रुस–युक्रेन वार्तामा भएन ‘ब्रेक थ्रु’, डोन्बास क्षेत्रलाई लिएर मुख्य विवाद

जेनेभामा जारी वार्तामा डोन्बास क्षेत्रको मुद्दामा भने कुनै प्रगति भएको छैन । पूर्वी युक्रेनको डोबान्समा रुसी समर्थित युक्रेनी पृथकतावादी बहुल क्षेत्र हो ।

फाल्गुन ६, २०८२

एजेन्सी

No breakthrough in Russia-Ukraine talks, main dispute over Donbas region

What you should know

जेनेभा — रुस–युक्रेनबीचको युद्ध अन्त्यका लागि अमेरिकाको मध्यस्थतामा स्विट्जरल्यान्डको जेनेभामा भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । दुवै पक्षबीच मंगलबार र बुधबार दुई चरणमा कुराकानी भए पनि कुनै निष्कर्ष निस्किएन ।मंगलबार लामो समय त्रिपक्षीय वार्ता चलेको थियो । तर, बुधबार भने दुई घण्टामात्रै छलफल भयो ।

यद्यपि अमेरिकी दूत स्टिभ विटकफले वार्ताले निकास दिने सम्भावना कायमै रहेको आशा व्यक्त गरे । तर, रुसको टोलीको नेतृत्व गरेका भ्लादिमिर मेडिन्स्कीले वार्ता कठिन बन्दै गएको बताए । युक्रेनका वार्ताकार रुस्तेम उमरोभले भने महत्त्वपूर्ण छलफल भएको र केही विषयमा प्रगति भएको बताए । तर, उनले विस्तृत विवरण भने खुलाएका छैनन् ।

बीबीसीसँगको कुराकानीमा युक्रेनी कूटनीतिक स्रोतले युद्धविराम र अन्तिम सीमा तय गर्ने विषयमा केही प्रगति भएको बताएको छ ।

रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले वार्ता चुनौतीपूर्ण भए पनि चाँडै अर्को वार्ता हुने विश्वास व्यक्त गरे । रुसी र युक्रेनी प्रतिनिधिमण्डलहरूबीच यसअघि गत जनवरीमा अबुधाबीमा अमेरिकी मध्यस्थतामा वार्ता भएको थियो । उक्त वार्तापछि दुई देशले युद्ध बन्दीहरूलाई आदानप्रदान गरेका थिए ।

डोन्बास क्षेत्रको मुद्दा पेचिलो

जेनेभामा जारी वार्तामा डोन्बास क्षेत्रको मुद्दामा भने कुनै प्रगति भएको छैन । पूर्वी युक्रेनको डोबान्समा रुसी समर्थित युक्रेनी पृथकतावादी बहुल क्षेत्र हो ।

रुसले सन् २०१४ देखि नै डोन्बास क्षेत्रमा सैन्य हस्तक्षेप गर्दै आएको छ । सन् २०२२ मा यही क्षेत्रलाई कारण देखाउँदै उसले युद्ध सुरु गरेको थियो । ७ मे २०१४ मा डोनेत्स्क सहरले आफू युक्रेनबाट अलग भएको दाबी गर्दै ‘जनगणतन्त्र डेनेत्स्क’ घोषणा गरेको थियो । त्यसको पाँच दिनपछि ‘जनगणतन्त्र लुहान्स्क’ घोषणा भयो । यी सबै काम रुसको इसारामा भएको आरोप लगाउँदै युक्रेन र बाँकी विश्वले यसलाई मान्यता दिएनन् । रुसी राष्ट्रपति पुटिनले सन् २०२२ मा जनगणतन्त्र डोनेत्स्क र जनगणतन्त्र लुहान्स्कलाई स्वतन्त्र देशको मान्यता दिँदै यसको रक्षार्थ रुसी सेना परिचालन गरिएको दाबी गरेका थिए । यस्तो दाबीसँगै रुस–युक्रेन युद्ध सुरु भयो ।

पूर्वी युक्रेनको डोनेत्स्कमा झन्डै ७५ प्रतिशत र लुहान्स्कमा झन्डै ७० प्रतिशत रुसी भाषी छन् । यी दुई क्षेत्रलाई डोन्बास भन्ने गरिन्छ । कोइला र खनिजको भण्डार, उर्वर कृषियोग्य भूमिका लागि यो क्षेत्र चिनिन्छ । गहुँ, धान, सूर्यमुखी फूल र मकै उत्पादनका लागि कहलिएको यही क्षेत्रले युद्ध सुरु हुनुपूर्व युक्रेनलाई विश्वकै ठूलो खाद्य निर्यातकर्तामध्ये एक बनाएको थियो । २० औं शताब्दीमा यस क्षेत्रमा ठूलो संख्यामा युक्रेनी उद्योगहरू थिए । विशेषगरी स्टिलको उत्पादनका लागि यो क्षेत्र चिनिएको थियो ।

युद्धकै दौरान यहाँ सन् २०२२ सेप्टेम्बरमा रुसले एकतर्फी रूपमा जनमतसंग्रह गराएको थियो । अन्तर्राष्ट्रिय वैधता नपाएको जनमतसंग्रहमा डोनेत्स्कका ९९ दशमलव २३ र लुहान्स्कका ९८ दशमलव ४२ प्रतिशतले रुसमा गाभिने फैसलाको पक्षमा मतदान गरेका थिए । यसबीच रुसले डोन्बास क्षेत्रको झन्डै ८० देखि ९० प्रतिशत भूभाग कब्जा गरिसकेको छ । बाँकी भूभागबाट युक्रेनी सेना हट्नुपर्ने माग वार्ताका दौरान रुसले राखेको छ ।

युक्रेनको संविधानले उसलाई आफ्नो सार्वभौम इलाका परित्याग गर्न दिँदैन । जनमतसंग्रहले मात्रै यस्तो निर्णय लिन सक्छ । तर, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले जनमतसंग्रहले आफ्नो देश टुक्र्याउने निर्णय लिनै नसक्ने बताएका छन् । मंगलबार अमेरिकी मिडिया एक्सिअससँगको अन्तर्वार्तामा पनि उनले यही कुरा दोहोर्‍याएका छन् ।

जेलेन्स्कीले भविष्यको रुसी आक्रमण रोक्नका लागि युरोपेली देश तथा अमेरिकाले बलियो सुरक्षा ग्यारेन्टीहरू प्रदान गर्नुपर्ने माग गरेका छन् । वार्तामा जापोरिझिया आणविक भट्टीको विषय पनि प्रमुख मुद्दा बनेको छ । युरोपको सबैभन्दा ठूलो ऊर्जा उत्पादन गर्ने यो आवणिक भट्टी मार्च २०२२ देखि रुसी नियन्त्रणमा छ । किभले यसलाई फिर्ता गर्नुपर्ने माग राखेको छ । तर मस्कोले भने त्यसलाई अस्वीकार गर्दै आएको छ । जेलेन्स्कीले अमेरिकासँग मिलेर यसको सुरक्षा गर्ने घोषणा गरिसकेका छन् । जसले रुसलाई थप झस्काएको छ ।

बेलारुसका राष्ट्रपतिमाथि युक्रेनको प्रतिबन्ध

युक्रेनले बेलारुसका राष्ट्रपति अलियासान्द्र लुकासेन्काविरुद्ध प्रतिबन्ध लगाएको छ । युक्रेनविरुद्धको आक्रमणमा रुसलाई बेलारुसको भूभाग प्रयोग गर्न दिएको भन्दै लुकासेन्काविरुद्ध प्रतिबन्ध लगाइएको हो । युक्रेनमा रहेको लुकासेन्कोको सम्पत्तिलाई १० वर्षका लागि रोक्का गर्ने, उनलाई युक्रेन प्रवेशमा रोक लगाउनेलगायत निर्णय युक्रेनले गरेको हो । बेलारुसी विपक्षी नेता स्भियत्लाना सिखानोस्कायाले लुकासेन्कामाथि प्रतिबन्ध लगाएकोमा जेलेन्स्कीलाई धन्यवाद दिएकी छन् । ‘लुकासेन्का वैध व्यक्ति होइनन् । उनले सत्ता कब्जा गरेका हुन्,’ सिखानोस्कायाले भनिन्, ‘यी प्रतिबन्धहरू त्यस्तो तानाशाहविरुद्ध लक्षित छन्, जसले हाम्रो देशलाई रुसी आक्रमणका लागि सैन्य मञ्चमा परिणत गरेका छन् ।’ लुकासेन्काले किभको निर्णयप्रति कुनै प्रतिक्रिया दिएका छैनन् ।

एजेन्सी

Link copied successfully