नाभाल्नीलाई डार्ट भ्यागुतोको विष प्रयोग गरेर मारिएको बेलायतको आरोप 

एपिबाटिडिन निकोटिनजस्तै विषाक्त तत्व हो । वैज्ञानिकहरूका अनुसार यो मोर्फिनभन्दा झन्डै १ सय गुणा शक्तिशाली हुन्छ ।

फाल्गुन ३, २०८२

कान्तिपुर संवाददाता

UK alleges Navalny was killed using dart frog poison

काठमाडौँ — रुसले विपक्षी नेता तथा भ्रस्टाचार विरोधी अभियन्ता एलेक्सी नभाल्नीलाई डार्ट भ्यागुतोको विष प्रयोग गरेर मारेको आरोप बेलायत र उसका युरोपेली सहयोगीहरुले लगाएका छन् ।

रुसले विपक्षी नेता तथा भ्रस्टाचार विरोधी अभियन्ता एलेक्सी नभाल्नीलाई डार्ट भ्यागुतोको विष प्रयोग गरेर मारेको आरोप बेलायत र उसका युरोपेली सहयोगीहरुले लगाएका छन् ।

बेलायत, स्वीडेन, फ्रान्स, जर्मनी र नेदरल्याण्ड्सले पनि संयुक्त विज्ञप्ति जारी गर्दै अनुसन्धानका क्रममा डार्ट भ्यागुतोको विष प्रयोग भएको देखिएको बताए । 

नाभाल्नीको १६ फेब्रुअरी २०२४ मा साइबेरियास्थित जेलमा निधन भएको थियो । लडेर बेहोश भएपछि उपचारमा लैजाँदा उनको होश नखुलेको रूसी अधिकारीहरुले बताएका थिए । 

नाभाल्नी सन् २०२० मा साइबेरियाबाट मस्को जाने क्रममा बिरामी भएर कोमामा गएका थिए । जर्मनीमा उनको उपचार भयो । त्यसक्रममा उनलाई नोभिचोक नर्भ एजेन्ट विष दिइएको खुलासा भएको थियो ।

उपचारपछि पश्चिमा सरकारहरुले रुस नफर्कन गरेको आग्रह अस्विकार गर्दै उनले फेरि रूस फर्किए  । तर, १७ जनवरी २०२१ मा मस्कोस्थित विमानस्थलबाटै रुसी अधिकारीहरुले पक्राउ गरेका थिए । त्यसपछि उनलाई अतिवादको मुदुदा दायर गरे र १९ वर्ष जेल सजाय तोकियो । उनलाई साइबेरियास्थित आर्कटिक पेनल कोलोनीमा राखिएको थियो । जहाँ, उनको रहस्यमय निधन भयो । 

बेलायत र उसका सहयोगी देशहरुले नाभाल्नीको शरीरमा भेटिएका सामग्रीका नमूनाहरूको विश्लेषणपछि डार्ट भ्यागुतोको विष प्रयोग भएको दाबी गरेका हुन् ।

सेन्ट्रल तथा दक्षिण अमेरिकामा डार्ट भ्यागुतो पाइन्छ । यसले जंगलमा पाइने किरा र स–साना विषाक्त जीवाणु खान्छ । ती किटाणुमार्फत यसको शरीरमा बाट्राचोटोक्सिन र एपिबाटिडिनजस्ता  विषाक्त तत्व प्रवेश गर्छन् ।

युरोपेली अधिकारीहरुले नाभाल्नीलाई मार्न एपीबाटिडिन प्रयोग गरिएको निष्कर्ष निकालेका हुन् । एपिबाटिडाइनलाई पहिले नै पेनकिलर र फोक्सो सुन्निने पिडादायी अवस्थामा बिरामीलाई राहत दिनका लागि प्रयोग गर्ने लक्ष्यले अनुसन्धान गरिएको थियो ।  तर, धेरै विषाक्त भएकाले यसलाई चिकित्सकीय रूपमा प्रयोग गरिएन । बेलायतकी विष विज्ञान विशेषज्ञ जिल जोनसनले  यो विष मोर्फिनभन्दा झन्डै २ सय गुणा शक्तिशाली हुने बताइन् । 

म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै बेलायतकी विदेश मन्त्री यभेट कूपरले नभाल्नी जेलमा रहेका बेला विष प्रयोग गरिएको बताइन् । मस्कोले उक्त दाबी खारेज गरेको रुसी सरकारी सञ्चारमाध्यम तासले जनाएको छ । 

सम्मेलनकै दौरान कपुरले नाभाल्नीकी पत्नी युलिया नवल्नायालाई भेटेकी थिइन् । ‘रूसले नभाल्नीलाई खतराको रूपमा हेर्यो,’ कपुरले कार्यक्रममा भनिन् । 

उनले नाभाल्नीको शरीरमा भेटिएको विष कुनै दुर्घटना नभएर नियोजित षड्‍यन्त्र रहेको बताइन् । केन्द्रीय स्नायु प्रणालीमा रिसेप्टरहरूमा प्रभावित गरेर यसले पक्षघात, मुटुको धड्कन ढिलो गराउने, स्वासप्रश्वासमा अफ्टेरो बनाउने र अन्ततः मृत्यु निम्त्याउनसक्ने जोनसोनले बताइन् । 

‘ यो अत्यन्तै दुर्लभ न्यूरोटोक्सिन डार्ट जंगली भ्यागुता प्रजातिमा मात्र थोरै मात्रामा पाइन्छ, र त्यो पनि भ्यागुताले विशेष आहार खाँदा मात्र यस विष उसको शरीरमा जान्छ,’ जिलले भनिन् । 

‘रूसमा डार्ट भ्यागुतोर एपिबेटिडाइन प्राकृतिक रूपमा पाइँदैन । नभाल्नीको शरीरमा यसको उपस्थितिको कुनै निर्दोष व्याख्या छैन । नियतवस् नै रुसले यस्तो घृणित हर्कत गरेको हो,’ कपुरले थपिन् । 

बेलायतका प्रधानमन्त्री सर केयर स्टार्मरले नाभाल्नी एक साहसी व्यक्ति रहेको बताए । ‘सत्यलाई उजागर गर्ने उनको दृढ संकल्पले एउटा ठूलो विरासत छोडेको छ,’ उनले भने ।

फ्रान्सेली विदेशमन्त्री जीन–नोएल ब्यारोटले पनि आफ्नो देशले नभाल्नीलाई श्रद्धांजली अर्पण गरेको बताए । लोकतान्त्रिक रुसको पक्षमा लड्दा उनलाई सत्ताले मारेको नोएलले बताए । 

नाभाल्नीकी पत्नी युलिया नाभाल्नी आफ्ना पतिलाई विष दिइएका आरोप लगाउँदै आएकी छिन् । ‘म पहिलो दिनदेखि नै निश्चित थिएँ कि मेरो श्रीमानलाई विष दिइएको थियो, तर अब प्रमाणित भएको छ,’ उनले भनिन्, ‘दुई वर्षमा सावधानीपूर्वक काम गरेर सत्य उजागर गरेकोमा म युरोपेली देशप्रति राज्यहरूप्रति आभारी छ,’ उनले थपिन् ।

कान्तिपुर

Link copied successfully