हिस्बाहका डेपुटी कमान्डर जनरल मुजाहिद अमिनुद्दीनले बीबीसीसँग कुरा गर्दै पक्राउ परेका ९ जनामध्ये सात जना पुरुष र दुई जना महिला रहेको जानकारी दिएका छन् ।
काठमाडौँ — नाइजेरियाको इस्लामिक प्रहरीले उत्तरी राज्य कानोमा ९ जनालाई रमजानका समयमा खाना खाएको आरोपमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरु सबै मुस्लिमहरु नै रहेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । रमजानका समयमा खाना खाएको आरोपमा उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
कानो सहर मुस्लिमहरुको बाहुल्यता भएको क्षेत्र हो । जहाँ इस्लामिक कानुन ‘शरीया’ कार्यान्वयनमा छ । हिस्बाह भनेर चिनिने इस्लामिक प्रहरीले हरेक वर्ष रमजानको समयमा मुस्लिमहरूले उपवासको नियम पालना गरिरहेको सुनिश्चित गर्न क्याफे, रेस्टुराँ र बजारहरूमा अनुगमन गर्दै आएको छ । क्रिश्चियनहरुको पनि उल्लेख्य संख्यामा बसोबास रहेको कानोका केही क्षेत्रमा केही प्रतिष्ठानहरु खुला रहन्छन् ।
हिस्बाहका डेपुटी कमान्डर जनरल मुजाहिद अमिनुद्दीनले बीबीसीसँग कुरा गर्दै पक्राउ परेका ९ जनामध्ये सात जना पुरुष र दुई जना महिला रहेको जानकारी दिएका छन् । पक्राउ परेकाहरुले आफूहरुलाई रमजान सुरु भएकोबारे जानकारी नभएको बयान दिएका छन् ।
अमिनुद्दीनले भने, ‘हामीले उनीहरूलाई पक्राउ गरेका छौं । र उनीहरू हामीसँग छन् । हामीले उनीहरुलाई उपवासको महत्त्व, प्रार्थना कसरी गर्ने, कुरान पढ्ने र राम्रो मुस्लिम कसरी बन्ने भन्ने कुरा सिकाउनेछौं ।’।
इस्लामिक पात्रोअनुसार नवौं महिना रमजान हो । इस्लाम धर्ममा यसको विशेष महत्त्व छ । यसै महिनामा इस्लामका प्रवर्तक पैगम्बर मुहम्मदमाथि कुरान अवतरित भएको स्लाम धर्मावलम्बीहरु विश्वास गर्दछन् । यसपटकको रमजान १८ फेब्रुअरीबाट सुरु भएको छ ।
