आणविक वार्ताका लागि इरानका विदेशमन्त्री जेनेभामा

अमेरिकासँगको वार्ताअघि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीसँग गहिरो प्राविधिक छलफल हुने अराग्चीले बताए । उनले त्यसमा इरानी आणविक विज्ञहरू पनि सामेल हुने बताए ।

फाल्गुन ४, २०८२

कान्तिपुर संवाददाता

Iran's foreign minister in Geneva for nuclear talks

What you should know

काठमाडौँ — अमेरिकासँगको दोस्रो चरणको आणविक वार्ताको लागि इरानी विदेशमन्त्री अब्बास अराग्ची जेनेभा आइपुगेका छन् ।

'म निष्पक्ष र समतामूलक सम्झौता हासिल गर्ने विचारसहित जेनेभामा छु,’ अराघचीले सोमबार एक्समा लेखे । मंगलबार दुई पक्षबीच वार्ता हुने तय छ ।

अमेरिकासँगको वार्ताअघि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीसँग गहिरो प्राविधिक छलफल हुने अराग्चीले बताए । उनले त्यसमा इरानी आणविक विज्ञहरू पनि सामेल हुने बताए ।

अराग्चीले आफ्ना ओमानी समकक्षी बद्र बिन हमद अल–बुसैदीलाई पनि भेट्ने बताए, यसअघि इरान र अमेरिका बीचको पहिलो चरणको वार्तामा मध्यस्थता गरेका थिए ।

यसअघि अमेरिकी अधिकारीहरूले ईरानका कारण वार्ता अघि बढ्न नसकेको बताएका थिए । शनिबार, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका थिए, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता गर्न चाहेका छन् ।  तर गराउन धेरै गाह्रो  भइरहेको छ ।’

तर तेहरानमा बीबीसीसँगको एक अन्तर्वार्तामा उपविदेशमन्त्री माजिदले ईरान सम्झौताको बाटोमा रहेको बताए । ‘ बल अमेरिकाको कोर्टमा छ । उनीहरू इमानदार छन् भने पक्कै सम्झौता हुनेछ ।’ 

ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्ने सम्झौता नभएमा इरानमाथि हमला गर्ने धम्की दिएका छन् । अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ ।

शुक्रबारमात्रै ट्रम्पले क्यारेबियन क्षेत्रमा रहेको विश्वकै ठूलो आर्माडा युएसएस जेराल्ड फोर्डलाई मध्यपूर्वतर्फ जान आदेश दिएका छन् । यसअघि नै अब्राहम लिंकन त्यहाँ उपस्थित छ । 

अमेरिका र इरानले फेब्रुअरीको सुरुमा ओमानमा अप्रत्यक्ष वार्ता गरेका थिए । मंगलबार दुई देशबीच जेनेभामा दोस्रो चरणको वार्ता हुने तख्त–रावन्चीले बताए । 

युरेनियम सम्वद्र्धनको मुद्दामा ट्रम्प र ईरानबीचको वार्ता अड्किएको छ । युरेनियमलाई सम्वद्र्धनलाई न्युनीकरण गरेर सन् २०१५ को सहमति अनुरुप ३.६७ प्रतिशतमा झार्न ईरान तयार छ । चिकित्सा र उर्जा प्रयोजनका लागि यो प्रतिशत पर्याप्त हुनछ, तर हतियार बनाउन पुग्दैन ।

अहिले ईरानको युरेनियम सम्वद्र्धन ६० प्रतिशत हाराहारीमा छ । ८० प्रतिशतमाथि पुगेपछि ईरानले हतियार बनाउनसक्ने विज्ञहरुले बताउँदै आएका छन् । अमेरिकाले न्युनीकरण नभएर पूर्णतः युरेनियम सम्वद्र्धन अन्त्य हुनुपर्ने माग गर्दै आएको छ । 

अर्को असहमतिको विषय ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमबारे पनि छ । अमेरिकाको सहयोगी देश ईजरायलले ईरानले ब्यालेस्टिक क्षेप्यास्त्र त्याग्नुपर्ने माग गरेको छ । तर, ईरानले आणविक वार्ता गर्न तयार भएपनि ब्यालेस्टिक क्षेप्यास्त्रका विषयमा कुनै छलफल नहुने बताउँदै आएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully