युनुसका तर्फबाट सचिवालयले विज्ञप्ति जारी गर्दै निर्वाचन नतिजा घोषणा भएपछि लोकतान्त्रिक मर्यादा कायम राख्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।
What you should know
काठमाडौँ — बंगलादेशमा विद्यार्थीको विद्रोहपछि पहिलो पटक बिहीबार संसदीय निर्वाचन तथा जनमतसंग्रह भएको छ । स्वतन्त्र, निष्पक्ष र उत्सवमय रूपमा निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले निष्पक्ष निर्वाचनसँगै नयाँ बंगलादेशको अभूतपूर्व यात्रा सुरु भएको बताएका छन् । निर्वाचनले फेरि जनता नै सबै शक्तिको स्रोत भएको प्रमाणित गरेको उनको भनाइ छ । ‘हामी सबै मिलेर उत्तरदायी, समावेशी र न्यायपूर्ण राज्य निर्माणतर्फ अघि बढ्ने छौं,’ उनले भनेका छन् ।
युनुसका तर्फबाट सचिवालयले विज्ञप्ति जारी गर्दै निर्वाचन नतिजा घोषणा भएपछि लोकतान्त्रिक मर्यादा कायम राख्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ । ‘अन्तिम नतिजा घोषणा भएपछि पनि राजनीतिक दल र उम्मेदवारहरूलाई लोकतान्त्रिक मर्यादा, सहनशीलता र पारस्परिक सम्मान कायम राख्न अपिल गर्छु । मतभेद हुन सक्छ, तर राष्ट्रिय हितका लागि हामी एकजुट रहनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रमुख सल्लाहकार युनुसले यो चुनाव देशको इतिहासकै सबैभन्दा शान्तिपूर्ण र उत्सवमय रहेको दाबी गरेका छन् । ‘यसको निरन्तरता कायम रह्यो भने हाम्रो लोकतन्त्र उत्कृष्टताको शिखरमा पुग्नेछ । यस यात्रामा लोकतन्त्र बलियो बनाउन सँगै काम गरौं,’ उनले भनेका छन् । बंगलादेशमा डिसेम्बर २००८ पछि पहिलो पटक गैरदलीय सरकारले निर्वाचन गराएको हो । निर्वाचनमा ६० राजनीतिक दलले भाग लिएका छन् । देशभरका ४२ हजार ७ सय ७९ मतदान केन्द्रमा मतदाताले बिहान ७ः३० देखि मतदान गरेका थिए ।
बीएनपी र जमातबीच प्रतिस्पर्धा
जातीय संसद्को कुल ३ सय ५० सिटमध्ये प्रत्यक्षतर्फ ३ सय सिटका लागि निर्वाचन घोषणा भएकामा बिहीबार २ सय ९९ क्षेत्रमा मतदान भयो । उम्मेदवारको निधनका कारण शेरपुर–३ मा निर्वाचन स्थगित भयो । यस निर्वाचनमा बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) र जमात ई इस्लामी नै मुख्य प्रतिस्पर्धी देखिएका छन् । ढाका ट्रिबुन डटकमलाई प्राप्त राति ११ः३० बजेसम्मको मतगणना रिपोर्टअनुसार ७४ सिटमा बीएनपी अघि देखिएको छ । त्यस्तै जमात २३ सिटमा अघि छ । नेसनल सिटिजन पार्टी (एनसीपी) ले २ सिटमा अग्रता लिएको छ । एनसीपी विद्यार्थी आन्दोलनबाट जन्मिएको पार्टी हो, जुन जमातकै गठबन्धनमा रहेको छ ।
बीएनपीका अध्यक्ष तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका तरिक रहमान ढाका–१७ र बगौरा–६ बाट विजयी भएको ढाका ट्रिबुनले जनाएको छ । यस्तै, बीएनपीकै एमडी असादुज्जमान जेनाइदाह–१ बाट विजयी भएको द डेली स्टारले उल्लेख गरेको छ ।
बीएनपीले आफ्ना मतगणना प्रतिनिधिलाई अन्तिम परिणाम घोषणा नहुँदासम्म मतगणनास्थलमा बस्न निर्देशन दिएको छ । ढाकास्थित पार्टीको निर्वाचन कार्यालयमा बीएनपीको निर्वाचन परिचालन कमिटीका प्रवक्ता मेहदी अमिनले विपक्षी पार्टीको अराजनीतिक गतिविधिका कारण आफ्ना केही मतदाता मतदानस्थलसम्म आउन नपाएको बताए । ‘बीएनपी र उसका प्रतिस्पर्धी राजनीतिक पार्टीबीच ठूलो र स्पष्ट फरक छ । त्यही कारण मतदान केन्द्रमा आउन नदिनका लागि घृणात्मक प्रयास गरियो । धम्क्याइयो र निरुत्साहित गरियो । यस्ता घृणित हर्कत नभएको भए आज मतदान गर्नेहरूको संख्या ठूलो हुने थियो,’ उनले भने ।
प्रजातन्त्रलाई माया गर्नेहरूलाई जागा बस्न र मतको सुरक्षा गर्न उनले आग्रह गरे । ‘हामीले केही स्थानमा पहिल्यै मतपत्र राखिएका बाकस फेला पार्यौं । कतै झूटो मतदान भयो । केही ठाउँमा मानिसले मत खसाल्न पाएनन् । यसले पुरानो फासिवादी सत्ताको झल्को दिएको छ । जहाँ एक व्यक्तिले अर्कैका तर्फबाट मत खसाल्छ,’ उनले भने, ‘यी सबै घटनाका बाबजुद बीएनपीको विजय स्पष्ट र सुनिश्चित छ । हामीलाई पूरा विश्वास छ, कुनै खराब प्रयासले यसलाई कमजोर पार्ने छैन ।’ जमात ई इस्लामी नेतृत्वको ११ पार्टी सम्मिलित गठबन्धनले निकै उत्साहित वातावरणमा मतदान भएको जनाएको छ । भारी मतले विजयी हुने दाबी यस गठबन्धनले पनि गरेको छ । ढाकास्थित जमात ई इस्लामीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जमातका उपमहासचिव असनुल महबुब जुबैरले निर्वाचनमा उत्साहपूर्ण जनसहभागिता रहेको बताए । ‘विगतका सबै निर्वाचनको दाँजोमा अहिलेको वातावरण शान्त, सहभागितामूलक र उत्साहप्रद रह्यो,’ उनले भने, ‘हामी जतिसक्दो चाँडो नतिजा सार्वजनिक होस् भन्ने चाहन्छौं । यो प्रक्रियालाई निगरानी गर्नेछौं ।’
विद्यार्थी विद्रोहको परीक्षण
मतदाताले बिहीबार नेतृत्व मात्रै चयन गरेनन्, शासन प्रणालीमा सुधार गर्ने लक्ष्यसहित ल्याइएको ‘जुलाई बडापत्र २०२५’ लाई स्वीकार वा अस्वीकार गर्ने ऐतिहासिक फैसला पनि दिएका छन् । बडापत्रमा संविधान, न्यायपालिका, निर्वाचन प्रणाली, प्रहरी, सार्वजनिक प्रशासन र भ्रष्टाचार नियन्त्रण, महिलाको राजनीतिक प्रतिनिधित्व वृद्धि, प्रधानमन्त्रीको निश्चित कार्यकालको सीमा, राष्ट्रपतिको शक्ति वृद्धि, मौलिक अधिकारलगायत विषय छन् । विद्यार्थीले जुलाई २०२४ को आन्दोलनमा यी माग अघि सारेका थिए ।
जनमतसंग्रहको मतपत्रमा मतदातालाई ‘जुलाई राष्ट्रिय बडापत्र र त्यसमा समेटिएका संवैधानिक सुधारसम्बन्धी प्रस्तावलाई समर्थन गर्नुहुन्छ ?’ भनेर सोधिएको थियो । जनतासँग ‘हो’ वा ‘होइन’ भनेर मत खसाल्ने विकल्प थियो । ‘हो’ भन्नेहरूको संख्या धेरै देखिए ‘जुलाई बडापत्र’ अनुमोदन हुनेछ र बाध्यकारी रूपमा आगामी संसद्ले यसलाई अघि बढाउनुपर्नेछ । त्यस्तो परिस्थितिमा नवनिर्वाचित संसद्ले ६ महिनासम्म संविधान संशोधन गर्नेछ । ‘होइन’ भन्ने पक्षमा बहुमत आए बडापत्रमा उल्लिखित विषय अघि बढाउनुपर्ने बाध्यता सरकारलाई पर्ने छैन ।
सन् २००८ पछि पहिलो ‘स्वतन्त्र निर्वाचन’
बंगलादेशमा सन् २००८ पछि पहिलो पटक गैरदलीय सरकारले निर्वाचन गराएको हो । तत्कालीन समय सेना समर्थित अन्तरिम सरकारले चुनाव गराएको थियो । उक्त सरकारको नेतृत्व अर्थशास्त्री फकरुद्दिन अहमदले गरेका थिए । यसलाई बंगलादेशमा संसदीय प्रजातन्त्र पुनःस्थापना भएको वर्ष १९९१ यताकै स्वतन्त्र निर्वाचन मानिएको थियो ।
१९९६ देखि २००१ सम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई त्यस निर्वाचनले दोस्रो कार्यकाल प्रधानमन्त्री बन्ने मार्गप्रशस्त गर्यो । हसिना सरकारले बंगलादेशमा सन् २०१४, २०१८ र २०२४ गरी तीन पटक निर्वाचन गरायो । तीनै पटक अबामी लिगले दुई तिहाइभन्दा धेरै सिट जितेको थियो । तर, निष्पक्षतामा प्रश्न उठाउँदै बीएनपीले यी सबै निर्वाचन बहिष्कार गरेको थियो ।
त्यस्तै, जमात ई इस्लामीमाथि सन् २०१३ देखि नै प्रतिबन्ध थियो । हसिनाको १५ वर्षभन्दा लामो शासनकालमा सरकारी जागिरमा कोटा प्रणाली निर्धारण गरेर आफ्ना कार्यकर्ता पोस्ने काम भएको, भ्रष्टाचार/नातावाद मौलाएको, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिएको भन्दै विद्यार्थीले जुन २०२४ मा आन्दोनल सुरु गरेका थिए । आन्दोलनमाथि जुलाईमा सरकारले दमन गरेको थियो । त्यस क्रममा झन्डै १ हजार ४ सय जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयको अनुमान छ ।
आन्दोलनको उभार बढेपछि ५ अगस्टमा शेख हसिना सत्ता छाडेर भारत निर्वासित भएकी थिइन् । त्यसयता, अन्तरिम सरकारको नेतृत्व लिएका प्रोफेसर मोहम्मद युनुसले शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराएका हुन् । निर्वाचन आयोगले हसिनाको पार्टी अबामी लिगको दर्ता खारेज गरिदिएको थियो । (एजेन्सीको सहयोगमा)
