'एल मेन्चो' कसरी ड्रग्स दुनियाँका नेता बने ? 

गरिबीबाट पार पाउनका लागि तस्करहरुसँग मिलेर १९८० को दशक उनी अवैध बाटो हुँदै अमेरिकाको क्यालिफोर्निया राज्य छिरे ।

फाल्गुन १२, २०८२

कान्तिपुर संवाददाता

How did 'El Mencho' become the leader of the drug world?

What you should know

काठमाडौँ — ‘एल मेन्चो’ नामले चिनिने मेक्सकोका कुख्यात अपराधी नेमेसियो ओसेगुएरा कार्भान्टेस सेनासँगको मुडभेडमा मारिएका छन् । अमेरिकी सेनालको सहयोगमा मेक्सिकन सेनाले उनलाई पक्राउ गर्न अभियान चलाएको थियो ।  

आइतबार उनको हत्यापछि, मेक्सिकोका धेरै क्षेत्रहरूमा हिंसा भड्कियो । बन्दुकधारीहरूले २० राज्यहरूमा सवारी साधनहरूमा आगजनी गरे र सडक अवरोध खडा गरे ।

मेक्सिकोमा यति ठूलो प्रभावशाली कार्टेल (गिरोह) सञ्चालन गर्ने एल मेन्चो को थिए त ? उनी कसरी गिरोहको प्रमुख हुँदै अमेरिकाको निशानामा परे ? अहिले यस विषयमा धेरैले चासो दिइरहेका छन् । 

१७ जुलाई १९६६ मा मिचोआकानको अग्विलिया नगरपालिका अन्तर्गत पर्ने ग्रामीण बस्ती कुलोटिटलानमा उनी जन्मिएका थिए । सानोमा उनलाई कसैले रुबेन, कसैले नेमेसिओ, कसैले रोरेन्जो मेन्डोज, नेमेसियो आसेगुएरा रामोसलगायत विभिन्न नामले बोलाउँथे । कालान्तरमा उनले आफ्नो नामको अगाडि बाबु–आमाको संझनामा ‘नेमेसियो’ राखे । यसका बाबजुद उनलाई सबैले चिन्ने नाम ‘एल मेन्चो’ थियो । 

कतिपयले उनलाई ‘द लर्ड अफ द रुस्टर्स’ पनि भन्ने गर्छन् । किनकी, उनलाई भाले जुधाई हेर्ने सौख थियो । 

उनको परिवारमा ५ दाजुभाई थिए । गरिबीमा हुर्कनुपरेकाले एल मेन्चोले ५ कक्षा सक्नासाथ पढाई छाडिदिए । उनी खेतबारीमा बाबु–आमालाई सघाउँथे । १४ वर्षको उमेरदेखि उनले गाँजा लगाइएको बारीमा पहरा दिन थाले ।

गरिबीबाट पार पाउनका लागि  तस्करहरुसँग मिलेर १९८० को दशक उनी अवैध बाटो हुँदै अमेरिकाको क्यालिफोर्निया राज्य छिरे ।

अमेरिकामा उनले आफ्नो पहिचान लुकाउन उलने विभिन्न नाम प्रयोग गरे । जसमा ‘रुबेन आविला’, ‘जोसे लोपेज प्रिएतो’, ‘मिगुएल भालादेज’, ‘कार्लोस हेर्नान्डेज मेन्डोजा’, ‘रोबर्टो सालगाडो’ आदि हुन् । 

प्रहरी रेकर्डअनुसार १९८६ मा उनी पहिलोपटक  क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियाबाट पक्राउ परेका थिए । यसबेला उनी १९ वर्षको मात्रै थिए । उनीसँग चोरीको सामान र केही थान हतियार भेटिएको साना फ्रान्सिस्को प्रहरीको अभिलेखमा उल्लेख छ ।

पक्राउ परेको करिब दुई महिनापछि उनको पहिलो सन्तानको जन्म भएको थियो । क्यालिफोर्नियाबाट उनी विभिन्न उपनाम प्रयोग गरेर धेरैपटक मेक्सिको–अमेरिका आवत–जावत पनि गरिरहन्थें । 

अमेरिकी ड्रग एन्फोर्समेन्ट एजेन्सी (डीईए) र मेक्सिकन अनुसन्धानकर्ताहरूको बुझाइमा, यही अवधिमा उनले क्यालिफोर्नियाको रेडवुड सिटी क्षेत्रमा साला अबिगाएल गोन्जालेज भालेन्सिया (एल कुइनी) सँग मिलेर मेथाम्फेटामिन उत्पादन र कारोबार गर्न थालेका थिए । 

१९८९ मा एल मेन्चो सान फ्रान्सिस्कोमै मादक पदार्थ बिक्रीको अभियोगमा फेरि समातिए र केही महिनापछि मेक्सिको फर्काइए । त्यसको केही महिनामै उनी  फेरि अवैधानिक रूपमा अमेरिका प्रवेश गरे । सान फ्रान्सिस्कोमै बसोबास थाले ।

सेप्टेम्बर १९९२ मा लागुऔषध मुद्दामा क्यालिफोर्नियाको साक्र्यामेन्टोबाट पक्राउ परे । अदालतका कागजातअनुसार त्यतिबेला उनी र उनका भाइ अब्राहाम सान फ्रान्सिस्कोको ‘इम्पेरियल’ नामक बारमा करिब ९,५०० अमेरिकी डलरको बदलामा पाँच औँस हिरोइन बेच्ने डिल गरेका थिए । २६ वर्षका मेन्चोलाई  पाँच वर्ष कैद सजाय सुनाइयो र टेक्सासस्थित सुधार गृहमा पठाइयो । 

यहाँ करिब तीन वर्ष सजाय काटेपछि उनी माफी पाएर रिहा भए । त्यसपछि ३० वर्षको उमेरमा पुन मेक्सिको फर्किए । 

स्वदेश फर्किएपछि उनी जलिस्को राज्यका काबो कोरेन्तेस र टोमाट्लान क्षेत्रमा स्थानीय प्रहरीमा भर्ती भए । केही समय प्रहरीमा लागेप िछउनले जागिर छोडे र पूर्णरूपमा मिलेनियो कार्टेल नामक आपराधिक समूहमा प्रवेश गरे ।

मिलेनियो कार्टेलसँग सम्बन्ध झन् मजबुत बनाउन उनले समूहका उच्च नेताहरूमध्ये एकको बहिनी रोसालिन्दा गोनजालेज भालेन्सियासँग विवाह गरे, यही सञ्जालभित्रै गएर पछि उनी संगठित अपराधको प्रभावशाली अनुहार बने ।

हत्या हुनअघि ५९ वर्षीय मेन्चो उनी पश्चिमी राज्य जलिस्कोबाट सञ्चालन हुने न्यू जेनेरेसन कार्टेलका नेता थिए । यो गिरोहसँग अत्याधुनिक हातहतियार र आफ्नै लडाकु थियो । 

आफ्नो प्रभाव उच्च छँदा उनले मेक्सिकोमा सबैलाई धम्क्याए । रोलिङ स्टोन पत्रिकाले २०१५ मा अमेरिकाका एक अधिकारीको भनाई उद्रृत गर्दै लेखेको थियो, ‘एक पटक बरफको छातीमा काटिएको सुँगुरको टाउको मेक्सिकन वकिललाई धम्कीका रूपमा पठाएका थिए ।’

रोलिङ स्टोनका अनुसार एल मेन्चोले एक शक्तिशाली पनडुब्बीहरूमा ठूलो लगानी गरेका थिए । यी पनडब्बुहरुले दक्षिण अमेरिकाबाट अमेरिकामा लागूऔषध ढुवानी गथ्र्यें । पनडब्बुको इन्जिनियरिङका लागि उनले रुसी जलसेनाको अनुभव भएकाहरुलाई काममा लगाएर अत्याधुनिक पनडब्बुहरु तयार गरेको पूर्व डिईए एजेन्लाई उद्रृत गर्दै रोलिङ स्टोनले लेखेको छ । 

एल मेन्चोले राष्ट्रिय सुरक्षामै खतरा पैदा गरेपछि अमेरिकाले उनलाई मस्ट वान्टेडको सुचीमा राखेको । उनलाई पक्राउ गर्न सुराकी दिनेलाई १ करोड ५० लाख डलर पुरस्कार दिइने अमेरिकाको घोषणा थियो । 

अक्सफोर्ड विश्वविद्यालयमा ग्लोबल सेक्युरिटीकी सह–प्राध्यापक एनेट इडलरले एल मेन्चोको मृत्युल ड्रग्स कारोकारी तर्सने अपेक्षा व्यक्त गरे । ‘जलिस्को कार्टेललाई सबैभन्दा शक्तिशाली र विश्वव्यापी रूपमा जोडिएको आपराधिक संगठनका रुपमा रुपान्तरण गर्ने काम एल मेन्चोकै नेतृत्वमा भएको थियो ।

त्यसकारण यसको प्रतिकात्मक अर्थ रहन्छ । विशेष गरी मेक्सिकोलाई चीनसँग जोड्ने फेन्टानिल उत्पादन र दक्षिण अमेरिकी कोकिन तस्करी नेटवर्कहरूमा उनको प्रभाव थियो,’ इडलरले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully