अमेरिकाको मध्यस्थतामा हमास र इजरायलबीच गत अक्टुबरमा २० बुँदे शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । जसअनुसार गाजामा अत्याधुनिक शहर बनाउने लक्ष्य छ ।
What you should know
काठमाडौँ — इन्डोनेशियाको सेनाले जुनको अन्त्यसम्म गाजामा मानवीय तथा शान्ति मिशनका लागि झन्डै ८ हजार सैनिक तयार हुने जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति ल्याउनका लागि गरेको प्रयासमा सेना पठाउने प्रतिवद्धता पहिलोपटक व्यक्त भएको हो ।
सरकारले सैनिक परिचालनबारे स्पष्ट पारिसकेको छैन । तर, इन्डोनेशियाली सेनाले प्रस्तावित संरचना र समयसीमा पनि तय गरिसकेको बिग्रेडियर जनरल डोन्नी प्रामोनोले जनाए ।
‘हामी जहाँसुकै तैनाथ हुन तयार छौं,’ प्रामोनोले एपीसँग भने,‘हाम्रो सेना पूर्ण तयार छ र सरकारले स्विकृति दिनासाथ छोटो समयमै कार्यस्थलमा खटिनेछ,’
अप्रिलमा १ हजार सेना र जुनसम्म बाँकी सबै सनालाई खटाउन सकिने पनि उनले बताए ।
अमेरिकाको मध्यस्थतामा हमास र इजरायलबीच गत अक्टुबरमा २० बुँदे शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । जसअनुसार गाजामा अत्याधुनिक शहर बनाउने लक्ष्य छ । हमासले हतियार त्याग्ने, ईजरायली फौजले गाजा छाड्ने र अन्तर्राष्ट्रिय शान्ति मिशन सुरक्षाका लागि तैनाथ हुने सम्झौतामा उल्लेख छ ।
इन्डोनेशियाको विदेश मन्त्रालयले गाजामा इन्डोनेशियाको भूमिका मानवीय गतिविधि र शान्ति स्थापनामा सिमित रहने बताएको छ । सर्वसाधारणको सुरक्षा, स्वास्थय सेवा, पुननिर्माणलगायत काममा यो सेना सक्रिय रहनेछ । सशस्त्र समुहसँग प्रत्यक्ष मुडभेड हुने कुनै पनि द्वन्द्वमा इन्डोनेशियाली सेना संलग्न नहुने विदेश मन्त्रालयले स्पष्ट पारेको छ ।
विश्वको सबैभन्दा ठूलो मुस्लिम जनसंख्या भएको देश इन्डोनेशियाले इजरायलसँग कुनै कुटनीतिक सम्बन्ध राखेको छ । यसले देशले दुई–राज्य समाधानको वकालत गर्दै आएको छ । गाजामा अस्पताल स्थापनादेखि राहतका सामाग्री पठाउनेसम्मका मानवीय गतिविधिमा इन्डोनेशिया सक्रिय छ ।
गाजामा ट्रम्पले बनाएको शान्ति बोर्डमा इन्डोनेशिया पनि सहभागी छ । प्यालेस्टिनीहरुको हितको रक्षाका लागि यो कदम आवश्यक रहेको इन्डोनेशियाली अधिकारीहरुले बताउँदै आएका छन् ।
