पुटिनलाई चुनौती दिने नाभाल्नी को थिए ? के उनीविरूद्ध विष प्रयोग गरिएको थियो ?

नाभाल्नीले भनेका थिए, ‘यदी उनीहरु मलाई मार्न चाहन्छन् भने हामी बलियो छौं । हामीले यो शक्तिलाई आत्मसमर्पण गर्न हुन्न । प्रयोग गर्नुपर्छ ।’

फाल्गुन ३, २०८२

कान्तिपुर संवाददाता

Who was Navalny, the man who challenged Putin? Was poison used against him?

What you should know

काठमाडौँ — रुसले विपक्षी नेता तथा भ्रस्टाचार विरोधी अभियन्ता एलेक्सी नभाल्नीलाई डार्ट भ्यागुतोको विष प्रयोग गरेर मारेको आरोप बेलायत र उसका युरोपेली सहयोगीहरुले लगाएका छन् ।

बेलायत, स्वीडेन, फ्रान्स, जर्मनी र नेदरल्याण्ड्सले संयुक्त विज्ञप्ति जारी गर्दै अनुसन्धानबाट डार्ट भ्यागुतोको विष प्रयोग भएको देखिएको बताए । 

रुसमै बसेर राष्ट्रपति भ्लादिमिटर पुटिनको विरोधमा अभियान चलाउनसक्ने थोरै साहसी व्यक्तिमध्ये नाभाल्नी एक मानिन्थें ।उनले भनेका थिए, ‘यदी उनीहरु मलाई मार्न चाहन्छन् भने हामी बलियो छौं । हामीले यो शक्तिलाई आत्मसमर्पण गर्न हुन्न । प्रयोग गर्नुपर्छ ।’

१६ फेब्रुअरी २०२४ मा साइबेरियास्थित आर्कटिक पेनल कोलोनीमा उनको रहस्यमय निधन भएको थियो । लडेर बेहोश भएपछि उपचारमा लैजाँदा उनको होश नखुलेको रूसी अधिकारीहरुले बताएका थिए ।

रुसमाथि सन् २०२० मा पनि नाभाल्नीको हत्या प्रयास गरेको आरोप थियो । स्वयंम् नाभाल्नीले नै रुसी राष्ट्रपति भ्लादिमिटर पुटिनमाथि यस्तो आरोप लगाएका थिए ।

त्यसबेला जर्मनीमा उपचार गर्दा उनको शरीरमा नोभिचोक नर्भ एजेन्ट भेटिएको थियो ।  उपचारपछि १७ जनवरी २०२१ मा स्वदेश फर्किका नाभाल्नीलाई मस्कोस्थित विमानस्थलबाटै रुसी अधिकारीहरुले पक्राउ गरेका थिए । त्यसपछि उनलाई अतिवादको मुदुदा दायर गरेर १९ वर्ष जेल सजाय तोकियो ।

बेलायत र उसका सहयोगी देशहरुले नाभाल्नीको शरीरमा भेटिएका सामग्रीका नमूनाहरूको विश्लेषणपछि मृत्युअघि उनीविरुद्ध डार्ट भ्यागुतोको विष प्रयोग भएको दाबी गरेका हुन् । नियोजित रूपमै रूसले यस्तो विष ल्याएर हत्या गरेको आरोप उनीहरुको छ ।

सेन्ट्रल तथा दक्षिण अमेरिकामा डार्ट भ्यागुतो पाइन्छ । यसले जंगलमा पाइने किरा, फट्यांग्रा र स–साना विषाक्त जीवाणु खान्छ । ती किटाणुमार्फत यसको शरीरमा बाट्राचोटोक्सिन र एपिबाटिडिनजस्ता  विषाक्त तत्व प्रवेश गर्छन् । युरोपेली अधिकारीहरुले नाभाल्नीलाई मार्न एपीबाटिडिन प्रयोग गरिएको निष्कर्ष निकालेका हुन् ।

एपिबाटिडाइनलाई पहिले नै पेनकिलर र फोक्सो सुन्निने पिडादायी अवस्थामा बिरामीलाई राहत दिनका लागि प्रयोग गर्ने लक्ष्यले अनुसन्धान गरिएको थियो ।  तर, धेरै विषाक्त भएकाले यसलाई चिकित्सकीय रूपमा प्रयोग गरिएन । बेलायतकी विष विज्ञान विशेषज्ञ जिल जोनसनले  यो विष मोर्फिनभन्दा झन्डै २ सय गुणा शक्तिशाली हुने बताइन् । 

म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै बेलायतकी विदेश मन्त्री यभेट कूपरले नभाल्नी जेलमा रहेका बेला विष प्रयोग गरिएको बताइन् । मस्कोले उक्त दाबी खारेज गरेको रुसी सरकारी सञ्चारमाध्यम तासले जनाएको छ । 

सम्मेलनकै दौरान कपुरले नाभाल्नीकी पत्नी युलिया नाभाल्नायालाई भेटेकी थिइन् । ‘रूसले नभाल्नीलाई खतराको रूपमा हेर्यो,’ कपुरले कार्यक्रममा भनिन् । 

उनले नाभाल्नीको शरीरमा भेटिएको विष कुनै दुर्घटना नभएर नियोजित षड्यन्त्र रहेको बताइन् । केन्द्रीय स्नायु प्रणालीमा रिसेप्टरहरूमा प्रभावित गरेर यसले पक्षघात, मुटुको धड्कन ढिलो गराउने, स्वासप्रश्वासमा अफ्टेरो बनाउने र अन्ततः मृत्यु निम्त्याउनसक्ने जोनसोनले बताइन् । 

‘ यो अत्यन्तै दुर्लभ न्यूरोटोक्सिन डार्ट जंगली भ्यागुता प्रजातिमा मात्र थोरै मात्रामा पाइन्छ, र त्यो पनि भ्यागुताले विशेष आहार खाँदा मात्र यस विष उसको शरीरमा जान्छ,’ जिलले भनिन् । 

‘रूसमा डार्ट भ्यागुतोर एपिबेटिडाइन प्राकृतिक रूपमा पाइँदैन । नभाल्नीको शरीरमा यसको उपस्थितिको कुनै निर्दोष व्याख्या छैन । नियतवस् नै रुसले यस्तो घृणित हर्कत गरेको हो,’ कपुरले थपिन् । 

बेलायतका प्रधानमन्त्री सर केयर स्टार्मरले नाभाल्नी एक साहसी व्यक्ति रहेको बताए । ‘सत्यलाई उजागर गर्ने उनको दृढ संकल्पले एउटा ठूलो विरासत छोडेको छ,’ उनले भने ।

फ्रान्सेली विदेशमन्त्री जीन–नोएल ब्यारोटले पनि आफ्नो देशले नभाल्नीलाई श्रद्धांजली अर्पण गरेको बताए । लोकतान्त्रिक रुसको पक्षमा लड्दा उनलाई सत्ताले मारेको नोएलले बताए । 

नाभाल्नीकी पत्नी युलिया नाभाल्नायाले पतिलाई विष दिइएको आरोप लगाउँदै आएकी छिन् । ‘म पहिलो दिनदेखि नै निश्चित थिएँ कि मेरो श्रीमानलाई विष दिइएको थियो, तर अब प्रमाणित भएको छ,’ उनले भनिन्, ‘दुई वर्षमा सावधानीपूर्वक काम गरेर सत्य उजागर गरेकोमा म युरोपेली देशप्रति राज्यहरूप्रति आभारी छ,’ उनले थपिन् ।

को थिए नाभाल्नी ?

रुसको ब्युटिन शहरमा सन् १९७४ मा नाभाल्नीको जन्म भएको थियो । सन् २०११ मा रुसमा एन्टी–करप्सन फाउन्डेशन  (एसीएफ) स्थापना गरेसँगै नाभाल्नी चर्चामा आएका थिए । उनले रुसका सरकारी अधिकारी र उनीहरुका सहयोगीहरुको भ्रस्टाचारको विवरण सामाजिक सञ्जालमार्फत उजागर गर्ने गरेका थिए । 

त्यस्तै,भ्रस्टाचारको विरोधमा रुसमा विभिन्न प्रदर्शन तथा अभियानहरु सञ्चालन गरे । सन् २०११ को अन्तर्वार्तामा उनले रुसको सत्तारुढ युनाइटेड रसिया पार्टी अपराधी र चोरहरुको पार्टी रहेको आरोप लगाएका थिए । उनको यो अभिव्यक्ती निकै चर्चित भएको थियो । 

उनीमाथि रुस सरकारले सन् २०१३ र ०१४ मा भ्रस्टाचारको आरोपमा मुद्दा चलाएको थियो । यी दुबै आरोपलाई राजनीतिक प्रतिशोधमा रुपमा लिइएको थियो । सन् २०१३ मा मस्कोको मेयरका लागि उनले प्रतिस्पर्धा गरेका थिए । जहाँ, उनी २७ दशमलव २ प्रतिशत मतसहित दोस्रो भए । सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनलाई उम्मेदवार हुनबाट बन्देज लगाइएको थियो । 

सन् २०२० अगस्टमा साइबेरियाबाट जर्मनी जाँदै गर्दा उनी बिरामी भएका थिए । उनलाई तत्कालै उद्धार गरेर जर्मनी लगिएको थियो । बर्लिनस्थित च्यारिटी अस्पतालमा झन्डै १८ दिन उनलाई कोमामा राखेर उपचार गरिएको थियो । त्यसक्रममा उनको शरीरमा नोभिचोक नर्भ एजेन्ट भेटिएको थियो ।

नाभाल्नीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो हत्यामा संलग्न रहेको आरोप लगाएका थिए । निर्वासनमै बस्न जर्मनीले गरेको आग्रह अस्विकार गर्दै उनी उपचारपछि जनवरी २०२१ मा स्वदेश फर्किएका थिए । त्यसक्रममा मस्कोस्थित विमानस्थलबाटै उनलाई पक्राउ गरियो ।

उनीमाथि अतिवादको मुद्दा चलाइएको थियो । उनको गिरफ्तारीपछि रुसभर सामुमिहक प्रदर्शन भएको थियो । 

एम्नेस्टी इन्टरनेशनलले मेइ २०२१ मा उनलाई राजनीतिक बन्दीको मान्यता दिएको थियो । नाभाल्नीमाथ रुसी अदालतले १९ वर्षको जेल सजाय तोकेको थियो ।

उनी डिसेम्बर २०२३ मा साइबेरियास्थित आर्कटिक पेनल कोलोनीमा देखिएका थिए । यस विकट क्षेत्रमा रुसले जेल सजाय पाएका, युद्धबन्दीलगायत अपराधीहरुलाई राख्ने गर्छ ।  यहाँ १६ फेब्रुअरी २०२४ मा उनको रहस्यमय निधन भयो ।  

रुसले गर्यो‍ खण्डन 

रुसको विदेश मन्त्रालयले युरोपेली देशहरुले लगाएको आरोप खण्डन गरेको छ । ‘जब परीक्षणको नतिजा उपलब्ध हुनेछ र प्रयोग गरिएको फर्मुला सार्वजनिक हुनेछ । त्यसपछि हामी प्रतिक्रिया दिनेछौं,’ रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले भनिन् ।

पश्चिमा देशमा सरकामाथि उठेका प्रश्नहरुबाट मानिसको ध्यान मोड्नका लागि यस्तो प्रोपोगान्डा फैलाइएको आरोप उनले लगाइन् । लण्डनस्थित रुसी दूतावासले विज्ञप्ति जारी गर्दै यसलाई एक सर्कसको हर्कत र प्रोपोगान्डा भनेको छ ।

उनले पश्चिमा समाजाम रुस–विरोधी भावना सिर्जना गर्नका लागि यस्तो बनावटी प्रतिवेदन तयार गरिएको बताए । ‘एउटा भ्यागुतोबारेको यस्तो तर्कलाई कसले पत्याउँछ ? तर, पश्चिमा राजनीतिज्ञहरुले मृतकको मजाक गर्नेगरी यस्ता विषय ल्याउँछन् ।

रुसी नागरिकलाई मरिसकेपछि पनि लण्डन र युरोपेली राजधानीहरुले शान्तिसँग बस्न दिदैंनन्,’ विज्ञप्तिमा भनिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully