कुनै समय बंगलादेशमा तरिकलाई आजीवन काराबासको सजाय सुनाइएको थियो । आज उनी प्रधानमन्त्री बन्ने संघारमा छन् ।
What you should know
काठमाडौँ — बंगलादेश नेशनल पार्टी (बीएनपी) ले दुई-तिहाई मत ल्याएसँगै तरिक रहमान अब प्रधानमन्त्री बन्ने भएका छन् । लण्डनमा १७ वर्ष निर्वासनमा बसेका उनी दुई महिनाअघि मात्रै आफ्नी पत्नी र छोरीसहित ढाका फर्किएका थिए ।
उनले यस निर्वाचनमा ढाका-१७ र बगौरा-६ मा उम्मेदवारी दिएका थिए । दुबै ठाउँबाट विजयी भए ।
गत डिसेम्बरमा ढाका आउनासाथ उनले पहिलो भाषणमै देश बनाउनका लागि फर्किएको दाबी गरेका थिए । 'मार्टिन लुथर किङले भनेका थिए, ‘मसँग सपना छ । म उनीजसरी नै भन्न चाहन्छु : बंगलादेशका लागि मसँग योजना छ,’ राजधानी ढाकामा २५ डिसेम्बरमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै उनले भनेका थिए,'हामी सबैले मिलेर यो देश बनाउनुपर्ने छ । पहाडदेखि समथर भूभागसम्म, हिन्दू- बौद्धदेखि मुस्लिमसम्म, यो देश सबैको हो र सबैले मिलेर यो देश बनाउनेछौं ।'
अन्नत: बिहीबार ५९ दशमलव ४४ प्रतिशतले मत खसेको निर्वाचनले उनलाई यो जिम्मेवारीका लागि मार्गप्रशस्त गरेको छ ।
तरिकलाई बंगलादेशमा 'राजकुमार' पनि भनिन्छ । किनकी उनका बाबु र आमा दुबैले पार्टी र देश हाँकिसकेका छन् । उनको जन्म २० नोभेम्बर १९६५ मा ढाकामा भएको थियो । उनका बाबु जिउर रहमान बंगलादेश स्वतन्त्रता संग्रामका नेता लोकप्रिय नेता थिए ।
२५ मार्च १९७१ मा पाकिस्तानले बंगलादेशको स्वतन्त्रता आन्दोलन दबाउने नियतले 'अपरेशन सर्चलाइट' सुरू गरेको थियो । यसक्रममा ठूलो संख्यामा स्वतन्त्रता संग्रामका योद्धाहरूलाई घर-घरबाट समातेर लगिएको थियो । कतिपयलाई गोली ठोकेर मारियो ।
यसको जवाफमा, भोलिपल्ट पूर्वी पाकिस्तान रेडियो स्टेशनका एक प्राविधिक र मोहम्मद अब्दुल हनानले रेडियोमार्फत बंगलादेश स्वतन्त्र भएको घोषणा गरेका थिए । २७ मार्चमा शेख मुजिबर रहमानका तर्फबाट जिउरले यस घोषणालाई स्वाधीन बंगला बेतार केन्द्र रेडियोमार्फत आधिकारीक पुष्टि गरे । त्यहीकारण उनलाई स्वतन्त्रताका संवाहक पनि भन्ने गरिन्छ ।
शेख मुजिबर रहमानको हत्यापछि सन् १९७५ मा बंगलादेश गम्भीर राजनीतिक अस्थिरतामा फस्यो । राष्ट्पति खोन्डकर मोस्ताक अहमदमाथि मुजिबका हत्याराहरूलाई उन्मुक्ति दिएको अभियोग लाग्यो । उनले हत्यामा संलग्न भएको अभियोग लागेकाहरूलाई माफी दिने आदेशमा हस्तक्षर गरेका थिए । यस निर्णले मोस्ताक अलोकप्रिय बनेपछि तत्कालीन सेनापति ब्रिगेडियर खालेद मोशार्रफले ३ नोभेम्बर १९७५ मा सैन्य 'कु' मार्फत उनलाई अपदस्थ गरेर सत्ता कब्जा गरे । अवामी लिगका समर्थकहरुले मोशार्फको यस कदमलाई समर्थन गरेका थिए ।
तर, देशका बामपन्थी र मोस्ताक समर्थक यस कदमसँग सहमत थिएनन् । मोस्ताकसँग नजिकको सम्बन्ध रहेका जर्नेल जिउर रहमानलाई नजरबन्दमा राखिएको थियो । यसपछि जिउर निकट कर्नेल अबु ताहेरले सेनाभित्रै विद्रोह गरे । मोशार्रफविरूद्ध ७ नोभेम्बर १९७५ मा भएको यस विद्रोहलाई 'सिपाही–जनता क्रान्ति' नाम दिइएको थियो । यस विद्रोहमा सामान्य जनताको समेत समर्थन थियो । उनीहरूले मोशार्रफलगायत उच्च अधिकारीहरूलाई हटाउँदै सत्ता कब्जा गरे । उनीहरूले जिउरलाई नजरबन्दबाट मुक्त गरे । कालान्तारमा सेनामा आफ्नो शक्ति बढाउँदै जिउर राष्ट्रपति बने ।
मोस्ताकले जारी गरेको मुजिबका हत्यारालाई माफी दिने आदेश आफ्नो राष्ट्रपति कार्यकालमा फिर्ता नलिएको आरोप जिउरमाथि लाग्छ । त्यस्तै, उनी सरकारमा छँदा मुजिबको हत्यामा संलग्नतालाई विदेशनबाट नरोकेको आरोप पनि लाग्छ । यसले उनको छविलाई विशेषगरी अवामी लिगका कार्यकर्तामाझ विवादित बनायो ।
यस परिस्थितिले अवामी लिगको विकल्पका रूपमा १९७८ मा नयाँ दल बीएनपी जन्मियो । अर्को वर्ष उनी यही पार्टीबाट राष्ट्रपति निर्वाचित भए । अवामी लिग भारतसँग अति नजिक थियो । जिउरले राष्ट्रवादको मुद्दा उठाउने र भारतसँगको सम्बन्धलाई दूरीमा राख्ने नीति लिएका थिए ।
शितयुद्ध चरममा रहेका बेला यो पार्टीले अमेरिका र पाकिस्तानी शैलीको उदार अर्थव्यवस्था पछ्यायो । सन् १९८१ मा जिउरको हत्या भयो । त्यसपछि बीएनपीकै अब्दुर सत्तर राष्ट्रपति चुनिए ।
मार्च १९८२ मा सत्तरको जननिर्वाचित सरकारलाई अपदस्थ गरेर हुसेन मोहम्मद इर्सादले बंगलादेशमा सत्ता कब्जा गरे । उनले संविधान निलम्बन गरेर सैनिक शासन लागु गरे । बीएनपीका धेरै प्रभावशाली नेता पक्राउ परे ।
यसका विरोधमा जिउर पत्नी बेगम खालिदा जियाले १९८३ देखि सात पार्टीसँग गठबन्धन गरेर आन्दोलन गरिन् । १९८६ मा इर्शादले गराएको निर्वाचन पनि बीएनपीले बहिस्कार गर्यो । यस निर्वाचनमा शेख हसिना नेतृत्वको अवामी लिग सहभागी थियो । तर निर्वाचन देखावटी मात्रै थियो, यो पार्टीले राम्रो मत ल्याउन सकेन । त्यसपछि खालिदा जिया र हसिनाले आफ-आफ्नै ढंगले सैनिक शासनको विरोध गरे । तर यी दुई लोकप्रिय महिलाले प्रदर्शन भने कहिल्यै गरेनन् ।
यही अस्थिर अविधमा तरिकले आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए । उनी १९८८ मा बगौरास्थित गाब्तालीमा पार्टीको प्रारम्भिक कमिटीको सदस्य थिए ।
बंगलादेशमा सैनिक शासन अन्त्यपछि १९९१ मा भएको आम निर्वाचन बीएनपीले पार्टीले बहुमत ल्याएको थियो । तरिक यस निर्वाचनमा निकै खटिएका थिए । तरिककी आमा खालिदा जिया यसपछि प्रधानमन्त्री चुनिइन् । १९९६ सम्म उनले नै सरकार हाँकिन् । `१९९६ मा जिया खालिदा बगौराबाटै उठेकी थिइन् । तर, उनले चुनाव जितेपनि पार्टी दोस्रो भयो । पहिलो पार्टी अवामी लिगकी अध्यक्ष शेख हसिनाले बाँकी ५ वर्ष गठबन्धन सरकार चलाइन् ।
फेरि, सन् २००१ को निर्वाचनपछि बीएनपी पहिलो पार्टी भयो र जमात्-ई- इस्लामीसहितको समर्थनमा उनले ५ वर्ष सरकार सञ्चालन गरिन् ।
सन् २००४ मा शेख हसिनालाई लक्षित गरेर ढाकास्थित अवामी लिगको एक र्यालीमा ग्रिनेड प्रहार भयो । २४ व्यक्तिको निधन तथा ३ सय घाइते भए । हसिना आफैं यस घटनामा घाइते भएकी थिइन् । तर, यस घटनाको निष्पक्ष छानविन गर्न नसकेको आरोप अवामी लिगले बीएनपी सरकारमाथि लगायो ।
२००७ मा फखरुद्दिन अहमद नेतृत्वको गैरदलीय अन्तरिम सरकारले यस घटनाबारे फेरि छानविन थाल्यो । उग्रवादी ईस्लामिक संगठन हर्कातुल जिदाका नेता अब्दुल हानन र बीएपनपीका नेता तथा तत्कालीन राज्य मन्त्री अब्दुस सलेन पिन्टुको नाम यस घटनामा जोडियो । सुरुमा तरिक रहमानको नाम यसमा मुछिएको थिएन ।
७ मार्च २००७ मा उनलाई भ्रस्टाचार र सम्पत्ति शुद्धिकरणको अभियोगमा पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा ग्रिनेड आक्रमणको योजना बनाएको अभियोग थपियो ।
सेप्टेम्बर २००८ मा अदालतले उनलाई उपचारका लागि लण्डन जान धरौटीमा रिहा गरिदियो । त्यसपछि उतै बसे । त्यसबेलाका अन्तरिम सरकारका प्रतिनिधिहरुले भविष्यमा राजनीति नगर्ने लिखित प्रतिबद्धता जनाएपछि उनलाई स्वदेश जाने अनुमति दिइएको बताएका थिए । जसलाई तरिकले खण्डन गरेका छन् ।
डिसेम्बर २००८ मा सम्पन्न निर्वाचमबाट आवामी दुई-तिहाई मतसहित सत्तामा आयो । विपक्षीमाथिको दमन थप बढ्यो । हसिना सरकारले सन् २०११ मा रहमानलाई यस आक्रमणको मुख्य अभियुक्त ठहर गरेर मुद्दा अघि बढायो । यस कदमलाई धेरैले राजनीतिक प्रतिशोध ठान्ने गरेका छन् । तरिकले आफ्नो संलग्नता अस्विकार गर्दै आएका छन् ।
अवामी लिगले २०१४, २०१८ र २०२४ को निर्वाचनमा पनि दुई तिहाई मत ल्यायो । यसक्रममा ठूलो संख्यामा बिएनपीका नेता-कार्यकर्ता पक्राउ परे । तरिकको अनुपस्थितीमा २०१८ मा ढाकास्थित अन्तर्राष्ट्रिय ट्राइबुनल अदालतले उनीलाई ग्रिनेड हमलाको मुख्य योजनाकार ठहर गर्यो । उनलाई आजीवन जेल सजाय दिइयो । तर उनी लण्डनमा भएकाले पक्राउ परेनन् ।
पछिल्लोपटक ७ जनवरी २०२४ मा प्रत्यक्ष निर्वाचन भएका ३ सय सिटमध्ये २ सय २४ सिटमा हसिनाको अवामी लिग विजयी भएको थियो । तर विद्यार्थी आन्दोलन चर्किएपछि ५ अगस्ट, २०२४ मा हसिना देश छाडेर भारत निर्वासित भइन् । त्यसयता बंगलादेशमा धेरै उतार-चढाव भए । मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाइयो ।
२०२४ मा बंगलादेशको उच्च अदालत र यसै वर्ष ४ सेप्टेम्बरमा सर्वोच्च अदालतले तरिकलाई ग्रिनेड आक्रमण घटनामा सफाई दियो ।
उता, हसिनाको पार्टी अवामी लिगको दर्ता खारेज भयो । उनलाई विद्यार्थी आन्दोलनमा दमन गरेको अभियोगमा मृत्युदण्ड सुनाइयो , यद्पयी भारत निर्वासनमा रहेकाले हसिना मृत्युदण्डबाट बचेकी छिन् । उक्त आन्दोलमा १४ सय हाराहारीमा मानिसहरू मारिएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयको अनुमान छ ।
यता बंगलादेश फर्किएको छोटो समयमै तरिक प्रधानमन्त्री बन्ने तय भएको छ । दीर्घरोगले थलिएकी आमा खालिदा जियाको ८० वर्षको उमेरमा ३० डिसेम्बरमा निधन भएपछि तरिक बीएनपीको अध्यक्ष चयन भएका थिए । निर्वाचनमा उनलाई भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरिएको थियो ।
मध्यमार्गी–दक्षिण विचारधाराको बीएनपीले बंगलादेशको सांस्कृतिक राष्ट्रवाद र आर्थिक उदारीकरणलाई केन्द्रमा राख्दै आएको थियो ।
व्यक्तिगत रूपमा उदार प्रजातन्त्रका पक्षपाती तरिकले सबैलाई समेटेर नयाँ बंगलादेश निर्माण गर्ने बताएका छन् । उनको विजयले अल्पसंख्यक र महिलाप्रति असहिष्णु नीति बोको कट्टर ईस्लामिक पार्टी (जमात्-ई-इस्लामी) को उदय रोकेको छ । हिन्दू,बौद्ध र क्रिस्चियन अल्पसंख्यकलाई राज्यका निकायमा उचित प्रतिनिधित्व गराइने तरिकले बताउँदै आएका छन् ।
बंगलादेशको अर्थतन्त्रलाई लयमा फर्काउनुपर्ने, रोजगारी सिर्जना, आफ्नो मुख्य व्यापार साझेदारमध्येको एक भारतसँगको सम्बन्ध सुधारलगायत चुनौती तरिकसामु छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तरिकलाई बधाई दिएका छन् । उनले समावेशी र प्रजातान्त्रिक बंगलादेशलाई आफ्नो समर्थन रहने बताएका छन् ।
बिहीबार संसदीय निर्वाचनसँगै जुलाई बडापत्र २०२५ बारे पनि जनमतसंग्रह भएको छ । यसमा प्रधानमन्त्रीको कार्यकाल सीमा, भ्रस्टाचार नियन्त्रण, न्यायिक सुधारलगायत विषय समावेश छन् ।
जनमतसंग्रहको निर्णय अझै सार्वजनिक हुन बाँकी छ । बडापत्र कार्यान्वयनका पक्षमा फैसला आएमा आगामी संसद्ले बाध्यकारी रूपमा यसमा समावेश सुधार योजना अघि बढाउनुपर्नेछ ।
