अमेरिकासँग वार्ताअघि सकारात्मक संकेत देखिएको ईरानको दाबी

पछिल्लोपटक गत शुक्रबार जेनेभामा दोस्रो चरणको वार्ता भएपनि कुनै ब्रेक थ्रु जुट्न सकेको थिएन ।

फाल्गुन १४, २०८२

कान्तिपुर संवाददाता

Iran claims positive signs ahead of talks with US

काठमाडौँ — इरानी राष्ट्रपति मासुद पेजेश्कियनले संयुक्त राज्य अमेरिकासँग जारी आणविक वार्ताबाट ‘उत्साहजनक संकेत’ प्राप्त भएको बताएका छन् । त्यस्तै, उनले सबै सम्भावित परिदृश्यको सामना गर्न ईरान तयार रहेको बताएका छन् । 

पेजेश्कियनका अनुसार पछिल्ला वैठकहरूमा आणविक कार्यक्रमलाई लिएर व्यवहारिक प्रस्तावहरू आदान–प्रदान भएका छन् । त्यहीकारण आज हुने वार्ता अर्थपूर्ण रहेको उनले बताएका छन् । 

ओमानका विदेश मन्त्री बद्र अल–बुसाइदीले आज जेनेभामा इरान–अमेरिकाबीच तेस्रो चरणको अप्रत्यक्ष वार्ता हुने औपचारिक पुष्टि गरेका छन् ।

वार्तामा मध्यस्थको भूमिकामा रहेका अल–बुसाइदीले सहमतिको अन्तिम चरणसम्म पुग्न अतिरिक्त प्रयास गर्ने सकारात्मक माहोल बनेको दाबी गरेका छन् ।

पछिल्लोपटक गत शुक्रबार जेनेभामा दोस्रो चरणको वार्ता भएपनि कुनै ब्रेक थ्रु जुट्न सकेको थिएन । 

ईरानका विदेशमन्त्री अब्बास अराग्चीले जारी वार्तामा इरानको टोली केवल आणविक मुद्दामा केन्द्रित रहेको बताएका छन् ।

अमेरिकाले उठाउँदै आएको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम र क्षेत्रीय सशस्त्र समूहहरूसँगको सम्बन्ध जस्ता विषय अहिलेको एजेन्डाभित्र नपर्ने उनले बताए । ‘हामी हाम्रो कार्यक्रम सधैँ शान्तिपूर्ण रहने ग्यारेन्टीका विषयमा सहमत हुन तयार छौँ, सँगै थप प्रतिबन्ध हटाउने व्यवस्था हुनु आवश्यक छ,’ अराग्चीले भने । 

कान्तिपुर

Link copied successfully