । 

ग्रिन्सकी सिनेटर लारिसा वाटर्सले सरकारको घोषणासँगै  अस्ट्रेलियनहरुको जोखिममा पर्ने चिन्ता व्यक्त गरिन् । उनले अस्ट्रेलियनहरू ट्रम्प र नेतन्याहूको अवैध इरान युद्धमा तानिन नचाहेको बताइन् ।

कान्तिपुर

Link copied successfully