बंगलादेशमा स्वतन्त्रता र अधिकार पुनर्स्थापित भयो : बीएनपी अध्यक्ष तरिक 

'लोकतान्त्रिक राज्य र राजनीतिक प्रणालीमा राजनीतिक दलहरू लोकतन्त्रका सच्चा किरण हुन् । यदि सरकार र विपक्षी दुवैले आफ्नो-अपनो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्छन् भने देशमा लोकतन्त्र निश्चित रूपले संस्थागत रूप लिनेछ,' तरिकले भने ।

फाल्गुन २, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) अध्यक्ष तारिक रहमानले निर्वाचनपछि बंगलादेशमा स्वतन्त्रता र अधिकार पुनर्स्थापित भएको बताएका छन् ।

'यो विजय ती जनताको हो जसले लोकतन्त्रका लागि बलिदान गरे," तारिकले ढाकाको एक होटेलमा आयोजित प्रेस सम्मेलनमा चुनावपछिको सम्बोधनमा भने ।

संसदीय निर्वाचनमा प्रत्यक्षतर्फका ३ सयमध्ये २ सय ९७ क्षेत्रको नतिजा सार्वजनिक हुँदा उनको पार्टीले दुई-तिहाई सिट ल्याएको छ । बीएनपीले २ सय ९ सिटमा विजय हासिल गरेको हो । प्रमुख प्रतिपक्षी जमात्-ई-ईस्लामीले ६८ सिटमात्रै ल्याएको छ । 

'हाम्रो आफ्नै बाटो हुनसक्छ । मतभेद हुन सक्छन् तर देशको हितका लागि हामी एकजुट रहनुपर्छ । राष्ट्रिय एकता हाम्रो सामूहिक शक्ति हो भने विभाजन हाम्रो कमजोरी हो,'  उनले थपे ।

'आजदेखि हामी सबै स्वतन्त्र छौं, स्वतन्त्रता र अधिकारको सच्चा सार पुनर्स्थापित भएको छ,' उनले भने ।

विगतको अवामी लिगको तानाशाही शासनले छाडेर गएको कमजोर अर्थव्यवस्था, कमजोर संविधान र संस्थाहरूहरूलाई सुदृढ गर्नुपर्ने चुनौती रहेको उनले बताए । 

'तपाईंहरूको स्वतःस्फूर्त सहभागिताले डेढ दशकभन्दा बढी समयपछि प्रत्यक्ष मतदानमार्फत जनताप्रति उत्तरदायी संसद् र सरकार पुनर्स्थापित भएको छ,' उनले भने, 'देशमा कुनै दुष्ट शक्तिले फेरि एकतन्त्रिय शासन पुनर्स्थापित गर्न नसकोस् र राष्ट्रलाई अधीन नपरोस् भन्ने सुनिश्चित गर्न हामी एकजुट रहनुपर्छ । जनताको इच्छालाई कायम राख्नुपर्छ ।' 

तारिकले निर्वाचनमा कुल ५१ राजनीतिक दलहरू सहभागी भएको बताए । उनले आगामी यात्रामा साथ दिन सबै दलहरूलाई आग्रह गरे ।

'लोकतान्त्रिक राज्य र राजनीतिक प्रणालीमा राजनीतिक दलहरू लोकतन्त्रका सच्चा किरण हुन् । यदि सरकार र विपक्षी दुवैले आफ्नो-अपनो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्छन् भने देशमा लोकतन्त्र निश्चित रूपले संस्थागत रूप लिनेछ,' उनले भने ।

विदेश सम्बन्धमा बंगलादेशको हित पहिलो 

भारतसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा तरिकले बंगलादेशको हितलाई प्राथमिकतामा राखेर विदेश नीति अघि बढाइने बताए । ‘हामीले विदेश नीति स्पष्ट गरेका छौं, जसमा बंगलादेश र यसका जनताको हित पहिलो आउँछ । बंगलादेश र जनताको हित संरक्षण गर्दै विदेश नीति निर्धारण गर्नेछौं,’ उनले भने ।

निर्वाचनअघि कट्टर ईस्लामिक पार्टी जमात्को उदयलाई लिएर भारत शशंकित थियो । भारतका प्रधानमन्त्री मोदीले बीएनपीले निर्वाचन जितेलगत्तै तरिकलाई बधाई सन्देश पठाए । उनले समावेशी र प्रजातान्त्रिक बंगलादेशको पक्षमा भारत उभिने बताएका थिए ।

भारत बंगलादेशको सबैभन्दा ठूलो छिमेकी र ठूला व्यापार साझेदारमध्ये एक हो । अवामी लिग सत्तामा छँदा भारत–बंगलादेश सम्बन्ध निकै राम्रो थियो । ५ अगस्ट विद्यार्थी आन्दोलनले अपदस्थ गरेपछि प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले भागेर भारतमै शरण लिइन् ।

हसिनालाई सुपुर्दगी गर्न मोहम्मद युनुस नेतृत्वको सरकारले गरेको आग्रह भने भारतले स्विकारेन । बंगलादेशमा विद्यार्थी आन्दोलनमा गरेको दमनमा दोषी ठहर भएकी हसिनालाई मृत्युदण्ड सजाय घोषणा भइसकेको छ । भारतले उनको सुरक्षा सुनिश्चित नभएसम्म सुपुर्दगी गर्न नसकिने बताउँदै आएको छ । यस निर्वाचनमा हसिनाको पार्टी अवामी लिग प्रतिबन्धमा थियो । 

हसिनाले बीएनपीको विजय बंगलादेशको इतिहासकै लज्जास्पद अध्याय भएको आरोप लगाएकी छिन् । ‘१२ फेब्रुअरीमा देशले पूर्व नियोजित चुनाव देख्यो । यो एउटा गद्दारी र प्रहसन थियो । बंगलादेशको प्रजातान्त्रिक इतिहासमा लज्जास्पद अध्यायका रुपमा दर्ज हुनेछ,’ उनले भनिन्, ‘यो जनताको इच्छाको चुनाव थिएन । यो त संख्यालाई तोडमोड गर्ने औद्योगिक परिमाणको प्रशासनिक अभ्यास थियो ।’

उनले यस चुनावमा ठूलो अनियमितता भएको आरोप लगाइन् । ‘गम्भीर अनियमितता देखिएको छ । मतदान सञ्चालन र मत प्रतिशत सार्वजनिक गर्ने क्रममा निर्वाचन आयोगले गम्भिर अनियमितता गरेको पाइएको छ । धेरै मत अस्थिर र अव्यवहारिक देखिन्छन् ,’ उनले भनेकी छिन् । 

कान्तिपुर संवाददाता

Link copied successfully