बंगलादेशमा आज संसदीय निर्वाचन र जनमत संग्रह

संसद्‌का ३५० मध्ये ३०० स्थानमा प्रत्यक्ष मतदान, महिलाका लागि आरक्षित ५० सिट भने समानुपातिक रुपमा वितरण, शासन प्रणाली सुधार गर्न ल्याइएको ‘जुलाई बडापत्र २०२५’ मा जनमतसंग्रह

माघ २९, २०८२

एजेन्सी

What you should know

ढाका — बंगलादेशमा विद्यार्थी आन्दोलनपछि पहिलो पटक बिहीबार एकसाथ जनमत संग्रह र संसदीय निर्वाचन हुँदै छ । शासन प्रणालीमा सुधार गर्ने लक्ष्यले ल्याइएको ‘जुलाई बडापत्र २०२५’ लाई स्वीकार गर्ने वा नगर्ने फैसला मतदाताले जनमत संग्रहमार्फत गर्नेछन् ।

त्यसैगरी, ६० राजनीतिक दलको सहभागितामा संसदीय निर्वाचन पनि हुँदै छ । संसद्का कुल ३ सय ५० सिटमध्ये ३ सय स्थानमा प्रत्यक्ष मतदान हुनेछ । ५० सिट महिलाका लागि आरक्षित छ । पार्टीले पाएको मतभारका आधारमा उक्त सिटमा उम्मेदवार पठाइनेछ । बंगलादेशको निर्वाचन आयोगका अनुसार १२ करोड ७० लाख जनाले मतदाता सूचीमा नाम लेखाएका छन् । उनीहरूले देशभरका ४२ हजार ७ सय ७९ वटा मतदान केन्द्रबाट भोट खसाल्नेछन् । 

बंगलादेशको स्थानीय समयअनुसार बिहान ७ः३० देखि साँझ ४ः३० सम्म मतदान केन्द्र खुला हुनेछन् । विदेशमा रहेकाहरूले पहिलो पटक मतदान अधिकार पाएका छन् । उनीहरूले ‘डिजिटल पोस्टल भोटिङ’ प्रणालीमार्फत आफ्नो मत दिनेछन् । १ सय २२ देशमा रहेका ७ लाख ६१ हजार १ सय ४२ बंगलादेशी नागरिकले मतपत्र लिएको निर्वाचन आयोगले जनाएको छ ।

बीएनपी र जमातबीच मुख्य प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनबाट सन् २०२४ अगस्टमा अपदस्थ भएकी तत्कालीन प्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगमाथि बंगलादेशमा प्रतिबन्ध छ । ढाकास्थित अन्तर्राष्ट्रिय ट्राइबुनल अदालतले हसिनालाई दमनको कसुरमा दोषी ठहर गर्दै मृत्युदण्ड सजाय सुनाएको छ । भारत निर्वासनमा रहेकाले हसिना यो सजायबाट बचेकी छन् । 

अवामी लिग प्रतिबन्धमा पर्दाको प्रत्यक्ष फाइदा बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) र जमात–ए–इस्लामीबीच हुने देखिन्छ । १९७८ मा स्थापना भएको बीएनपी यसअघि पटक–पटक सत्तामा गइसकेको छ । तर पार्टी र सत्ताको नेतृत्व पूर्वराष्ट्रपति जिउर रहमानकै परिवारको हातमा छ । सन् १९४१ मा बेलायती उपनिवेशकालमा सैयद अबुद अला मौदुदीले सुरु गरेको जमात–ए–इस्लामी राजनीतिक दलका रूपमा १९७९ देखि बंगलादेशमा सक्रिय छ । 

१७ वर्षसम्म लन्डनमा रहेका तारिक रहमान विद्यार्थी आन्दोलनपछि स्वदेश फर्किएका थिए । अहिले बीएनपीको अध्यक्ष रहेका ६० वर्षीय रहमानलाई पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । जमातको नेतृत्व ६७ वर्षीया साफिकर रहमानले गरिरहेका छन् । बीएनपीको मुख्य प्रतिस्पर्धी यही दल हो । कट्टर इस्लामिक मान्यताहरूको वकालत गर्ने यस दलले कुनै पनि निर्वाचन क्षेत्रमा महिला उम्मेदवार उठाएको छैन ।

आफूसँग विचार नमिल्ने शक्तिहरूलाई पनि समेटेर रहमानले यस चुनावमा बृहत् गठबन्धन बनाएका छन्, जसमा विद्यार्थी आन्दोलनताका अग्रमोर्चामा रहेका विद्यार्थीहरूले खोलेको नेसनल सिटिजन पार्टी (एनसीपी) एक हो । इस्लाम आन्दोलन बंगलादेश (आईएबी) र जनता पार्टी (इर्साद) सँग पनि केही क्षेत्रमा बलियो जनाधार रहेको आकलन गरिएको छ । 

२०२४ को विद्रोहको मर्मअनुसार तयार गरिएको ‘जुलाई बडापत्र २०२५’ स्विकार्ने वा नस्विकार्ने भनेर मतदाताले निर्णय गर्नेछन् । जुलाई बडापत्रमा विद्यमान बंगलादेशको संविधानमा गरिएका ८० भन्दा बढी सुधार प्रस्ताव समावेश छन् । बडापत्रको मस्यौदा अन्तरिम सरकारको राष्ट्रिय सहमति आयोगले तय गरेको हो । यसलाई जनमत संग्रहमा लैजाने सहमति गत वर्ष अक्टोबरमा २४ वटा राजनीतिक दलहरूले गरेका थिए । 

यसमा संविधान, न्यायपालिका, निर्वाचन प्रणाली, प्रहरी, सार्वजनिक प्रशासन र भ्रष्टाचार नियन्त्रण, महिलाको राजनीतिक प्रतिनिधित्व वृद्धि, प्रधानमन्त्रीको निश्चित कार्यकालको सीमा, राष्ट्रपतिको शक्ति वृद्धि, मौलिक अधिकारलगायत विषय छन् । जनमत संग्रहको मतपत्रमा मतदातालाई ‘जुलाई राष्ट्रिय चार्टर र त्यसमा समेटिएका संवैधानिक सुधारसम्बन्धी प्रस्तावहरूलाई समर्थन गर्नुहुन्छ ?’ भनेर सोधिएको छ । जनताले ‘हो’ वा ‘होइन’ भनेर मत खसाल्नुपर्नेछ ।

 ‘हो’ भन्नेहरूको संख्या धेरै देखिएमा जुलाई बडापत्र जनमत संग्रहबाट अनुमोदन हुनेछ र बाध्यकारी रूपमा आगामी सरकारले यसलाई अघि बढाउनुपर्नेछ । त्यस्तो परिस्थितिमा नवनिर्वाचित संसद्ले ६ महिनासम्म संविधान संशोधनको काम गर्नेछ । ‘होइन’ भन्ने पक्षमा बहुमत आए यस योजनालाई अघि बढाउनुपर्ने बाध्यता सरकारलाई पर्ने छैन । 

१९९१ पछि बंगलादेशमा तीन दशकभन्दा लामो समय राजनीतिमा महिलाहरू हाबी भए । अवामी लिगकी शेख हसिना र बंगलादेश नेसनल पार्टी (बीएनपी) की खालिदा जिया प्रभावशाली नेता मानिन्थे । हसिना २०२४ देखि भारतमा निर्वासित छिन् र ८० वर्षको उमेरमा जियाको गत डिसेम्बरमा निधन भयो । यसपटक कुनै पनि प्रमुख दलमा महिलाको नेतृत्व छैन । 

जुलाई चार्टरले कम्तीमा ५ प्रतिशत प्रत्यक्ष सिटमा महिलालाई उठाउनुपर्ने प्रस्ताव गरेको थियो । यसमा हस्ताक्षर गरेका दलहरूले पनि यो लक्ष्य पूरा गरेनन् । बीएनपीका कुल उम्मेदवारमध्ये ३.५ प्रतिशतमात्रै महिला छन् । कट्टर इस्लामिक दल जमातले कुनै पनि महिलालाई उठाएको छैन । 

महिलाले पारिवारिक जिम्मेवारी सम्हाल्नुपर्ने भएकाले राजनीति गर्न नसक्ने दाबी जमातका प्रमुख साफिकर रहमानले गरे । यस अभिव्यक्तिले पार्टी विवादमा छ । पार्टीविरुद्ध ११ महिला संगठनले महिलाको अपमान गरेको आरोपमा उजुरी दर्ता गरेका छन् । लोकतान्त्रिक क्रान्तिकारी पार्टीकी मोसेरेरा मिसुले जमातलाई निरन्तरको महिलाविरोधी, पितृसत्तात्मक र अपमानजनक वक्तव्यबाजी रोक्न र सार्वजनिक माफी माग्न चेतावनी दिएकी छिन् ।

एजेन्सी

Link copied successfully