अमेरिकामा हिमपातपछि जनजीवन सामान्य अवस्थामा फर्काउने प्रयास

सोमबार ठूलो संख्यामा उडान स्थगित भएका थिए । त्यस्तै विद्यालयहरु बन्द भए ।

फाल्गुन १३, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा दुई दिनयता हिमपातले जनजीवन प्रभावित भएको छ । यस क्षेत्रमा हिउँ पन्छाउनका लागि सर्वसाधारण तथा कर्मचारीहरु निरन्तर खटिएका छन् ।

रेलमार्गमा 'डार्थ भेडर' नामक हिउँ सफा गर्ने मेसिन प्रयोग गरिएको छ ।

हिमपातका कारण दशौं लाख मानिस घरभित्रै बस्न बाध्य भए । सोमबार ठूलो संख्यामा  उडान स्थगित भएका थिए । त्यस्तै विद्यालयहरु बन्द भए । 

पछिल्लो दशककै सबैभन्दा ठूलो हिमपातका रुपमा मौसमविद्हरुले यसको चित्रण गरेका छन् । उत्तरपूर्वी अमेरिकाका केही क्षेत्रमा २४ ईन्चभन्दा बाक्लो हिउँ परेको अधिकारीहरुले बताएका छन् । 

मासाच्युसेट्स, न्यु जर्सी, डेलावर, रोडे आइल्यान्डलगायत क्षेत्रमा हिमपातका कारण बन्द भएको बिजुली पुनः सुचारु गर्ने, सडक खुलाउने लगायत काम अहिले चलिरहेका छन् । 

सोमबार रोडे आइल्यान्डस्थित ग्रिन इन्टरनेशनल एयरपोर्टमा ३८ इन्च हिउँ जमेको थियो । जो, १९७८ पछिको बाक्लो हिमपात हो । यहाँ विमानस्थल बन्द गरियो । 

न्युयोर्कको सेन्ट्रल पार्कमा १९ इन्च हिउँ परेको थियो । न्युयोर्क, फिलाडेल्फिया र अन्य धेरै राज्य तथा शहरमा आपतकाल लगाइएको थियो । 

झन्डै १ सय ५० वर्षको इतिहासमा पहिलोपटक बोस्टन ग्लोब डेल्लीले आफ्नो छापा प्रकाशन बन्द गर्यो‍ । हावाहुरी र हिउँका कारण कर्मचारीहरु छापाखानासम्म पुग्न जोखिमपूर्ण भएपछि प्रकाशन बन्द गरिएको कम्पनीले बताएको छ । 

मौसमविद्हरुले सोमबारको घटनालाई ‘क्लासिक बम साइक्लोन’ भनेर चित्रण गरेका छन् । केही क्षेत्रमा हिमपात घट्दै गएको छ । मंगलबार उत्तरतर्फ हिउँ पर्न थालेको छ ।

राष्ट्रिय मौसम सेवाले नयाँ तुफान प्रणालीलाई नजिकबाट निगरानी गरिएको र यसले उत्तरतर्फका क्षेत्रमा साताको अन्त्यतिर थप हिमपात गराउनसक्ने बताएका छन् । 

कान्तिपुर

Link copied successfully