अमेरिका र युरोपमा इरान युद्धको विरोध

बर्लिन, स्टकहोम, पेरिस, लण्डनलगायत युरोपका विभिन्न शहरमा प्रदर्शन भएको छ

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Opposition to Iran war in America and Europe

काठमाडौँ — अमेरिका–इरान युद्धको विरोधमा अमेरिकासहित विश्वका विभिन्न देशमा प्रदर्शन भएको छ ।

न्युयोर्कको म्यानहट्टनमा जम्मा भएका प्रदर्शनकारीहरुले विदेशी द्वन्द्वमा फस्नुको साटो ह्वाइटहाउसले अमेरिकीहरुको जनजीवनलाई उकास्न ध्यान दिनुपर्ने माग गरे । उनीहरुले नारा लगाएका थिए, ‘इरानमा युद्ध नगरौं । पैसा मानिसको आवश्यकताका लािग हो, युद्धका लागि होइन ।’

नेशनल इरानी–अमेरिकी परिषद्का व्यवस्थापक इतान माबोराकले सीएनएनसँग इरानमाथिको आक्रमणले इरानी–अमेरिकी समुदाय वाक्कदिक्क भएको बताए । उनले यो युद्धको अन्त्य पनि नदेखिएको बताए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले  युद्ध नगर्ने आफ्नो पूर्व अडान तोडेको पनि उनले बताए । आन्दोलनमा सहभागी भएकाहरुले शासन परिवर्तन इरानी नागरिकको अधिकारको विषय भएकाले त्यसमा हस्तक्षेप गर्न नमिल्ने बताए । लस एन्जलसमा पनि युद्ध रोक्न माग गर्दै प्रदर्शन भएको छ ।

क्यानेडाको टोरोन्टोमा शनिबार इरानी राजावादी र इस्लामिक सत्ताका पक्षधरहरुले बेग्ला–बेग्लै प्रदर्शन गरे । युरोपमा भएका प्रदर्शनमा राजावादी र इस्लामिक सत्ताका पक्षधर दुबैको उपस्थिती थियो । उनीहरुको साझा माग युद्ध अन्त्य थियो । 

बर्लिन, स्टकहोम, पेरिस, लण्डनलगायत युरोपका विभिन्न शहरमा प्रदर्शन भएको हो । लन्डनमा, मानिसहरूले युद्धको विरुद्धमा प्रदर्शन गरे भने केहीले युद्ध मारिएका ईरानी सर्वोच्च नेता आयतुल्लाह खोमेनेइको समर्थनमा मार्च गरे ।

बर्लिन, स्टकहोम र पेरिसमा प्रदर्शनमा उत्रिएकाहरुले इरानको राजतन्त्रकालीन झन्डा बोकेका थिए । उनीहरुले पूर्व राजकुमार मोहम्मद रेजा पहल्वीलाई राजा घोषणा गर्नुपर्ने माग गरे । 

सबै प्रदर्शनकारीहरुले युद्ध अन्त्य गर्नुपर्ने माग गरेका थिए । लण्डनमा झन्डै ५ हजारदेखि ६ हजार मानिसहरु भेला भएका थिए । 

पेरिसमा दुई प्रदर्शनहरू भए । एकथरीले संक्रमणकालको नेतृत्व गर्न पहल्वीलाई आग्रह गरेका थिए । उनीहरुले इस्लामिक सत्ताले गरेको दमनका कारण इरानमा संकट निम्तिएको दाबी गरे ।

अर्कोथरीले इस्लामिक गणतन्त्रमाथि अमेरिका र इजरायलले गरेको हस्तक्षेप र आक्रमणको निन्दा गरे । 

‘म क्रान्तिको आह्वान गर्ने पहलवीलाई समर्थन गर्छु,’ ३५ वर्षीय विद्यार्थी मसूद घानाटियनले दक्षिणी पेरिसमा आयोजित विरोध प्रदर्शनमा भने । यस प्रदर्शनका सहभागीहरुले पहल्वीको तस्बिर बोकेका थिए । उनीहरुको हातमा अमेरिका– इजरायली र क्रान्तिपूर्व इरानको झण्डा फहराएका थिए ।

तर ‘फ्री इरान’ लेखिएको पहेंलो भेस्ट लगाएका प्रदर्शनकारीहरूले आफ्नो हातमा ‘नो शाह, नो मुल्ला’ लेखिएको स्टिकरहरू बोकेका थिए । 

स्टकहोममा पनि सयौं पहल्वी समर्थक प्रदर्शनकारीहरू भेला भए । एम्स्टरड्याममा पनि प्रदर्शन भयो । बेलायतमा युद्ध विरोधी प्रदर्शनकारीहरू इङ्गल्याण्डको दक्षिण–पश्चिमी क्षेत्र फेयरफोर्डस्थित वायुसेनाको अखडाको गेटअगाडि भेला भए ।  उनीहरूले अमेरिका र इजरायललाई इरानमा आक्रमण नगर्न आग्रह गरे ।

बेलायतले इरानमाथिको आक्रमणका दौरान रक्षात्मक प्रयोजनका लागि बेलायतलाई यस अखडा प्रयोग गर्न दिने निर्णय गरिसकेको छ । युद्धमा बेलायतको प्रवेशको पनि प्रदर्शनकारीले विरोध गरे । 

अमेरिका र विश्वभर विरोध प्रदर्शन चलिरहेका बेला ट्रम्प भने युद्धलाई थप रफ्तार दिने दाबी गरिरहेका छन् । उनले अमेरिकाले इरानमा निकै ठूलो सफलता हासिल गरेको दाबी गरे । त्यस्तै, आगामी दिनमा इरानमाथि धेरै कडा प्रहार गरिने पनि बताएका छन् । त्यसैगरी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको वायु सेनाका लगभग सबै अखडा पूर्णत ध्वस्त भइसकेको दाबी गरे ।

उनले तेहरानका ठूला तेल भण्डार र प्रशोधन पूर्वाधारमा आक्रमण गरिएको बताए । उता, इरानका विदेशमन्त्री अब्बास अराग्चीले ट्रम्पले इरानको क्षमता र मनसायलाई गलत तरिकाले बुझेको आरोप आरोप लगाए । उनले अमेरिकासँगको तनाव कम गर्ने इरानको इच्छाशक्तिलाई ट्रम्प आफैं समाप्त गरेको बताए । त्यस्तै, इरानका शीर्ष नेता अली लारिजानीले अमेरिकाले युद्धको मुल्य चर्को चुकाउनुपर्ने दाबी गरे । 

कान्तिपुर

Link copied successfully