इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

डीपफेकविरुद्ध काम गर्ने कम्पनी ओपनओरिजिन्सका सह–संस्थापक एरी एबेलसनले ‘युद्धको कुहिरो’ अब ‘सूचना प्रदूषण’ मा रूपान्तरित भइरहेको बताए ।

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको छ ।

पुनःप्रयोग गरिएका पुराना तस्बिर, भिडियो गेमका दृश्यलाई क्षेप्यास्त्र आक्रमणका रूपमा प्रस्तुत गरिएको सामग्री तथा कृत्रिम बौद्धिकता (एआई) बाट बनाइएका युद्ध दृश्यहरूले सामाजिक सञ्जाल भरिएको छ ।

विश्लेषकहरूका अनुसार जमिनमा भइरहेका घटनाभन्दा छिटो फैलिने यस्ता सामग्रीले कथानकको प्रतिस्पर्धालाई तीव्र बनाएको छ ।

सप्ताहन्तमा भएको अमेरिकी र इजरायली आक्रमणले क्षेत्रीय द्वन्द्वलाई विस्तार गरेपछि सामाजिक सञ्जालमा दुवै पक्षका समर्थकहरूले आ–आफ्नो दाबीलाई बलियो बनाउन असत्य र भ्रामक सामग्री व्यापक रूपमा फैलाएका छन् ।

एएफपीका तथ्य–जाँचकर्ताहरूले संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरेबियासहित इजरायल र खाडी मुलुकहरूमा तेहरानको क्षेप्यास्त्र प्रहारबाट ठूलो क्षति भएको दाबी गर्दै पुराना भिडियोहरू पुनःप्रयोग गरिएको पत्ता लगाएका छन् । यस्ता दाबीहरू इरान समर्थक खाताबाट प्रसारित भएका थिए ।

रणनीतिक संवाद संस्थान (आइएसडी) का मुस्तफा अयादले अनलाइनमा स्पष्ट रूपमा ‘कथात्मक युद्ध’ भइरहेको बताए ।

उनका अनुसार खाडी क्षेत्रमा भएका आक्रमणलाई उचित देखाउने प्रयास होस् वा इजरायली-अमेरिकी आक्रमणको सामना गर्न इरानी सेनाको क्षमतालाई बढाइचढाइ प्रस्तुत गर्ने काम, दुवै पक्षले आफ्ना ‘शत्रु’ कमजोर देखाउने लक्ष्य राखेका छन् ।

अर्कोतर्फ, इरानी विपक्षी माध्यमहरूले एक्स र टेलिग्राममा इरानी बालिका विद्यालयमा भएको भनिएको क्षेप्यास्त्र आक्रमणलाई सरकारकै दोष भन्दै भ्रामक विवरणहरू सार्वजनिक गरेका छन् । अनुसन्धानकर्ताहरूले वरिष्ठ इरानी नेतृत्वको नामबाट नक्कली सामाजिक सञ्जाल खाता सञ्चालन भएको समेत बताएका छन् ।

यसै क्रममा भिडियो गेमका क्लिपहरूलाई इरानी मिसाइल आक्रमणको वास्तविक दृश्य भन्दै प्रचार गरिएको छ । त्यस्तै, युएसएस अब्राहम लिङ्कनजस्ता अमेरिकी युद्धपोत डुबेको देखाउने एआई–निर्मित तस्बिरहरूले लाखौँ भ्युज बटुलेका छन् ।

युक्रेन र गाजासहित अन्य विश्वव्यापी द्वन्द्वमा समेत यस्तै रणनीति अपनाइएको देखिएको छ । अयादका अनुसार यस्ता सामग्रीको गति र फैलावट नै सबैभन्दा चिन्ताजनक पक्ष हो, जसले लक्ष्यबद्ध आक्रमण र हताहत सङ्ख्याबारे व्यापक भ्रम सिर्जना गर्छ । 

डीपफेकविरुद्ध काम गर्ने कम्पनी ओपनओरिजिन्सका सह–संस्थापक एरी एबेलसनले ‘युद्धको कुहिरो’ अब ‘सूचना प्रदूषण’ मा रूपान्तरित भइरहेको बताए ।

उनका अनुसार एआई–निर्मित सामग्रीले सूचना वातावरणमा अनन्त हल्ला सिर्जना गरिरहेको छ र विश्वव्यापी प्रभाव पार्ने द्वन्द्वका बेला मिडिया प्रणाली कसरी बदलिँदैछ भन्ने बुझ्नु आवश्यक छ ।

न्युजगार्डको अध्ययनले गुगलको रिभर्स–इमेज उपकरणले मध्यपूर्व द्वन्द्वसँग जोडिएका बनावटी तस्बिरबारे गलत एआई–सारांश उत्पादन गरेको देखाएको छ ।

यसले तस्बिरको प्रामाणिकता पुष्टि गर्न प्रयोग हुने प्रणालीमै कमजोरी रहेको सङ्केत गरेको संस्थाले जनाएको छ । गुगलले यस विषयमा तत्काल प्रतिक्रिया दिएको छैन ।

शनिबार संयुक्त राज्य अमेरिका र इजरायलले  इरानमाथि आक्रमण सुरु गरेका थिए । यस युद्धमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएका छन् ।

त्यसयता इरानले मध्यपूर्वमा आफ्नो क्षेप्यास्त्र र ड्रोन आक्रमण विस्तार गरेको छ भने अमेरिका र इजरायलले तेहरानभित्रका प्रमुख संरचना ध्वस्त पारेका छन् । यही सैन्य भिडन्तसँगै डिजिटल क्षेत्रमा फैलिएको भ्रामक सामग्रीले युद्धको स्वरूपलाई थप जटिल बनाएको छ ।

कान्तिपुर

Link copied successfully