भन्सार शुल्क खारेज आदेशपछि ट्रम्पले गरे सर्वोच्चको आलोचना

अक्सफोर्ड इकोनोमिक्सले शुक्रबारको निर्णय ट्रम्पको आर्थिक एजेन्डाको लागि ठूलो धक्का रहेको आँकलन गरेको छ । किनकी, ट्रम्पल प्रशासनले भन्सार शुल्क बढाएर २०२६ देखि २०३५ सम्म लगभग ३.६ ट्रिलियन डलर राजस्व उठाउने अपेक्षा राखेको थियो ।

फाल्गुन ९, २०८२

कान्तिपुर संवाददाता

Trump criticizes Supreme Court after ruling on tariff rollback

काठमाडौँ — अमेरिकाको सर्वोच्च अदालतले आपतकालीन भन्सार शुल्क खारेज गर्न आदेश दिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको कडा आलोचना गरेका छन् । उनले अन्य कानुनमार्फत कर कायम राख्ने दाबी पनि गरेका छन्।​

अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन प्रयोग गरेर कङ्ग्रेसको सहमति बिना आयात कर लगाउन नमिल्ने सर्वोच्चको ठहर छ । शान्तिकालमा कर लगाउने अधिकार कङ्ग्रेसकै भएको ठहर अदालतले गरेको छ ।

तर ट्रम्पले यसको विरोध गरेका छन् । उनले पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालत 'विदेशी स्वार्थबाट प्रभावित' भएको दाबी गरे । त्यस्तै, यस शुल्कको साटो विश्वव्यापी रूपमा १० प्रतिशत नयाँ भन्सार शुल्क लागु हुने पनि उनले बताए । १९६२ को व्यापार बिस्तार ऐन प्रयोग गरेर यो शुल्क लगाइएको उनले बताए । 

अक्सफोर्ड इकोनोमिक्सले शुक्रबारको निर्णय ट्रम्पको आर्थिक एजेन्डाको लागि ठूलो धक्का रहेको आँकलन गरेको छ । किनकी, ट्रम्पल प्रशासनले भन्सार शुल्क बढाएर २०२६ देखि २०३५ सम्म लगभग ३.६ ट्रिलियन डलर राजस्व उठाउने अपेक्षा राखेको थियो ।

तर अमेरिकी राष्ट्रपतिले अन्य नियम र कानुन प्रयोग गरेर भन्सार शुल्क वृद्धि कायमै राख्‍ने दाबी गरेका छन् ।

ट्रम्पले अमेरिकाको राजस्व वा घरेलु उत्पादन बढाउन मात्र नभई अन्यत्र देशहरूलाई दबाब दिनको लागि पनि भन्सार शुल्क प्रयोग गरेका छन्। जस्तो, उनले लामो समयदेखि रूसबाट तेल खरिद गर्दै आएको भारतमाथि २५ प्रतिशत अतिरिक्त भन्सार थोपर्ने निर्णय गरेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully