कतारमा १६ जना घाइते

कतारले घटनाक्रमको निरन्तर अनुगमन गर्दै सुरक्षा निकाय र नागरिक प्रतिरक्षा टोलीहरूले सम्बन्धित निकायहरूसँग समन्वय गरी स्वीकृत प्रतिकार योजना तुरुन्त सक्रिय गरिरहेको जनाएको छ ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

16 injured in Qatar

काठमाडौँ — कतारमा भएको आक्रमणमा परी हालसम्म १६ जना घाइते भएका छन्। आन्तरिक मन्त्रालयका अनुसार पछिल्लो पटक थप आठ जना घाइते पुष्टि भएसँगै घाइतेको कुल संख्या सोह्र पुगेको हो। विभिन्न क्षेत्रमा सीमित भौतिक क्षति भएको पनि जनाइएको छ।

कतारले घटनाक्रमको निरन्तर अनुगमन गर्दै सुरक्षा निकाय र नागरिक प्रतिरक्षा टोलीहरूले सम्बन्धित निकायहरूसँग समन्वय गरी स्वीकृत प्रतिकार योजना तुरुन्त सक्रिय गरिरहेको जनाएको छ । मन्त्रालयले सार्वजनिक सुरक्षाको संरक्षण, अत्यावश्यक सेवाहरूको निरन्तरता र आपत्कालीन अवस्थाको सामना गर्न पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ।

मन्त्रालयले आवश्यक अनुसार सतर्कता तथा प्रारम्भिक चेतावनी सन्देशहरूपरेमा मात्र जारी गरिने स्पष्ट पारेको छ। आधिकारिक निर्देशन जारी हुनासाथ पालना गर्न, अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन, अपरिचित वस्तु वा भग्नावशेष नछुन र देखिएमा ९९९ नम्बरमा जानकारी दिन सर्वसाधारणलाई आग्रह गरिएको छ। साथै एम्बुलेन्स, नागरिक प्रतिरक्षा तथा गस्ती इकाइहरूलाई प्राथमिकता दिन र घटनास्थलतर्फ नजान पनि अनुरोध गरिएको छ।

अफवाह नफैलाउन र घटनापछि खिचिएका तस्बिर वा भिडियो सार्वजनिक नगर्न मन्त्रालयले चेतावनी दिएको छ। केवल आधिकारिक स्रोतहरूमा भर पर्न सबैलाई आग्रह गरिएको छ। विशेषज्ञ टोलीहरू चौबीसै घण्टा परिचालनमा रही प्रभाव नियन्त्रण तथा समुदायको सुरक्षा सुनिश्चित गर्न काम गरिरहेका छन्।

कान्तिपुर

Link copied successfully