जापानमा लगातार १० वर्षदेखि जन्मदर ओरालो

जापानको स्वास्थ्य मन्त्रालयको विवरणअनुसार गतवर्ष ७ लाख पाँच हजार ८०९ शिशु जन्मिएका थिए । यो सन् २०२४ को तुलनामा २.१ प्रतिशत कम हो ।

फाल्गुन १४, २०८२

रासस

Japan's birth rate has been falling for 10 consecutive years

What you should know

काठमाडौँ — जापानमा सन् २०२५ मा जन्मने शिशुको संख्या लगातार दशौं वर्ष घटेको तथ्यांक सार्वजनिक भएको छ । जसले देशको घट्दो जनससंख्या र श्रम संकटलाई थप गम्भीर बनाएको छ । जापानको स्वास्थ्य मन्त्रालयको विवरणअनुसार गतवर्ष ७ लाख पाँच हजार ८०९ शिशु जन्मिएका थिए । यो सन् २०२४ को तुलनामा २.१ प्रतिशत  अर्थात १५ हजार १ सय ७९ ले कम  हो ।

यस तथ्यांकमा जापानभित्र जापानी नागरिकबाट जन्मिएका शिशु, विदेशी नागरिकका सन्तान र विदेशमा जन्मिएका जापानी शिशुहरू सबै समेटिएका छन् । विश्वको चौथो ठूलो अर्थतन्त्र मानिने जापानमा विश्वकै न्यूनतम जन्मदरमध्ये एक रहेको छ र कुल जनसङ्ख्या निरन्तर घटिरहेको छ ।

घट्दो जन्मदरका कारण श्रम अभाव, सामाजिक सुरक्षा खर्चमा वृद्धि र कर तिर्ने कामदारको संख्या घट्ने समस्या तीव्र बन्दै गएको छ । यसले जापानको सार्वजनिक ऋणलाई थप दबाब दिएको छ, जुन प्रमुख अर्थतन्त्रहरूमध्ये सबैभन्दा उच्च अनुपातमा रहेको बताइन्छ ।

देशकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइचीसहित अघिल्ला नेताहरूले जन्मदर बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् तर ठोस उपलब्धि सीमित रहेको देखिएको छ । गत हप्ता संसद्मा ताकाइचीले घट्दो जन्मदर र सङ्कुचित जनसङ्ख्यालाई ‘शान्त आपतकाल’ को संज्ञा दिँदै यसले देशको जीवनशक्तिलाई बिस्तारै कमजोर पार्ने बताएकी थिइन् । 

८ फेब्रुअरीमा सम्पन्न चुनावमा ताकाइची नेतृत्वको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले दुई तिहाइ बहुमत हासिल गरेको छ । यद्यपि, जनसंख्या संकट समाधानका लागि आप्रवासन विस्तार उपयोगी हुन सक्ने विश्लेषण भइरहे पनि ‘जापानी पहिलो’ नारा अघि सारेको सान्सितो पार्टीको दबाबका कारण सरकारले आप्रवासनमा कडा नीति अपनाउने संकेत दिएको छ ।

रासस

Link copied successfully