ड्रोन अवरोधपछि खसेका अवशेषका कारण उक्त मानवीय क्षति भएको जनाइएको छ । घाइतेहरूको उपचार भइरहेको बताइएको छ ।
काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी आएको इरानी ड्रोन अवरोध गर्ने क्रममा एक एशियाली नागरिकको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।
अबुधाबी बिमानस्थलले जारी गरेको विज्ञप्तिअनुसार सुरक्षा निकायले विमानस्थलतर्फ लक्षित ड्रोनलाई बीचमै अवरोध गरेका थिए । ड्रोन अवरोधपछि खसेका अवशेषका कारण उक्त मानवीय क्षति भएको जनाइएको छ । घाइतेहरूको उपचार भइरहेको बताइएको छ ।
प्राधिकरणले सर्वसाधारणलाई अफवाह वा अपुष्ट सूचना नफैलाउन आग्रह गर्दै अद्यावधिक जानकारीका लागि आधिकारिक स्रोतहरूमा मात्र भर पर्न अनुरोध गरेको छ। घटनासम्बन्धी थप विवरण उपलब्ध हुनेबित्तिकै सार्वजनिक गरिने पनि जनाएको छ ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थल (डीएक्सबी) मा पनि सामान्य क्षति पुगेको छ। उक्त घटनामा चार जना कर्मचारी घाइते भएका छन् ।
दुबई एयरपोर्ट्सले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको सूचनामा विमानस्थलमा क्षति पुगे पनि अवस्था छिट्टै नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । आपतकालीन उद्धार टोली तुरुन्त परिचालन गरी सम्बन्धित निकायसँग समन्वयमा अवस्था व्यवस्थापन गरिएको जनाइएको छ ।
घाइते चारै जना कर्मचारीले तत्काल उपचार पाएको दुबई एयरपोर्ट्सले जनाएको छ। दुबई मिडिया अफिसका अनुसार पूर्वतयारीस्वरूप लागू गरिएको आकस्मिक योजना अनुसार घटना हुनुअघि नै अधिकांश टर्मिनलबाट यात्रुहरू सुरक्षित रूपमा हटाइएको थियो ।
प्राप्त विवरणअनुसार क्षति दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–३ क्षेत्रमा भएको बताइएको छ ।
