इजरायली आक्रमणमा गाजामा कम्तीमा पाँच जनाको मृत्यु

गाजामा मिडियालाई सीमितमात्रै पहुँच छ ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — गाजाको नागरिक सरकारको रक्षा मन्त्रालयले शुक्रबार इजरायली आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको जनाएको छ । अक्टुबरमा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता गत महिना दोस्रो चरणमा पुगेको थियो ।

हमास-ईजरायलबीच यु्द्धबन्दी साटासाट, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा गाजामा शान्ति समिति गठन, इजिप्टसँग जोडिएको राफा नाका सुचारूलगायत उपलब्धि यस अवधिमा भएका छन् । 

तर इजरायलले युद्धविराम सम्झौता पटक-पटक उल्लंघन गरिसकेको छ ।  

गाजामा स्थानीय अधिकारीहरूले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीलाई दिएको जानकारीअनुसार शुक्रबार मध्य गाजामा २ जना र  दक्षिणी इलाकामा ३ जनाको मृत्यु भएको थियो । मध्य गाजामा एक जना तथा दक्षिणतर्फ ठूलो संख्यामा मानिसहरू घाइते छन् । 

१० अक्टुबरमा युद्धविराम सम्झौता भएयता यहाँ इजरायलले पटक पटक सम्झौता उल्लंघन गर्दा आक्रमणमा परेर ६ सय १ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जननाएको छ । त्यसैगरी, युद्धविरामपछि  गाजामा अहिलेसम्म ४ सैनिकले ज्यान गुमाएको इजरायलले जनाएको छ । 

गाजामा मिडियालाई सीमितमात्रै पहुँच भएकाले मृतकको संख्या स्वतन्त्र रूपमा पु्ष्टि गर्न कठिन छ । 

कान्तिपुर संवाददाता

Link copied successfully