अमेरिकाले हरेक घण्टा इरानमाथि ड्रोन तथा मिसाइल प्रहार गरिरहेको ट्रम्पको दाबी
काठमाडौँ — इरानमा अमेरिका–इजरायलले आक्रमण गरेको एक साताभित्र मध्यपूर्व क्षेत्रभर तनाव सिर्जना भएको छ ।
शुक्रबार इजरायलले तेहरानसँगै लेबनानको दक्षिणी क्षेत्र बेरुतमा पनि हवाई हमला तिव्र बनाएको छ । यस क्षेत्रलाई इरान समर्थित हिजबुल्लाह सशस्त्र समुहको आधार इलाका मानिन्छ ।
द्वन्द्व सुरु भएदेखि अमेरिका–इजरायलको आक्रमणमा इरानमा १,२०० भन्दा बढी र लेबनानमा १२० भन्दा बढीको मृत्यु भइसकेको ती देशका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । इरानको प्रत्याक्रमणबाट पश्चिम एशिया क्षेत्रका अन्य देशहरू प्रभावित भएका छन् ।
इरानले पश्चिम एशियामा अमेरिकी सैन्य पूर्वाधारहरुमात्रै नभएर तेल प्रशोधन केन्द्र, आवासीय भवन, होटल तथा सरकारी सम्पत्तिमा पनि आक्रमण गरेको छ ।
शुक्रबार बिहानै कतार, कुवेत र साउदी अरेबियाले इरानको मिसाइल र ड्रोन आक्रमणलाई प्रतिरोध गरिएको बताएका छन् । त्यस्तै बिहीबार आफ्नो देशमा इरानले ड्रोन आक्रमण गरेको आरोप अजरबैजानले लगाएको छ । यसलाई इरानले अस्विकार गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हरेक घण्टा इरानमाथि ड्रोन तथा मिसाइल प्रहार गरिरहेको बताए । इरानको जलसेना ध्वस्त भइसकेको र वायु सेना निकै कमजोर भएको उनले दाबी गरे ।
त्यसैगरी, अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले अमेरिकाले नाटकिय रुपमा आफ्नो आक्रमण बढाउने बताए । यसअघि अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का प्रमुख एडम ब्राड कुपरले अमेरिकी आक्रमणमा इरानी जलसेनाका १७ वटा जहाज ध्वस्त भएको दाबी गरेका थिए ।
‘इरानी सत्ताले वर्षौदेखि अन्तर्राष्ट्रिय आवागमनलाई अवरोध सिर्जना गर्यो । अहिले अरेबियन खाडी र हर्मुजको घाँटीमा कुनै पनि इरानी जहाज छैन र हामी आक्रमण जारी राख्छौं,’ कुपरले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
अमेरिकाले इरानी जलसेनाका प्रमुख अखडाहरुमा बम खसालेपछि त्यहाँ रहेका जहाजहरु क्षतिग्रस्त भएका छन् ।
यसअघि गत बुधबार एक इरानी जहाज श्रीलंकाको जल क्षेत्रनजिक दुर्घटनामा पर्दा कम्तिमा ८७ जनाको मृत्यु भएको थियो । त्यस्तै ३२ जना घाइते भएका थिए ।
उक्त जहाजमा भएको आक्रमणको जिम्मा अमेरिकाले लिएको छ । अमेरिकाले उक्त जहाजमा आफ्नो पनडब्बुबाट टोर्पेडो प्रहार गरिएको जनाएको छ । शुक्रबार अर्को एक इरानी जहाज श्रीलंकाको जलक्षेत्रमा आएका थियो ।
एउटा इन्जिन बिग्रिएको यस जहाजलाई श्रीलंकाले आफ्नो बन्दरगाहमा राखेको छ । त्यस्तै, जहाजका २ सय ८ सदस्यलाई उद्धार गरिएको छ । श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेले डुंगामा रहेका झन्डै २ सय ८ जनालाई उद्धार गरिएको बताएका छन् । उनले मानवताको रक्षार्थ श्रीलंका सधैं तयार रहेको बताए ।
इरानको रिभोलुशनरी गार्डस्ले यसअघि युएसएस अब्राहम लिंकन युद्धपोतलाई ड्रोन र मिसाइल हमला गरेर ध्वस्त गर्ने धम्की दिएको थियो । तर, अहिले इरानी जलसेनाका २० वटा जहाज पानीमा डुबिसकेका छन् ।
त्यस्तै, इरानको वायु सेना पनि निकै कमजोर भएको दाबी गल्फ न्युजले गरेको छ । इरानले यस अवधिमा ७ सय ३५ वटा ब्यालेस्टिक मिसाइल्स, २५ क्रुज मिसाइल्स तथा १७ सय ४५ पटक ड्रोन आक्रमण गरेको छ ।
यी सबै आक्रमण इजरायल, युएइ, कतार, कुवेत, बहराइन, साउदी अरेबिया ओमान र पश्चिम एशियाभर रहेका अमेरिकी सैन्य पूर्वाधार लक्षित छन् । तर, अधिकांश मिसाइल्स र ड्रोनलाई मध्यपूर्वका देशहरुले निशानामा पुग्नुअघि नै खसालेका छन् ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम)ले युद्धमा धेरै नयाँ हतियारहरु प्रयोग भइरहेको जनाएको छ । बिहीबारसम्म आइपुग्दा इरानको ब्यालिस्टिक मिसाइल आक्रमण ९०% ले र ड्रोन आक्रमण ८३% ले घटेको अमेरिकी केन्द्रीय कमान्डको दाबी छ ।
युद्ध लम्बिदैं गएसँगै फ्रान्स र बेलायतले पनि अमेरिकालाई रक्षात्मक सहयोगका लागि आफ्ना एयर वेस प्रयोग गर्न दिने घोषणा गरेका छन् । जबकी, एक साताअघि युद्ध सुरु हुँदा उनीहरु दुबैले अमेरिकी आक्रमणको निन्दा गरेका थिए ।
२८ फेब्रुअरीयता मध्यपूर्वका १० देशमा ११ हजारभन्दा धेरै उडान स्थगित भएको फ्लाइट राडार २४ को तथ्याङ्कले देखाएको छ । विश्वका २९१ गन्तव्यहरूलाई जोड्ने विश्वको सबैभन्दा व्यस्त ट्रान्जिटमध्येको एक दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा द्वन्द्व सुरु भएयता ८७ प्रतिशत उडान कटौती भएका छन् ।
कतार, साउदी, बहराइन र ओमान पनि ठूलो संख्यामा उडान स्थगित भएका छन् । अहिलेसम्म सिमित मात्रामा उद्धार उडानमात्रै सञ्चालन गरिएको छ ।
नेतृत्वविहिन इरान , नयाँ नेता चयनमा ट्रम्पको चासो
इजरायल–अमेरिका आक्रमणको पहिलो दिन नै सर्वोच्च नेता आयतुल्लाह खामेनेइ, रिभोलुसनशरी गार्ड्स प्रमख मोहम्मद पाकपोरसहित ४९ जना नेताहरु मारिएका थिए । सर्वोच्च नेताको निवासमा बैठक चलिरहदाँ अमेरिका–इजरायलले बम आक्रमण गरेका थिए ।
उनीहरुले सिआईएमार्फत बैठकको सुचना प्राप्त गरेका थिए । यस घटनापछि इरानले अझै पनि सर्वोच्च नेता चयन गर्न सकेको छैन । राष्ट्रपति मसुद पेजेश्कियन, प्रधान न्यायाधिस र अभिभावक परिषद्का प्रतिनिधि मिलेर गठन गरिएको ३ सदस्यीय अन्तरिम नेतृत्वले नै सरकार सञ्चालन गरिरहेको छ ।
यसअघि सर्वोच्च नेताको चयन गर्ने ८८ सदस्यीय विशेषज्ञसभा भवनमा इजरायलले आक्रमण गरेपछि सभा सदस्यहरुले भर्चुअल बैठक गरेका थिए । तर, अझै पनि उनीहरुले नयाँ नेता चयन गर्न सकेका छैनन् ।
ट्रम्पले नयाँ सर्वोच्च नेता चयन गर्ने बेलामा आफु पनि संलग्न हुन चाहेको बताएका छन् । अमेरिकी आक्रमणमा मारिएका अली खामेनेइका छोरा मोज्ताबा खामेनेइ नयाँ सर्वोच्च नेताको दाबेदारका रुपमा चर्चामा छन् । तर ट्रम्पले मोज्ताबालाई नयाँ नेता स्विकार्न नसकिने बताएका छन् ।
‘उनीहरु आफ्नो समय बर्बाद गर्दैछन् । खामेनेइका छोरा हल्का छन् । म आफैं नियुक्तमा संलग्न हुनुपर्छ,’ एक्सिओससँगको कुराकानीमा ट्रम्पले भने ।
भेनेजुएलामा निकोलास मदुरोलाई गत जनवरीमा अपहरण गरेपछि उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजलाई अन्तरिम राष्ट्रपति बनाउने अदालतको निर्णयलाई अमेरिकाले समर्थन गरेको थियो । उनले इरानमा पनि अमेरिकाले त्यस्तै नेता चाहिने बताउँदै आएका छन् ।
‘हामीले त्यहाँ आक्रमण गर्यौं र त्यहाँको सरकारलाई पनि सक्रिय गरायौं । अहिले हामीसँग डेल्सी छिन् । उनी साह्रै असल छिन्,’ ट्रम्पले गत साता पत्रकारहरुसँग भनेका थिए ।
ट्रम्पले इरान युद्धको समयसीमा तोक्न नसकिने बताएका छन् । यसअघि उनले बढीमा चार सातासम्म युद्ध लम्बिने बताएका थिए । तर, अहिले युद्धको समयसीमा तोक्न नसकिने बताएका छन् ।
इरानमा हवाई आक्रमणले नै आफ्ना लक्ष्यहरु हासिल गर्न सकिने हुँदा जमिनमा सेना तैनाथ गर्नु नपर्ने उनले बताए । आणविक हतियार बनाउनबाट इरानलाई रोक्ने तथा त्यहाँको मिसाइल कार्यक्रम अन्त्य गर्ने आफ्नो योजना रहेको उनले बताए ।
