अमेरिकी गुप्तचर विभागले इरानलाई अन्तरमहादेशिय ब्यालेस्टिक मिसाइल बनाउन कम्तिमा एक दशक लाग्ने निष्कर्ष निकालेको थियो
काठमाडौँ — संयुक्त राष्ट्रसंघको आणविक पर्यवेक्षक निकायले अमेरिका–इजरायलको आक्रमणमा इरानका कुनै पनि आणविक पूर्वाधारमा क्षति पुगेको संकेत नदेखिएको जनाएको छ ।
अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सी (आईएईए) का अध्यक्ष राफेल ग्रोसीले भने,‘इरानमा कुनै पनि आणविक पूर्वाधार क्षतिग्रस्त भएको वा निशानामा परेको संकेत हामीले पाएका छैनौैं । बुसेहर आणविक उर्जा केन्द्र, तेहरान अनुसन्धान रियाक्टर वा अन्य कुनै पनि पूर्वाधारमा क्षति पुगेको संकेत भेटिएको छैन ।’
यसअघि आईएईएका लागि इरानका दूतले इरानका प्रमुख तीन आणविक पूर्वाधारमध्ये एक नातान्जमा आइतबार आक्रमण भएको बताएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्भावित आणविक चुनौतीका कारण युद्ध सुरु गर्नुपरेको दाबी गरेका छन् । तर, यो विषय अमेरिकी गुप्तचर विभागको अनुसन्धानसँग मिल्दैन । गुप्तचर विभागले इरानलाई अन्तरमहादेशिय ब्यालेस्टिक मिसाइल बनाउन कम्तिमा एक दशक लाग्ने निष्कर्ष निकालेको थियो ।
