पाकिस्तान-अफगानिस्तानबीच किन चलिरहेछ लडाँइ ?

टीटीपीको नेतृत्व र यसका धेरै लडाकुहरूले अफगानिस्तानमा बसेर पाकिस्तानमा हिंसात्मक गतिविधि सञ्चालन गरिरहेको ईस्लामावादको आरोप छ ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Why is there fighting between Pakistan and Afghanistan?

What you should know

काठमाडौँ — पाकिस्तानले बिहीबार रातभर अफगानिस्तानका प्रमुख शहरहरूमा रातभर हवाई आक्रमण गरेको  छ । इस्लामिक छिमेकीहरूबीच महिनौंदेखिको सीमा क्षेत्रमा झडप चलिरहेको थियो । यसैबीच पाकिस्तानले बिहीबार खुला युद्ध सुरु भएको घोषणा गर्यो । 

अफगानिस्तानले आफ्नो सीमा बलमाथि आक्रमण सुरु गरेपछि जवाफमा सीमावर्ती क्षेत्रहरूमा तालिबान सैन्य चौकीहरू, मुख्यालयहरू र गोलाबारुद राखिएका भण्डारहरुमा हवाई तथा स्थल सेनाले आक्रमण गरेको पाकिस्तानले जनाएको छ ।

दुवै पक्षले लडाईमा भारी क्षति भएको बताएका छन् । यसअघि अक्टबुरमा पनि दुई देशबीच सीमा क्षेत्रमा भएको लडाइँमा ठूलो संख्यामा सैनिकहरु मारिएका थिए । त्यसबेला टर्की, कतार र साउदी अरेबियाले युद्धविराम गराए । तर, यो लागु हुन सकेन । 

तालिबालने सन् २०२१ मा अफगानिस्तान कब्जा गरेपछि सुरुमा केही समय दुई पक्षबीच कुनै विवाद थिएन । सत्तामा तालिवानको पुनरागमनलाई पाकिस्तानले स्वागत गरेको थियो । पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानले अफगानीहरूले ‘दासत्वको बन्धन तोडेको’ बताएका थिए ।

पाकिस्तानले आफ्नो देशमा रहेका कट्टरपन्थी ईस्लामिक संगठनहरुलाई नियन्त्रण गर्न अफगानिस्तानको साथ खोजेको थियो । तर, कट्टरपन्थी विचारधाराको आडमा सत्ता कब्जा गरेको तालिबानबाट यो साथ संभव थिएन । 

पाकिस्तान–अफगानिस्तानबीचको पछिल्लो विवाद तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) लाई लिएर छ । यसलाई पाकिस्तान तालिबान पनि भनिन्छ । उत्तरपश्चिम पाकिस्तानमा सक्रिय ईस्लामिक सशस्त्र समूहहरूले सन् २००७ मा यसको गठन गरेका थिए ।  टीटीपीले पाकिस्तानका बजार, मस्जिद, विमानस्थल, सैन्य अड्डा, प्रहरी चौकीहरूमा आक्रमण गरेको छ ।

उसले अफगानिस्तानसँगको सीमामा रहेका धेरै भूभाग कब्जा गरेको छ । त्यस्तै, पाकिस्तानको स्वात उपत्यका पनि उसकै कब्जामा छ । सन् २०१२ मा स्कूले छात्रा मलाला युसुफजाईमाथि यही समुहले आक्रमण गरेको थियो । उनलाई त्यस घटनाको दुई वर्षपछि नोबेल शान्ति पुरस्कार प्रदान गरियो । 

टीटीपीले अफगानिस्तानमा अमेरिकी नेतृत्वको सेनाविरुद्ध अफगान तालिबानसँग मिलेर लडेको थियो । त्यसक्रममा उसले पाकिस्तानमा रहेका आफ्ना आधार इलाकामा अफगान लडाकुहरूलाई आश्रय दिएको थियो । पाकिस्तानले त्यसविरुद्ध टीटीपीमाथि सैन्य अपरेशन चलाएको थियो । तर, सफल हुन सकेन । 

टीटीपीको नेतृत्व र यसका धेरै लडाकुहरूले अफगानिस्तानमा बसेर पाकिस्तानमा हिंसात्मक गतिविधि सञ्चालन गरिरहेको ईस्लामावादको आरोप छ । त्यस्तै,  दक्षिणपश्चिमी पाकिस्तानी प्रान्त बलुचिस्तानको स्वतन्त्रता खोज्ने सशस्त्र विद्रोहीहरूले पनि अफगानिस्तानलाई सुरक्षित आश्रयस्थलको रूपमा प्रयोग गरेको उसको आरोप छ ।

विश्वव्यापी अनुगमन संस्था, आर्मड कन्फ्लिक्ट लोकेशन एण्ड इभेन्ट डाटाका अनुसार, २०२२ देखि हरेक वर्ष टीटीपी र बलुच विद्रोहीहरूबाट हुने आक्रमणहरू बढ्दै गएको छ ।

अफगानिस्तानले ईस्लामावादको आरोप खण्डन गर्दै आएको छ । उसले आफ्नो भूमी पाकिस्तानविरुद्ध प्रयोग नहुने दाबी गरेको छ । 

गत साता बाजौर जिल्लामा ११ सुरक्षाकर्मी र दुई सर्वसाधारणको ज्यान जानेगरी भएको आत्मघाती आक्रमणको जिम्मेवारी टीटीपीले लिएको थियो । यसपछि पाकिस्तानले फेरि अफगानिस्तानमाथि आतंकवादीलाई शरण दिएको आरोप लगायो । जसलाई अफगानिस्तानल खण्डन गर्दै आएको छ । 

पाकिस्तानले अब आफ्नो सैन्य अभियानलाई तिव्र पार्ने संभावना रहेको विश्लेषकहरुले बताएका छन् । अफगानिस्तानको दाँजोमा पाकिस्तानको सेना निकै ठूलो छ  । झन्डै ६ लाख ६० हजार सक्रिय सेना रहेको पाकिस्तान विश्वका ठूला सैन्य शक्तिको सुचीमा सातांै स्थानमा आउँछ । अफगानिस्तानमा सक्रिय सेना ७५ हजारमात्रै छन् । 

तालिबानसँग कम्तीमा छ वटा सैन्य विमान र २३ वटा हेलिकप्टर छन् । तर ति विमान युद्धका लागि तयारी अवस्थामा छन् वा छैनन् भन्ने विषय बाहिर आएको छैन ।

पाकिस्तानसँग वायु सेना, जलसेना र जमिन सेनाको ठूलो र व्यवस्थित टुकुडी छ । आणविक शक्ति सम्पन्न राष्ट्र पाकिस्तानसँग ६ हजारभन्दा धेरै बख्तरबन्द गाडी र ४ सयभन्दा धेरै लडाकु विमान छन् ।  

कान्तिपुर संवाददाता

Link copied successfully