युक्रेन युद्ध अन्त्यका लागि सम्झौता गर्न हतार नभएको रुसको घोषणा

अमेरिकी मध्यस्थतामा युद्धरत मुलुकका प्रतिनिधिबीच धेरै चरणका छलफलहरू भए पनि सम्झौता गर्न असफल भएका छन्

फाल्गुन १४, २०८२

रासस

What you should know

काठमाडौँ — रसियाका विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन युद्ध अन्त्य गर्न कुनै सम्झौता गर्न हतार नभएको बताएका छन् । बिहीबार रूसी सरकारी सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी द्वन्द्व अन्त्य गर्ने प्रयास अघि सारेपछि दुवै देशका वार्ताकारहरू बिहीबार जेनेभा पुगेका छन् । अमेरिकी मध्यस्थतामा युद्धरत मुलुकका प्रतिनिधिबीच धेरै चरणका छलफलहरू भए पनि सम्झौता गर्न असफल भएका छन्, मस्कोले कट्टरपन्थी क्षेत्रीय र राजनीतिक मागहरूमा जोड दिएको छ जसलाई किएभले आत्मसमर्पण हुने भन्दै अस्वीकार गरेको छ । रुसका उच्च अधिकारीहरूले बिहीबार फेरि सम्झौता नजिकिँदै गरेको भन्ने भनाइलाई खण्डन गरेका छन् । 

'के तपाईंले हामीबाट समयसीमाको बारेमा केही सुन्नुभएको छ ? हामीसँग कुनै समयसीमा छैन, हामीसँग प्रक्रियागत कार्यहरू छन् र तिनीहरूलाई पूरा गर्ने काम भइरहेको छ,' राष्ट्रिय समाचार संस्थाहरूले लाभरोभलाई उद्धृत गर्दै भनेका छन् । 

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि शान्ति प्रक्रिया कुन चरणमा छ भनेर पूर्वानुमान गर्न हतार नभएको बताए । उनले सञ्चारमाध्यमसँग भने, 'कुनै प्रकारको चरण परिभाषित गर्न वा पूर्वानुमान गर्न अहिले नै प्रयास गर्नु ठूलो गल्ती हुनेछ । म ती गल्तीहरू गर्न चाहन्न ।' 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी नेता भ्लादिमिर पुटिनसँग प्रत्यक्ष बैठक आवश्यक भएको बताउँदै आएका छन् । रूसले कब्जामा लिएको पूर्वी युक्रेनको क्षेत्र रूसमा गाँभिनुपर्ने रूसको अडान जारी छ भने युक्रेनले आफ्नो भूमि रूसलाई दिनु उसलाई भविष्यमा थप आक्रमण गर्न हौसला दिनु भएको भन्दै यस विषयमा अस्विकृति जनाउँदै आएको छ । 

पेस्कोभले बिहीबार पनि भने, 'रुस वार्ता निष्कर्षमा पुग्ने सुनिश्चितता नहुँदासम्म शिखर वार्ताका लागि सहमत हुने छैन र वार्ता टोलीहरूबीच भएको सम्झौतामा हस्ताक्षर मात्र हुनेछ ।'

रासस

Link copied successfully