बीएनपीका नेता रहमान विगत १७ वर्षदेखि लन्डनमा स्वनिर्वासनमा थिए ।
काठमाडौँ — तारिक रहमान नेतृत्वको बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले हालै सम्पन्न आमनिर्वाचनमा दुई तिहाइ मत हात पारेको छ । बंगलादेशको निर्वाचन आयोगले शुक्रबार जारी गरेको गरेको पछिल्लो अनौपचारिक नतिजाअनुसार बीएनपीले मत गणना भएका २९७ सिटमध्ये २०९ सिट जिते छ ।
बीएनपीको निकटतम प्रतिस्पर्धी दल जमात-ए-इस्लामीले भने ६८ सिटमा जित हासिल गरेको छ । यद्यपि, इस्लामीको सिट संख्या बारे भने पुष्टि भइसकेको छैन । बंगलदेशको कुल संसद संख्या ३५० छ ।
बीएनपीका नेता रहमान विगत १७ वर्षदेखि लन्डनमा स्वनिर्वासनमा थिए । उनी आम निर्वाचनकै लागि बंगलादेश आएका थिए । अन्तरराष्टिय मिडियाहरूले उनको दलको बिजयीलाई रहमानको भाग्यसँग पनि जोडर चर्चा गरिरहेका छन् ।
आम निर्वाचनसँगै भएको जनमत संग्रहमा पिन मतदाताहरूले 'व्यापक संवैधानिक सुधार'को पक्षमा मतदान गरेका छन् । २०२४ मा विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनले तत्कालिन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि यहाँ पहिलोपटक निर्वाचन भएको हो । उक्त प्रदर्शनमा सरकार पक्षबाट १४०० जनाको मृत्यु भएको थियो ।
यहाँ हसिना नेतृत्वको अवामी लिगलाई भने चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो ।
