मंगलबार देशको प्रधानमन्त्रीको रूपमा शपथ लिएका रहमानले प्रत्येक मन्त्रालयलाई १८० दिनभित्र आफ्नै योजना बनाउन र कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
What you should know
काठमाडौँ — बंगलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले सरकारको १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत गरेका छन् ।
योजनामा उनले चारवटा प्रमुख क्षेत्रमा ध्यान केन्द्रित गरेका छन् । पहिलो प्राथमिकतामा कानुन र व्यवस्थाको स्थिति सुधार गर्ने लक्ष्य रहेको छ भने दोस्रो, आवश्यक वस्तुहरूको मूल्य नियन्त्रण गर्ने योजना छ । तेस्रोमा निर्बाध बिजुली र ग्यास आपूर्ति सुनिश्चित गर्नुका साथै जीवनयापनको लागत घटाउन जोड दिएका छन् । चौथोमा सार्वजनिक यातायात, विशेष गरी रेलवे प्रणालीमा सुधार गर्ने उनले बताएका छन् । यसबाहेक, उनले भ्रष्टाचारविरुद्ध लड्नका लागि कडा प्रयासहरूको निर्देश गरेका छन् ।
मंगलबार देशको प्रधानमन्त्रीको रूपमा शपथ लिएका रहमानले प्रत्येक मन्त्रालयलाई १८० दिनभित्र आफ्नै योजना बनाउन र कार्यान्वयन गर्न निर्देशन दिएका छन् । यस अघि बगलादेशमा नयाँ सरकारले पदभार ग्रहण गरेपछि १०० दिनको प्राथमिकता प्याकेज घोषणा गर्ने गर्थे । यद्यपि, रहमानले यसलाई तोड्दै १८० दिनको अवधि तय गरेका छन् । अपराध उन्मूलन र भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरेर जनताको मनमा शान्ति र सुरक्षा पुनर्स्थापना गर्नु सरकारको एजेन्डाको प्राथमिक केन्द्रबिन्दु भएको रहमानले बताएका छन् ।
मन्त्रीहरूले शपथ लिएपछि यस्ता विषयमा कुरा गर्न थालेका छन् भने गृहमन्त्री सालाउद्दिन अहमदले पत्रकारहरूलाई बङ्गलादेशमा आगामी दिनमा भिडभाड हिंसा नहुने घोषणा गरेका छन् । उनले लागुऔषध नियन्त्रण र अन्य आवश्यक उपायसहित देशको अवस्थालाई कडाइका साथ नियन्त्रण गरिएको पनि घोषणा गरेका छन् ।
विदेश नीतिका विषयमा विदेशमन्त्री कलिलुर रहमानले बंगलादेशको नयाँ विदेश नीति 'बंगलादेश पहिलो' हुने बताए । । उनले बंगलादेशको हितलाई प्राथमिकता दिँदै सबै देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध निर्माण गर्ने र स्वर्गीय राष्ट्रपति जियाउर रहमानको विदेश नीति जस्तै मार्गमा अगाडि बढ्ने बताएका छन् ।
पवित्र रमजानको अवसरमा नागरिकहरूलाई शुभकामना दिँदै रहमानले सामानको मूल्य आम जनताको पहुँचभन्दा बाहिर नजानका लागि व्यापारीहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।
