अमेरिकी आक्रमणमा ऐतिहासिक गोलेस्तान दरबारमा क्षति, युनेस्कोद्वारा चिन्ता व्यक्त 

सांस्कृतिक सम्पत्ति अन्तर्राष्ट्रिय कानून अन्तर्गत संरक्षित रहेको पनि युनेस्कोले स्मरण गराएको छ

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

UNESCO expresses concern over damage to historic Golestan Palace in US attack

काठमाडौँ — तेहरानमा अमेरिकी-इजरायली हवाई आक्रमणपछि गोलेस्तान दरबार क्षतिग्रस्त बनेको छ ।

इरानको मेहर समाचार एजेन्सीका अनुसार सोमबार नजिकैको आर्ग आक्रमणमा परेपछि त्यहाँको भग्नावशेष आएर गोलेस्तान दरबारको झ्याल, ढोका र ऐनामा क्षति पुग्यो । 

संयुक्त राष्ट्रसंघको संस्कृति तथा पुरातत्व हेर्ने निकाय युनेस्कोले मध्य पूर्वमा बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गरेको छ। युनेस्कोले इरानमा अमेरिका-इजरायली बमबारीपछि मध्य पूर्वका धेरै सम्पदा स्थलहरूमा हुनसक्ने क्षतिप्रति चिन्ता व्यक्त गरेको छ।

युनेस्कोका अनुसार , गोलस्तान दरबार तेहरानको ऐतिहासिक केन्द्रको मुटुमा अवस्थित छ । यो पर्खालले घेरिएको दरबार शहरको सबैभन्दा पुरानो परिसरहरू मध्ये एक हो।

'१७७९ मा तेहरानलाई देशको राजधानी बनाएका काजार परिवारले यसलाई सरकारको केन्द्रको रूपमा रोजेका थिए,' युनेस्कोको वेबसाइटमा उल्लेख छ । १९ औं शताब्दीमा यसलाई थप सजावट गरेर भव्य बनाइएको थियो । 

यस दरबारलाई पछिल्लो समय संग्रहालयका रूपमा प्रयोग गरिएको छ । युनेस्कोले विश्व सम्पदा सूचीमा रहेका स्थलहरूमा आक्रमण नगर्न दुबै पक्षलाई आग्रह गरेको छ । सांस्कृतिक सम्पत्ति अन्तर्राष्ट्रिय कानून अन्तर्गत संरक्षित रहेको पनि युनेस्कोले स्मरण गराएको छ । 

कान्तिपुर

Link copied successfully