पूर्वराष्ट्रपति बाराक ओबामाले हालैको एक अन्तर्वार्तामा एलियन हुन्छन् भनेपछि ट्रम्पले यससम्बन्धी सरकारी फाइल सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।
What you should know
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषगरी पेन्टागन र अन्य सरकारी निकायलाई एलियन (पृथ्वी बाहिरका जीव) सम्बन्धी तथ्यांक, पहिचान नभएका हवाई घटना (यूएपी) र उडनतस्तरी (यूएफओ) सम्बन्धी सरकारी फाइलहरू वर्गीकृत गरी सार्वजनिक गर्न निर्देशन दिएका छन् ।
पूर्वराष्ट्रपति बाराक ओबामाले हालैको एक अन्तर्वार्तामा एलियन हुन्छन् भनेपछि ट्रम्पले यससम्बन्धी फाइल सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।
ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन्, ‘मैले रक्षा मन्त्रालयलगायतलाई एलियन, यूएपी तथा यूएफओसम्बन्धी सरकारी दस्तावेजहरू सार्वजनिक गर्न प्रक्रिया सुरु गर्न निर्देशन दिएको छु ।’ यस कदमलाई उनले सरकारको सार्वजनिक सूचनाप्रतिको पारदर्शितालाई मजबुत बनाउने एउटा प्रयासको रूपमा वर्णन गरेका छन् ।
ट्रम्पको निर्देशनपछि पेन्टागनको अल-डोमेन एनोमली रिजोल्युसन अफिसलगायत सम्बन्धित निकायहरूलाई फाइलहरू पहिचान गर्न र सम्भावित सार्वजनिक दस्तावेजहरू सार्वजनिक गर्ने प्रक्रिया सुरु गर्ने छ । तर सूचनाको समीक्षा र वर्गीकरणको लामो प्रकिया कारण यी दस्तावेजहरू सार्वजनिक हुन समय लाग्ने अपेक्षा गरिएको छ ।
ओबामाले हालसालै ब्रायन टाइलर कोहेनसँगको पडकास्ट अन्तर्वार्तामा ‘एलियनहरू वास्तविक हुन्’ भन्ने संक्षिप्त टिप्पणी गरेका थिए । ओबामाले उक्त वक्तव्यबाट अतिगोप्य सूचना चुहाएको ट्रम्पले आरोप लगाएका छन् । ट्रम्पले पत्रकारहरुलाई भने, ‘मलाई थाहा छैन एलियनहरू वास्तविक छन् कि छैनन्, तर मैले भन्न सक्छु कि ओबामाले अतिगोप्य सूचना सार्वजनिक गरे । उनले त्यस्तो गर्न हुँदैन थियो ।’ तर ट्रम्पले यस आरोपलाई प्रमाणित गर्ने स्पष्ट उदाहरण भने प्रस्तुत गरेका छैनन् ।
ओबामाले पडकास्टका क्रममा भनेका थिए, ‘मलाई लाग्छ, उनीहरू वास्तविक हुन्, तर मैले तिनीहरूलाई आफ्नै आँखाले भने देखेको छैन । अमेरिकाको चर्चित गोप्य क्षेत्र एरिया ५१ वा अन्य कुनै भूमिगत गोदाममा एलियनसम्बन्धी वस्तु थुपारिएको छैन ।’ ओबामाले पछि सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै आफ्नो कार्यकालमा एलियनसँग जोडिएको प्रत्यक्ष प्रमाण नदेखेको र ब्रह्माण्डको विशालता हेर्दा जीवनको सम्भावना उच्च हुन सक्ने अनुमान मात्र व्यक्त गरेको ओबामाको स्पष्टोक्ति थियो ।
अमेरिकी सरकारले हाल देखिएको राजनीतिक विवादभन्दा धेरैअघि नै पृथ्वी बाहिर जीवन हुन सक्ने र पृथ्वीभन्दा बाहिरका जीवहरूले यहाँको भ्रमण गरेको हुन सक्नेसम्बन्धी अनुसन्धानहरूलाई पछिल्ला केही दशकयता व्यवस्थित रूपमा हेर्दै आएको छ । पछिल्ला वर्षहरूमा अमेरिकी सेना र संसदले यूएपी देखिएको घटनाहरूको पहिचान र मूल्यांकनका लागि अझ व्यवस्थित र संस्थागत ढंगले काम गर्न थालेका छन् ।
सन् २०२२ मा स्थापना गरिएको अल डोमेन अनोमली रिजुलसन अफिस (एएआर ओ)लाई संसद्ले राष्ट्रिय सुरक्षासँग सम्भावित सरोकार राख्ने असामान्य हवाई उडान घटनाहरूसम्बन्धी प्रतिवेदन, विश्लेषण र पारदर्शितालाई एकीकृत रूपमा सम्हाल्ने जिम्मेवारी दिएको थियो । सन् २०२४ मार्चमा एएआर ओले १९४५ देखि अमेरिकी सरकारले गरेका यूएपीसम्बन्धी अनुसन्धानहरूको ऐतिहासिक समीक्षा सार्वजनिक गरेको थियो । त्यसको निष्कर्षमा कुनै पनि अनुसन्धानले एलियन प्रविधिको प्रमाण वा पृथ्वीमा एलियनको उपस्थित पुष्टि नगरेको उल्लेख गरिएको थियो । उनीहरूका अनुसार अधिकांश घटनाहरू गलत पहिचान गरिएका वस्तु थिए वा प्राकृतिक घटना तथा मानव निर्मित एरोस्पेस प्रणालीमार्फत व्याख्या गर्न सकिने खालका थिए ।
सन् २०१७ मा पेन्टागनले सैनिक विमानले खिचेका अज्ञात हवाई वस्तुसँगको मुठभेड देखाउने गोप्य भिडियो सार्वजनिक गरेपछि यूएपी विषय निरन्तर सार्वजनिक तथा संसदीय चासोको केन्द्रमा रहँदै आएको छ । त्यसयता सांसदहरूले पटक–पटक संसदीय सुनुवाइ गरेका छन् र थप पारदर्शिताको माग अघि सारेका छन् । तर, रक्षा अधिकारीहरू भने आफ्नो मुख्य सरोकार एलियनको अस्तित्व प्रमाणित वा खण्डन गर्ने प्रश्न भन्दा पनि उडान सुरक्षा र राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिम मूल्यांकनमै केन्द्रित रहेको बताउँदै आएका छन् ।
