अमेरिका-इरान युद्ध, अहिलेसम्म के भयो ? कति मारिए ?

अमेरिका–इजरायल आक्रमणका क्रममा इरानमा कम्तिमा २ सय १ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

US-Iran war, what has happened so far? How many have been killed?

What you should know

काठमाडौँ — अमेरिका–इजरायलले गरेको संयुक्त आक्रमणको जवाफमा इरानले मध्यपूर्व क्षेत्रका विभिन्न शहरमा आक्रमण गरेको छ । आइतबार बिहान युएइको दुबई, बहराइनको राजधानी मानामा र कतारको राजधानी दोहामा बिस्फोटको आवाज सुनिएको थियो । 

दोहामा प्रत्यक्षदर्शीहरुले ठूलो बिस्फोट र धुवाँको मुस्लो देखिएको बताएका छन् । बहराइनको राजधानी मानामामा चारपटक ठूलो बिस्फोटको आवाज सुनिएको छ । तर  क्षतिको विवरण आएको छैन । 

यसअघि आक्रमणको पहिलो दिन इरानले अमेरिकाका सैन्य अखडाहरुलाई मात्रै लक्षित गरेको थियो । तर, दोस्रो दिन विभिन्न शहरका सपिङ मल, होटल, पब तथा सार्वजनिक क्षेत्रलाई पनि निशाना बनाएको हो । पहिलो दिन ओमानबाहेक खाडी समन्वय परिषद् (जिसीसी) सदस्य अन्य सबै राष्ट्रमा आक्रमण भएको थियो । तर, दोस्रो दिन ओमानको दुकम बन्दगाहमा पनि आक्रमण भएको छ । ओमानले यस कदमको निन्दा गरेको छ । यसअघि अमेरिका–इरानबीचका प्रत्यक्ष तीन वार्ताको मध्यस्थता ओमानले गरेको थियो । 

इरानको रक्षा मन्त्रालयले शनिबार १ सय ३७ वटा मिसाइल र २ सय ९ वटा ड्रोन युएईमा प्रहार गरिएको दाबी गरेको छ । दुबईका दुई ठूला भवन पाम जुमेरा र बुज्र अल अरबमा पनि धुवाँको मुस्लो देखिएको छ । त्यसैगरी इजजरायलले शनिबार एकै दिन १२ सयभन्दा धेरै बम खसालेको दाबी गरेको छ । 

अबुधावीको विमानस्थलमा इरानको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने सात अन्य घाइते भएका छन् । अमेरिका- इजरायली आक्रमणका क्रममा इरानमा कम्तिमा २ सय १ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ । यसमा  मिनाबस्थित छात्रा प्राथमिक विद्यालयमा मृत्यु भएका १ सय ४८ छात्राको संख्या समावेश छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले मध्यपूर्वमा रहेका २७ वटा अमेरिकी अखडामा आक्रमण गरिएको जनाएको छ । इजरायली सेनाको तेल अभिभस्थित मुख्यालय हाकिर्या र सुरक्षा उद्योग कम्प्लेक्समा आक्रमण गरिएको इरानको दाबी छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्याक्रमणमा नउत्रन इरानलाई चेतावनी दिएका छन् । ‘उनीहरु प्रत्याक्रमणमा नउत्रनु राम्रो हुन्छ । यदी उत्रिए भने हामी उनीहरुलाई बलपूर्वक प्रहार गर्नेछौं । त्यस्तो शक्तिशाली प्रहार, जसलाई पहिले कसैले देखेको छैन ।’

आयतुल्लाहको मृत्यमा कतै शोक, कतै खुसी 

इरानले  सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइको निधनमा ४० दिन शोक बिदा दिएको छ । अमेरिका–इजरायल आक्रमणमा परेर शनिबार उनको मृत्यु भएको थियो । स्थानीय समयअनुसार बिहान ९ः४० मा सर्वोच्च नेताको निवासमा अमेरिका र इजरायलले आक्रमण गरेका थिए ।

केही दिनदेखि सार्वजनिक रुपमा नदेखिएका आयतोल्लाह त्यहाँ बैठकका लागि आउने सुचना सिआईएले पहिल्यै पाइसकेको थियो । रिभोलुशनरी गार्डस्का कमाण्डर इन चिफ मोहम्मद पकपुर, रक्षामन्त्री अजिज नासिरजादेह, सैन्य परिषद् प्रमुख अली शमखानी, रिभोलुशनरी गार्डस्का वायुसेना कमाण्ड सैइयद माजिद मुसावी, सहायक गुप्तचर मन्त्री माहेम्मद शिराजीलगायत वरिष्ठ व्यक्तिहरु बैठकका लागि आएका थिए ।

उनीहरु सबै मारिएका छन् । इजरायली सेनाले सर्वोच्च नेताको निवासमा ३० वटा बम खसालिएको दाबी गरेको छ ।  आक्रमणमा खामेनेईकी छोरी, ज्वाँइ र नाति पनि मारिएको इरानको समाचार एजेन्सी तस्मिनले जनाएको छ । 

ईरानको संविधानअनुसार विज्ञहरुको भेलाले सर्वोच्च नेता चयन गर्छ । यस भेलामा सर्वसाधारणले प्रत्येक ८ वर्षमा ८८ जना धर्मगुरु चयन गर्छन् । सिया कानुनी प्रणालीको गहिरो ज्ञान भएको , राजनीतिक क्षमता, साहस र प्रशासनिक क्षमता भएको व्यक्ति सर्वोच्च नेता हुने संविधानमा उल्लेख छ ।

इरानको संविधानको धारा १ सय ११ ले नयाँ सर्वोच्च नेता चयन नभएसम्मका लागि अस्थायी आयोगले जिम्मेवारी सम्हाल्ने व्यवस्था गरेको छ । यस आयोगमा राष्ट्रपति मसुद पेजेश्कियन, सर्वोच्च अदालतका प्रधान न्यायाधिस गोलम हुसैन मोसेनी र अभिभावकीय आयोगका एक धर्मगुरु सदस्य रहन्छन् ।

अभिभावकीय आयोगको रिक्त स्थानमा शनिबार अयातुल्लाह अलीरेजा आफ्रीलाई सदस्य नियुक्त गरिएको छ ।  भेलाले औपचारिक रुपमा नयाँ नेता चयन नगरेसम्म यी तीन व्यक्तिले देशको नेतृत्व गर्नेछन् । 

ईरानका राष्ट्रपति पेजेश्कियनले अमेरिकासँग बदला लिनु आफ्नो देशको वैध अधिकार रहेको बताएका छन् । उनले शोक सन्देशमा भनेका छन्, ’इस्लामिक गणतन्त्र इरानले यस ऐतिहासिक अपराधका अपराधी र आदेश दिनेहरूविरुद्ध न्याय खोज्नु र प्रतिशोध लिनु आफ्नो कर्तव्य र वैध अधिकार ठान्दछ । यो महान जिम्मेवारी र दायित्व पूरा गर्न आफ्नो सम्पूर्ण शक्ति समर्पित गर्नेछ ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी आक्रमणको निन्दा गरेका छन् ।  अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै अमेरिकाले खामेनेईको हत्या गरेको आरोप उनले लगाएका छन् । खोमेनेईलाई रुसले एक उत्कृष्ट राज्य सञ्चालकका रुपमा संझने उनले बताए । 

यता, तेहरान, इसाफानलगायत शहरमा हजारौंको सख्ंयामा आन्दोलनकारीहरुले खामेनेइको मृत्युपछि खुसीयाली मनाएका छन् । उनीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद् दिए । ईरानमा २८ डिसेम्बरबाट सरकारी विरोधी आन्दोलन सुरु भएको थियो । तर जनताको आक्रोशलाई सम्बोधन गर्नुको साटो सरकारले चरम दमन गरेको थियो । विश्वका विभिन्न देशमा बसेका इरानीहरुले पनि खुसीयाली मनाएका छन् । 

कतिपय स्थानमा अमेरिकी आक्रमणको विरोधमा प्रदर्शन भएको छ । पाकिस्तानको कराँचीस्थित अमेरिकी कन्सुलेट कार्यालयमा इरानको सत्ताका समर्थकहरुले आक्रमण गरेका छन् । त्यसक्रममा सुरक्षाकर्मीले गोली चलाउँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ । 

कान्तिपुर

Link copied successfully