इजरायल-अमेरिकासँग भिडिरहेको इरानसँग कस्ता हतियार छन् ?

सेजिल र शाहब–३ मिसाइलले इजरायलमात्रै नभएर युरोपका केही क्षेत्रमा पनि मार हान्नसक्ने इरानी सैन्य अधिकारीहरुको दाबी छ ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

What weapons does Iran, which is at war with Israel and America, have?

काठमाडौँ — पछिल्ला एक सातादेखि इरानले अमेरिका-इजरायलसँग लगातार लडिरहेको छ । विश्वकै सबैभन्दा शक्तिशाली सेना भएको अमेरिका र विश्वका अत्याधुनिक सेना र हतियारबाट सुसज्जित देशमध्येको एक इजरायलसँग लड्न सहज पक्कै पनि छैन ।

अमेरिका-इजरायलले लगातार इरानका सैन्य पूर्वाधारमा आक्रमण गरिरहेका छन् । युद्ध सुरु भएको पहिले दिन नै सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइसहित धेरै वरिष्ठ नेताहरु  मारिएका थिए ।

त्यसयता इरानले पश्चिम एशियामा अमेरिकाका सहयोगी देश र इजरायलमा प्रत्याक्रमण गरिरहेको छ । तर इरानको मिसाइल आक्रमण यतिमै सिमित छैन ।

युरोपको अजरबैजान, साइप्रस नजिकैको बेलायती सैन्य अखडा, टर्कीलगायत देशमा पनि उसले निशाना साँध्ने प्रयास गरेको थियो, तर इरानी ड्रोनलाई ती देशहरुले खसालिदिएको दाबी गरेका छन् । 

इरानी जलसेनाका धेरै जहाजहरु पछिल्लो समय अमेरिकी आक्रमणमा परेर ध्वस्त वा क्षतिग्रस्त छन् । जलसेनाको मुख्यालयमा पनि अमेरिकाले आक्रमण गरेको छ । त्यहीकारण इरानले विशेषगरी मिसाइल आक्रमणमा ध्यान केन्द्रीत गरेको छ । 

इरानसँग २,००० किलोमिटर देखि २,५०० किलोमिटरसम्म मार हान्नसक्ने लामो दूरीका ब्यालेस्टिक मिसाइलहरु छन् । जसको अर्थ यी क्षेप्यास्त्रहरु मध्यपश्चिमका देश र इजरायलसम्म सहजै पुग्नसक्छन् ।

इरानले पश्चिम एशियामा युएई, साउदी अरेबिया, कतार, बहराइनलगायत अमेरिकाका सहयोगी देशमाथि आक्रमण पनि गरेको छ । ती देशहरुले इरानी मिसाइललाई खसालिएको दाबी लगातार गर्दै आएका छन् । 

इरानसँग रहेका छोटो दूराका ब्यालेस्टिक मिसाइलहरुले झन्डै १ सय ५० किलोमिटर देखि ८ सय किलोमिटरसम्म यात्रा गर्नसक्छन् । नजिकैको सैनिक आक्रमण तथा क्षेत्रीय युद्धलाई लक्षित गरेर यी मिसाइलहरु निर्माण गरिएको थियो ।

छोटो दूरीका मिसाइलहरुमा जोल्फाघर, कियाम–१ र वल्ड शाहब पर्छन् । छोटो दुरीका यी मिसाइलले द्रूत गतिमा तत्कालै प्रतिक्रिया दिनसक्छन् । 

जनवरी २०२० मा अमेरिकाले आफ्ना जनरल कासिम सुलेमानीको हत्या गरेपछि इरानले छोटो दूरीको मिसाइलमार्फत त्यसको जवाफ फर्काएको थियो । त्यसबेला इराकको ऐन अल–असद एयरबेसमा ब्यालिस्टिक मिसाइलहरू प्रहार गरिएको थियो ।

आक्रमणले अमेरिकी सैन्य पूर्वाधारलाई क्षति पुर्या‍यो । यस आक्रमणमा  १०० भन्दा बढी अमेरिकी कर्मचारीहरूलाई मस्तिष्क सम्बन्धी समस्या देखिएको थियो ।

मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रहरू १,५०० देखि २,००० किलोमिटरसम्म मार हान्नसक्ने सामथ्र्यका छन् । क्षेत्रीय युद्धलाई मध्यनजर गरेर यसलाई तयार गरिएको हो ।  शाहब–३, इमाद, गदर–१, खोरमशह  र सेजिल मिसाइल यसमा पर्छन् ।

इरानले अहिले इजरायलमा सेजिल मिसाइल प्रयोग गरिरहेको छ । सेजिल र शाहब–३ मिसाइलले इजरायलमात्रै नभएर युरोपका केही क्षेत्रमा पनि मार हान्नसक्ने इरानी सैन्य अधिकारीहरुको दाबी छ । सेजिलमा ठोस इन्धन प्रयोग हुन्छ ।

तरल–इन्धन प्रयोग हुने मिसाइलको दाँजोमा यस्ता मिसाइल निकै प्रभावकारी मानिन्छन् । यसको गति तिव्र छ । यसलाई पहिलोपटक गत जुनको १२ दिने लडाँइमा इरानले प्रयोग गरेको थियो । अहिले इजरायलमाथि मार हान्न पनि यसको व्यापक प्रयोग गरिएको छ । 

इरानसँग ठूलो संख्यामा क्रुज मिसाइलहरु पनि छन् । यी मिसाइलहरु लामो दूरीलाई आधार मानेर तयार पारिएका हुन् । सौमर मिसाइलको दायरा २,५०० किलोमिटर छ ।

क्षेप्यास्त्रहरुभन्दा ड्रोन तुलनात्मक रुपमा सस्तो मानिन्छ । तर, यसलाई ठूलो संख्यामा तैनाथ गर्न सकिन्छ । इरानसँग ठूलो सख्ंयामा अत्याधुनिक ड्रोनहरु छन् । 

इरानले आफ्नो जमिनमुनी ठूलो संख्यामा क्षेप्यास्त्रहरु गाडेर राखेको छ । तेहरान शहरमै विभिन्न क्षेत्रमा भूमिगत सुरुङ खनिएको छ । बाँकी दुनियाँ थाहा नपाउनेगरी इरानले त्यहाँबाट भूमिगत रुपमा पनि मिसाइल प्रहार गर्नसक्छ । त्यहीकारण, इजरायल–अमेरिकाको आक्रमणले तत्कालका लागि कमजोर देखिएपनि इरानले फेरि प्रत्याक्रमण गर्नसक्ने सामथ्र्य राख्छ ।

इरानको क्षेप्यास्त्र पूर्वाधारमा अमेरिका–इजरायलले लगातार आक्रमण गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका क्षेप्यास्त्रहरु सकिनै लागेको दाबी पनि गरेका छन् । तर, क्षेप्यास्त्र कार्यक्रमबारे बाँकी दुनियाँलाई निकै कम थाहा छ । 

इरानको सेनामा झन्डै ५ लाख ८० हजार सक्रिय सदस्य रहेको इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्रयाटिजिक स्टडिजको आँकलन छ । यसबाहेक, इस्लामिक रिभोलुशनरी गार्डस् र राष्ट्रिय सेनामा गरेर कुल २ लाख तालिमप्राप्त रिजर्भ सेना छन् ।

पश्चिम एशियामा इरानको सेना सबैभन्दा शक्तिशाली मानिन्छ । ग्लोबलर फायरपावरले विश्वका १ सय ४५ देशका सेनामध्ये इरानलाई १६ औं शक्तिशाली सेना मानेको छ । इरानको सत्तालाई बासिज धार्मिक मिलिसियाको पनि साथ छ । प्रायः यसलाई सरकारविरोधी प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रयोग गर्ने गरिएको थियो ।

रिभोलुशनरी गार्डस्ले कुद्स दस्ता पनि सञ्चालन गर्छ । यस दस्ताले लेबनानमा हिजबुल्लाह, यमनमा हुथी तथा इराक, सिरिया र प्यालेस्टिनी भूभाग गाजामा हमासलाई सहयोग उपलब्ध गराउँदै आएको आरोप पश्चिमा देशहरुले लगाउने गरेका छन् ।

उक्त आरोप इरानले खण्डन गर्दै आएको छ । यी लडाकुहरुले अहिले पनि इरानलाई इजरायलविरुद्धको युद्धमा साथ दिइरहेका छन् । इरानी स्थल सेनासँग १७ सय १३ वटा ट्यांक र १५ सय १७ वटा रकेट प्रोजेक्टर पनि छ । इरानसँग बलियो जलसेना पनि छ ।

तर, अमेरिकासँग लड्न जलसेनालाई मुस्किल परेको छ । जलसेनाको अखडालाई ध्वस्त पारेर हर्मुजको घाँटीलाई आफ्ना नियन्त्रणमा लिइएको दाबी अमेरिकाले गरेको छ । तर इरानले यसलाई स्विकार गरेको छैन ।  

कान्तिपुर

Link copied successfully