साउदी अरबले देशको सुरक्षा अवस्था पूर्णरूपमा नियन्त्रणमा रहेको र दैनिक जनजीवन सामान्य रूपमा सञ्चालन भइरहेको जनाएको छ ।
काठमाडौँ — साउदी अरबले देशको सुरक्षा अवस्था पूर्णरूपमा नियन्त्रणमा रहेको र दैनिक जनजीवन सामान्य रूपमा सञ्चालन भइरहेको जनाएको छ ।
साउदी अरबको आन्तरिक मन्त्रालयले जारी गरेको वक्तव्यमा हालका क्षेत्रीय घटनाक्रमका बाबजुद देशभर सुरक्षा अवस्था आश्वस्त पार्ने खालको रहेको उल्लेख गर्दै सबै क्षेत्रमा जनजीवन नियमित रूपमा अघि बढिरहेको जनाएको हो ।
मन्त्रालयका अनुसार देशको सुरक्षा सुदृढ बनाउन एकीकृत सुरक्षा तथा सेवा प्रणालीमार्फत सुरक्षा निकायहरू चौबीसै घण्टा सक्रिय रूपमा परिचालन भएका छन् । देशभित्र बसोबास गर्ने सबै नागरिक, आवासीय विदेशी तथा आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्न सुरक्षा संयन्त्र उच्च सतर्कतामा रहेको पनि जनाइएको छ ।
आन्तरिक मन्त्रालयले साउदी भित्रको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता रहेको दोहोर्याउँदै सर्वसाधारणलाई अफवाह वा अपुष्ट भिडियो तथा सूचना प्रसारण नगर्न आग्रह गरेको छ । साथै आधिकारिक स्रोतबाट जारी सूचनामात्र विश्वास गर्न पनि अनुरोध गरेको छ ।
