शुक्रबार र शनिबारका हमलामा ५५ पाकिस्तानी सैनिक तथा आफ्ना १३ सैनिकको मृत्यु भएको अफगान सेनाको दाबी, पाकिस्तानतर्फबाट भने २ सय ९७ अफगान तालिबान लडाकु र आफ्ना १२ सैनिक मारिएको दाबी
What you should know
जलालाबाद/अफगानिस्तान — अफगानिस्तान र पाकिस्तानबीच चर्कंदै गएको सैन्य तनावका क्रममा शनिबार जलालाबाद सहरमा एक पाकिस्तानी लडाकु जेट खसालिएको बताइएको छ । अफगान सुरक्षा निकायहरूका अनुसार, उक्त जेटका पाइलटलाई भने जीवितै नियन्त्रणमा लिइएको छ । यस घटनाले दुई देशबीचको द्वन्द्व थप गहिरिएको छ ।
प्रहरी प्रवक्ता तैयब हम्मादका अनुसार जलालाबाद सहरको प्रशासनिक क्षेत्र नम्बर ६ मा उडिरहेको पाकिस्तानी लडाकु जेटलाई गोली हानी खसालिएको थियो । ‘जेट खसालिएपछि पाइलटलाई जिउँदै समातिएको छ,’ उनले भने । पूर्वी अफगानिस्तानस्थित सेनाका प्रवक्ता वाहिदुल्लाह मोहम्मदीले पनि अफगान सेनाले जेट खसालेको र पाइलटलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।
एएफपीका एक पत्रकारले जेटको तीव्र आवाज जलालाबादमाथि सुनिएको र त्यसपछि सहरको विमानस्थलतर्फबाट दुईवटा शक्तिशाली विस्फोटको आवाज आएको बताएका छन् । घटनास्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । यस विषयमा प्रतिक्रिया माग्दा पाकिस्तानको सेना र सूचना मन्त्रालयले तत्काल कुनै टिप्पणी दिएका छैनन् । पछिल्लो समय सीमा क्षेत्रमा बढ्दो झडप र हवाई कारबाहीले दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।
यसअघि पाकिस्तानले शुक्रबार अफगानिस्तानको राजधानी काबुल तथा दक्षिणी सहर कान्दाहारमा हवाई हमला गरेको थियो । कान्दाहार तालिबान सर्वोच्च नेता हिबतुल्ला अखुन्दजादाको आधार क्षेत्र मानिन्छ । पाकिस्तानी पक्षका अनुसार बिहीबार राति अफगान सेनाले पाकिस्तानविरुद्ध सीमा क्षेत्रमा कारबाही सुरु गरेपछि हवाई हमला भएको जनाएको छ । तालिबान सरकारले भने उक्त कदमलाई अफगान भूमिमा पहिले गरिएको पाकिस्तानी आक्रमणको प्रतिउत्तर भएको बताएको छ । नयाँ घटनाक्रमले क्षेत्रीय सुरक्षामा थप अनिश्चितता ल्याएको छ भने दुवै पक्षबीचको सैन्य गतिविधि अझै बढ्न सक्ने संकेत गरेको छ ।
३ सयभन्दा बढी अफगान सैनिक मारिए : पाकिस्तान
यसैबीच इस्लामाबादबाट एपीले जनाएअनुसार, अफगानिस्तानभित्र एक दिन लामो तोपखाना र हवाई कारबाहीमा पाकिस्तानले ३ सयभन्दा बढी अफगान सैनिक मारिएको दाबी गरेको छ । बढ्दो सीमा द्वन्द्वबीच शनिबार सार्वजनिक गरिएको सरकारी विवरणअनुसार अफगान सैन्य चौकी तथा प्रतिष्ठानहरूमा व्यापक क्षति पुर्याइएको बताइएको छ ।
सूचनामन्त्री अत्ताउल्लाह तारारका अनुसार ३ सय ३१ भन्दा बढी अफगान तालिबान लडाकु मारिएका र ५ सयभन्दा बढी घाइते भएका छन् । पाकिस्तानले १ सय २ अफगान चौकी ध्वस्त पारेको, २२ कब्जा गरेको तथा ३७ स्थानमा १ सय ६३ ट्यांक र बख्तरबन्द सवारी साधन नष्ट गरेको दाबी गरेको छ । सरकारी सञ्चारमाध्यमले वायुसेनाले पूर्वी अफगानिस्तानका मुख्य सैन्य लक्ष्यहरूमा हमला जारी राखेको जनाएको छ । यो कारबाही तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) का प्रशिक्षण शिविरहरू लक्षित गरी गरिएको हमलापछि सुरु भएको परस्पर प्रतिआक्रमणको निरन्तरता हो । पाकिस्तानले टीटीपीलाई अफगान भूमिबाट सञ्चालन भइरहेको आरोप लगाउँदै आएको छ, जुन आरोप काबुलले अस्वीकार गर्दै आएको छ ।
अफगानिस्तानको रक्षा मन्त्रालयले भने मिरानशाह र स्पिन वाम क्षेत्रमा पाकिस्तानी सैन्य आधारहरूमा रातभर हमला गरी भारी क्षति पुर्याएको जनाएको छ । अफगान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ५५ पाकिस्तानी सैनिक मारिएको दाबी गर्दै पाकिस्तानको ‘हरेक कदमको जवाफ दिइने’ चेतावनी दिएका छन् । पाकिस्तानले आफ्ना १२ सैनिक मारिएको यसअघि जनाएको थियो ।
पूर्वी अफगानिस्तानका अधिकारीहरूले पाकिस्तानी हमलामा कम्तीमा ११ सर्वसाधारण मारिएको आरोप लगाएका छन् । पाकिस्तानले भने केवल सैन्य लक्ष्यमा प्रहार गरिएको र नागरिक हताहतबाट जोगिन प्रयास गरिएको दाबी गरेको छ । तनावका कारण तोरखाम सीमा क्षेत्रमा बसोबास गर्ने सयौं परिवार विस्थापित भएका छन् । केही अफगान शरणार्थीहरू सीमा पार गर्न नसकी अलपत्र परेका छन् । रमजानको उपवास महिनामा खाद्यान्न अभाव झेलिरहेका स्थानीयले युद्धविरामको माग गरेका छन् ।
अक्टोबरयता जारी झडपमा दर्जनौं सैनिक र नागरिक मारिएका छन् । कतारको मध्यस्थतामा भएको युद्धविराम स्थायी हुन सकेन । हाल टर्की, साउदी अरब, कतार र चीनले फेरि मध्यस्थताको प्रयास गरिरहेका छन् । कतारका राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीले दुवै देशका विदेशमन्त्रीसँग तनाव कम गर्ने विषयमा वार्ता गरिरहेका छन् ।
पाकिस्तानलाई अमेरिकाको समर्थन
अफगानिस्तानमा गरेको हवाई हमलालाई लिएर पाकिस्तानले अन्तर्राष्ट्रिय तहमा व्यापक समर्थन पाएको छ । तालिबान आक्रमणविरुद्ध आफ्नो देश र जनताको रक्षा गर्ने पाकिस्तानको अधिकार भएको भन्दै अमेरिकाले समर्थन जनाएको छ । यसले सीमा क्षेत्रमा बढ्दो सैन्य तनावलाई नयाँ कूटनीतिक आयाम दिएको छ । पाकिस्तानले बिहीबार राति सीमापारबाट भएको हमलाको जवाफमा शुक्रबार बिहान अफगानिस्तानभित्र हवाई आक्रमण सुरु गरेको जनाएको छ । पाकिस्तानका सूचनामन्त्रीका अनुसार अपरेसन सुरु भएयता ३७ स्थानलाई हवाई हमलाको लक्ष्य बनाइएको छ ।
प्रधानमन्त्रीका प्रवक्ता मुसर्रफ जैदीले ‘आक्रमणप्रति तत्काल र प्रभावकारी प्रतिक्रिया जारी रहेको’ बताएका छन् । रातभर थप आक्रमण भएको विषयमा स्पष्ट पुष्टि नभए पनि कारबाही जारी रहेको अधिकारीहरूले संकेत दिएका छन् । अमेरिकी राजनीतिक मामिलाकी उपविदेशमन्त्री एलिसन हुकरले पाकिस्तानी समकक्षीसँगको वार्तापछि सामाजिक सञ्जालमार्फत पाकिस्तानको आत्मरक्षाको अधिकारप्रति समर्थन व्यक्त गरेकी छन् । यसैबीच तालिबान सरकारले आतंकवादीलाई शरण दिएको आरोप अस्वीकार गर्दै द्वन्द्व समाधानका लागि वार्ताको आह्वान गरेको छ ।
अफगान सेनाले ५५ पाकिस्तानी सैनिक मारेको र अन्यलाई पक्राउ गरेको तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले दाबी गरेका छन् भने १३ अफगान सैनिकको मृत्यु भएको बताएका छन् । पाकिस्तानतर्फबाट भने २ सय ९७ अफगान तालिबान लडाकु मारिएको दाबी गरिएको छ । यसअघि इस्लामाबादले आफ्ना १२ सैनिक मारिएको जनाएको थियो । अफगान उपप्रवक्ता हमदुल्ला फित्रतले खोस्त र पक्तिका प्रान्तमा कम्तीमा १९ सर्वसाधारण मारिएको बताए । दुवै पक्षका दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् ।
विश्लेषकका अनुसार यस पटक पाकिस्तानले पहिलो पटक अफगान सरकारी संरचनामै हवाई हमला केन्द्रित गरेको देखिएको छ, जुन अघिल्ला कारबाहीभन्दा कडा भएको बताइएको छ । दुई देशबीचको सम्बन्ध पछिल्ला महिनामा तीव्र रूपमा बिग्रिँदै गएको हो । गत अक्टोबरको झडपमा ७० भन्दा बढीको ज्यान गएपछि दुई देशबीचको सीमा नाका प्रायः बन्द अवस्थामा छन् ।
इस्लामाबादले टीटीपी जस्ता समूहहरूलाई नियन्त्रण गर्न काबुल असफल भएको आरोप लगाउँदै आएको छ, जसलाई तालिबानले अस्वीकार गरेको छ । जैदीले सीमा क्षेत्रमा राति ठूलो झडप नभए पनि खोस्त नजिकै पाकिस्तानी चौकीमा हमला भएको जानकारी दिए । तनाव बढेसँगै चीन, बेलायत, संयुक्त राष्ट्रसंघ, रेडक्रस, इरान, साउदी अरब र कतारले संयमता अपनाउँदै वार्तामा फर्कन आह्वान गरेका छन् । जेनेभामा रेडक्रस प्रमुख मिर्जाना स्पोल्जारिकले मानवीय सहायता तयारी अवस्थामा रहेको तर दीर्घकालीन समाधानका लागि राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताए ।
गत वर्ष कतार र टर्किएको मध्यस्थतामा भएको युद्धविराम दीर्घकालीन शान्तिमा परिणत हुन सकेको थिएन । हालको घटनाक्रमले दुई छिमेकीबीचको अविश्वास अझ गहिरिएको छ भने यसको प्रभाव क्षेत्रीय स्थिरतामा पर्ने चिन्ता बढेको छ ।
