शुक्रबार राति ८० भन्दा धेरै वायु सेनाका फाइटर जेटहरुले इरानमा आक्रमण गरेको इजरायली डिफेन्स फोर्स (आईडिएफ) ले जनाएको छ ।
काठमाडौँ — तेहरानको मेहराबाद विमानस्थलमा इजरायलले शक्तिशाली आक्रमण गरेको छ । शनिबार बिहान सूर्योदयअघि नै इजरायलको आक्रमणपछि राजधानी तेहरानमा विस्फोटहरू सुनिएको थियो ।
त्यही क्रममा मेहराबाद विमानस्थलमा आगो लागेको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।
विमानस्थलमा आगो लागेको तस्बिर अहिले सामाजिक सञ्जालमा फैलिएको छ । सन् १९३८ देखि सञ्चालनमा आएको यो विमानस्थल तेहरान सहरको केन्द्रमा पर्छ ।
सरकारी स्वामित्वको यो विमानस्थल देशकै व्यस्त विमानस्थल रहेको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २००४ मा तेहरान नजिकै इमान खामेनेइ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि मेहराबादमा अन्तर्राष्ट्रिय उडान कटौती गरिएको थियो । तर, देशभर ठूलो संख्यामा घरेलु विमान यहाँबाट सञ्चालन हुन्छ ।
इजरायलले इरानमाथि हवाइ हमला बढाउने घोषणा गरेको केही समयमै मेहरानमा धुँवा उठेका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । यस आक्रमणबाट पुगेको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन ।
शुक्रबार राति ८० भन्दा धेरै वायु सेनाका फाइटर जेटहरुले इरानमा आक्रमण गरेको इजरायली डिफेन्स फोर्स (आईडिएफ) ले जनाएको छ ।
यसक्रममा रिभोलुशनरी गार्डस् कप्र्सको सैन्य विश्वविद्यालयसहित विभिन्न सैन्य क्षेत्रमा आक्रमण गरिएको आइडिएफले जनाएको छ ।यसक्रममा भूमिगत ब्यालेस्टिक मिसाइल केन्द्रमा पनि आक्रमणगरिएको आइडिएफको दाबी छ ।
आफ्नो देशमा इरानतर्फबाट प्रहार भएका अनेकौं मिसाइल र ड्रोन आक्रमणलाई पनि खसालिएको आइडिएफले जनाएको छ ।
अमेरिकाले इरानमाथिको आक्रमणको एक साताभित्र ३ हजारभन्दा धेरै स्थानमा प्रहार गरिएको जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको जलसेना ध्वस्त भइसकेको र वायु सेना निकै कमजोर रहेको दाबी गरेका थिए । उनले इरानसँग आत्मसमर्पणको विकल्प नरहेको दाबी गरेका थिए ।
जवाफमा, इरानका राष्ट्रपति मसाउद पेजेश्कियनले तेहरानले कहिल्यै आत्मसमर्पण नगने बताएका छन् । उनले आफ्नो छिमेकी देशहरुसँग माफी पनि मागेका छन् ।
'हाम्रो आक्रमणले छिमेकी देशहरुमा क्षति पुगेकोमा माफी माग्न चाहन्छु । छिमेकी देशहरुमाथि आक्रमण गर्ने मनसाय होइन । हामी क्षेत्रीय सहकार्य र शानितको पक्षमा छौं । हामीले सेनालाई पनि भनेका छौं, आफुमाथि आक्रमण नभएसम्म छिमेकी देशमाथि आक्रमण नगर्नु ।'
तर पेजेश्कियनको भाषणको छोटो समयमै कतारले आफ्नो देशमा इरानी मिसाइल रोक्नुपरेको बताएको छ ।
