अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त आक्रमणहरू तेहरानको 'कट्टर र दुष्ट' शासकले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पुर्याउन खोजेपछि त्यसलाई रोक्ने प्रयासस्वरुप भएको बताएका छन्।
काठमाडौँ — अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेका छन्। इरानको राजधानी तेहरानमा विस्फोटका आवाज सुनिएका छन् भने धुँवाका मुस्ला देखिएका छन्।
विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार, तेहरानको युनिभर्सिटी स्ट्रिट र जोम्हुरी क्षेत्रमा धेरै मिसाइल खसालिएका छन्। घटनास्थलमा रहेका अल जजिरा संवाददाताका अनुसार सहरमा धुवाँ उडिरहेको देखिएको छ।
इरानको अर्ध–सरकारी तास्निम समाचार एजेन्सीले पनि तेहरानको उत्तरी सेय्यद खन्दान क्षेत्रमा विस्फोट भएको जनाएको छ। अन्य इरानी सञ्चारमाध्यमहरूले पश्चिमी इलाम प्रान्तसहित देशभर आक्रमण भइरहेको जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त आक्रमणहरू तेहरानको 'कट्टर र दुष्ट' शासकले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पुर्याउन खोजेपछि त्यसलाई रोक्ने प्रयासस्वरुप भएको बताएका छन्।
उनले इरानमाथि भइरहेको आक्रमणमा अमेरिका संलग्न रहेको पनि पुष्टि गरेका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मा आठ मिनेट लामो भिडियो पोस्ट गर्दै इरानमाथि अमेरिकी संलग्नता रहेको बताए।
उनले भनेका छन्, 'केही समयअघि अमेरिकी सेनाले इरानमा ठूलो सैन्य कारबाही सुरु गरेको छ। हाम्रो उद्देश्य इरानी शासनबाट उत्पन्न खतरालाई हटाएर अमेरिकी जनतालाई रक्षा गर्नु हो।'
यस्तै, रोयटर्सलाई एक इरानी अधिकारीले बताएअनुसार, तेहरान ‘ध्वंसात्मक’ प्रतिकारको तयारीमा छ। इरानको सरकारी टेलिभिजनले पनि इरानले इजरायलसँग ‘बदला लिने’ र ‘बलियो प्रतिक्रिया दिने’ तयारी गरिरहेको जनाएको छ।
