क्युबाको जलसेनाले अमेरिकी डुंगामा गोली प्रहार गर्दा ४ जनाको मृत्यु

सार्वभौमिकता जोगाउन र क्षेत्रीय स्थिरता सुनिश्चित गर्न यस्तो कदम चाल्नुपरेको क्युवाको गृह मन्त्रालयले जनाएको छ ।

फाल्गुन १४, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — क्युबाको सेनाको गोली प्रहारबाट ४ जनाको मृत्यु भएको छ । आफ्नो जलक्षेत्रमा प्रवेश गरेर सैनिकमाथि गोली चलाउने अमेरिकी डुंगामाथि जवाफी कारबाही गर्दा ४ को मृत्यु ६ जना घाइते भएको सेनाले जनाएको छ । उक्त डुंगा अमेरिकाको फ्लोरिडा राज्यमा दर्ता भएको पाइएको छ । 

घटनामा क्युवाका एक सैनिक घाइते भएका छन् । सेनाले मृतक तथा घाइते अमेरिकामा बस्ने क्युवेली नागरिक रहेको दाबी गरेको छ । तर, उक्त डुंगा किन क्युवातर्फ गइरहेको थियो भन्ने स्पष्ट छैन । 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मृतक र घाइते अमेरिकाका स्थायी बासिन्दा वा नागरिक भए/नभएको विषयमा जानकारी संकलन भइरहेको बताए । उनले घटनाबारे अमेरिकाले आफैं अनुसन्धान गर्ने बताए । 

‘खुला समुद्रमा त्यस्ता दोहोरो गोली हानाहान देख्नु अत्यन्तै असामान्य हो । यस्तो दिनहुँ हुँदैन,’ उनले भने ।

फ्लोरिडाका न्यायाधिवक्ता जेम्स उथमायरले संघीय, राज्य र स्थानीय निकायसँग समन्वय गरेर घटनाबारे छानबिन सुरु गर्न सरकारी अधिकारीहरुलाई निर्देशन दिइएको बताए ।

‘क्युवाको सरकार विश्वास गर्न लायक छैन । यी कम्युनिस्टलाई जवाफदेही बनाउने काममा हामीले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नेछौँ,’  उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । 

क्यूबाको गृह मन्त्रालयले उत्तरी तट नजिकै कायो फालकोनेसबाट करिब एक नटिकल माइल (१.६ किलोमिटर) उत्तर–पूर्वमा डुंगा भेटिएको जनाएको छ । सार्वभौमिकता जोगाउन र क्षेत्रीय स्थिरता सुनिश्चित गर्न यस्तो कदम चाल्नुपरेको मन्त्रालयले जनाएको छ । 

अमेरिकी उपराष्ट्रपति जे डी भान्सले बुधबार साँझ व्हाइट हाउसले घटनाक्रमलाई नजिकबाट नियालेको बताए ।‘आशा छ, यो घटनाक्रम हामीले डर गरेजति खराब नहोस्,’ भान्सले भने । 

यो गोलीकाण्डले अमेरिका–क्यूबा सम्बन्ध झन् बिग्रने संकेत देखाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully