‘यो कुनै डरलाग्दो चलचित्रको दृश्य जस्तै थियो,’ एक व्यक्तिले भने । गत अक्टोबरमा विश्वविद्यालय भवनमा आश्रय लिइरहेका बेला उनले १,००० मानिसहरूमाथि आरएसएफ लडाकुहरूले गोली चलाएको देखे ।
What you should know
काठमाडौँ — सुडानको अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले गत वर्ष अल–फशेर शहर कब्जा गर्दा तीन दिनमै ६,००० भन्दा बढी मानिसहरू मारिएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले देखाएको छ ।
संयुक्त राष्ट्रसंघले पीडित र प्रत्यक्षदर्शीहरुसँग अन्तक्र्रिया तथा विभिन्न तथ्यांकहरुमा विश्लेषण गरेर प्रतिवेदन तयार गरेको हो ।
‘यो कुनै डरलाग्दो चलचित्रको दृश्य जस्तै थियो,’ एक व्यक्तिले भने । गत अक्टोबरमा विश्वविद्यालय भवनमा आश्रय लिइरहेका बेला उनले १,००० मानिसहरूमाथि आरएसएफ लडाकुहरूले गोली चलाएको देखे । उनका अनुसार त्यसरी अन्धाधुन्ध गोली चल्दा शवहरू हावामा फ्याँकिएका थिए ।
प्रतिवेदनले आत्महत्या, मृत्युदण्ड, यातना, अपहरण र सर्वसाधारणविरुद्ध यौन हिंसा भएको जनाएको छ । ‘यी युद्ध अपराध र मानवता विरुद्धको सम्भावित अपराधहरू हुन्,’ प्रतिवेदनमा भनिएको छ ।
आरएसएफले प्रतिवेदनबारे कुनै टिप्पणी गरेको छैन । तर यस्ता आरोपहरु यसअघि अस्विकार गर्दै आइरहेको छ ।
सुडानमा सरकारी सेना र आरएसएफ अर्धसैनिक बलहरूबीच लगभग तीन वर्षदेखि शक्ति संघर्षमा चलेको छ यस गृहयुद्धले लाखौं मानिसहरूको ज्यान लिएको छ ।
१ करोड ३० लाखभन्दा बढी मानिसहरू थातथलो छाडेर आफ्नो घरबाट बिस्थापित गर्न बाध्य पारेको छ । पुरुष, महिला र बालबालिकाविरुद्ध व्यापक हिंसा भएको छ ।
आरएसएफ र सुडानी सशस्त्र बल दुवैमाथि मानवअधिकार उल्लंघन गरेको आरोप छ । आरएसएफ र यसका सहयोगीहरूले पश्चिमी डार्फर क्षेत्रमा गैर अरब समुदायविरुद्ध नरसंहार गरेको अमेरिका र ह्युमन राइट्स वाचको प्रतिवेदनले जनाएका छन् ।
गृहयुद्धका दौरान विगत १८ महिना अल फाशेर शहरमा आरएसफले धेरैपटक आक्रमण ग¥यो । सरकारी सेना र आरएसएफबीचको लडाँइको चपेटामा परेका जनताको मानवअधिकार दुबै पक्षले हनन गरे । गत अक्टुबरदेखि यो क्षेत्र आरएसएफको नियन्त्रणमा छ । तर, अझै पनि लुटपाट र हत्या जारी छ । विशेषगरी गैर–अरबहरुलाई निशाना बनाइएको छ ।
संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले प्रतिवेदन तयार गर्ने क्रममा सन् २०२५ को अन्त्यतिर सुडानको उत्तरी राज्य र पूर्वी चाडमा १४० भन्दा बढी पीडित र साक्षीहरूसँग बयान लिएको थियो ।
अल–फशेरमा अक्टुबरमा आक्रमणको सुरुवाती केही दिनहरूमा शहरभित्र कम्तिमा ४,४०० मानिसहरू मारिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, भाग्ने क्रममा शहरबाट बाहिर निस्कने नाकाहरुमा १६ सयभन्दा बढी मानिस मारिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार प्रमुख भोल्कर टर्कले सुडानका सबै पक्षहरूलाई मानवअधिकार हनन बन्द गर्न अपिल गरेका छन् ।
संयुक्त अरब इमिरेट्स (युएई) माथि आरएसएफ लडाकुहरुलाई हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ । तर, यस आरोपलाई युएईले खण्डन गर्दै आएको छ ।
गत हप्ता, बेलायतले सरकारी सेना र आरएसएफका वरिष्ठ कमाण्डरहरूसहित ६ जनालाई भ्रमण प्रतिबन्ध लगाएको थियो । उनीहरुमाथि युद्धलाई बढावा दिएको आरोप छ ।
सन् २०११ मा गृहयुद्धकै कारण सुडानबाट टुक्रिएर दक्षिण सुडान नामक नयाँ राज्य बनेको थियो । अहिले सुडानको पूर्वी क्षेत्र सरकारी सेना र पश्चिमी क्षेत्रको ठूलो हिस्सा आरएसएफ लडाकुको कब्जामा छ ।
सुडान फाउन्डिङ एलायन्सले पश्चिमी क्षेत्रमा समानान्तर सरकार स्थापना गर्ने घोषणा गरेको छ । यो गठबन्धन आरएसएफ निकट मानिन्छ । यस्तो योजनाले एकताको संभावनालाई जोखिममा पार्ने भन्दै अफ्रिका युनियनले निन्दा गरेको छ ।
